जेलमा पनि पाँचतारे होटलको सुविधा !



एजेन्सी : जेल भन्नेबित्तिकै मानिसको दिमागमा अँध्यारो, फोहोर र सडेगलेका खानेकुरा भएको, फलामको डन्डीले बारेको सानो कोठाको दृश्य आउँछ । विश्वमा यस्ता जेल पनि छन् जहाँ पाँचतारे होटलमा पाइने सेवा र सुविधा पाइन्छन् भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ । 

अस्ट्रियामा एउटा यस्तो जेल छ जहाँ आरामदायी कोठा, फिटनेस सेन्टर, स्पा, भिडियो गेम खेल्नेलगायतको सुविधा उपलब्ध छ । यस जेलमा कैदीले निजी कोठा पाउँछन् । यो जेलको नाम ‘जस्टिस सेन्टर लियोबेन’ हो । 

जेलमा पाँचतारे होटलमा हुने हरेक सेवा सुविधा उपलब्ध छन् । यस जेलमा २ सय पाँचजना कैदी राखिएको छ । तर उपलब्ध सुविधाका कारा उनीहरुलाई थाहा नै हुँदैन कि उनीहरु जेलमा छन् कि पाँच तारे होटलमा ।

यस जेलमा सबै इन्डोर गेम खेल्ने सुविधा छ । प्रत्येक कैदीलाई टिभी, फ्रिज, ल्यापटप र फोनसमेत प्रयोग गर्न छुट दिइएको छ । आर्किटेक्ट जोसेफ होहेन्सिन्नले यस जेललाई डिजाइन गरेका हुन् । यो जेल अस्ट्रियाको पहाडी क्षेत्र लियोबनमा छ । यो जेल सन् २००५ मा सञ्चालनमा आएको हो ।

यस जेलमा कैदीलाई १३ जनासम्मको समूह बनाएर बस्न छुट दिइएको छ । जेलको हरेक सेक्सनको बाहिर घुम्नलाई खुला ठाउँ पनि छ । यस जेलका कैदी ताजा हावा लिँदै साँझपख आरामले हिँडडुल गर्न सक्छन् ।

 

जेलसँगै अदालतसम्बन्धी काम हुने भएकाले यो जेल आम जनताका लागि पनि खुला गरिएको छ । जेल परिसरमा शिलालेख राखिएको छ, जसमा ‘सबै मानिस स्वतन्त्र जन्मिएका हुन्छन् र स्वतन्त्रता सबैको अधिकार र गरिमा हो’ भनी लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्