साफका कारण चर्चामा विराटनगर 



विराटनगर : फुटबलको लामै इतिहास बोेकेको प्रदेश १ को अस्थायी राजधानी विराटनगर पछिल्लो समय पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका कारण चर्चामा रहेको छ। फुटबलसँगको सम्बन्ध र साइनोमा जोडिएको यो सहरले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम भएको सन्देश दिइसकेको छ। विराटनगरले वि.स २०१८ सालदेखि महेन्द्र गोल्डकपका नामबाट फुटबलका ठूला प्रतियोगिता आयोजना गर्न थालेको थियो।

परिवर्तित राजनीतिक र सामाजिक सन्दर्भसँगै २०६७ सालदेखि यसको नाम परिवर्तन गरेर २०६८, ०६९, ०७१, ०७२ र ०७४ सालमा भने विराट गोल्डकपका नाममा प्रतियोगिता सञ्चालन गरियो। गोल्डकप अघि पनि यहाँ फुटबलका साना प्रतियोगिता हुँदै आएका थिए। जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलले विराटनगरललाई फुटबलमय बनाउँदै चर्चामा ल्याएको छ।

पहिलो पटक नेपालले आयोजना गर्ने अवसर पाएको यस अन्तर्राष्ट्रिय प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले सम्पन्न गर्ने जिम्मेवारी विराटनगरलाई सुम्पियो। सहिद रंगशालामा फागुन २८ बाट जारी प्रतियोगितामा सहभागी छ देश मध्ये भुटान र माल्दिभ्स बाहिरिँदा ६ खेल सम्पन्न भइसकेको छ। प्रतियोगिता सम्पन्न हुन अब तीन खेल बाँकी छन्।

आयोजक राष्ट्र नेपाल, श्रीलंका, भारत र बंगलादेश सेमिफाइनलमा पुगेका छन्। चैत ८ गते हुने अन्तिम खेलले यस प्रतियोगिताको विजेताको टुंगो लगाउने छ। फुटबल क्षेत्रका विज्ञहरूले पनि नेपाली फुटबलको इतिहासमा धेरै योगदान पुर्याएको र छुट्टै एवं विशेष महत्व राख्ने मोफसलले पहिलो पटक पाएको अवसरलाई सदुयोग गरिरहेको बताएका छन्। उनीहरूले नेपाली फुटबल इतिहासमा विराटनगरसँगै सिंगो प्रदेशकै योगदान महत्वपूर्ण रहेको र साफले खेलकुद क्षेत्रमा विराटनगरको उचाई थप बढाएको बताए।

एन्फाका पूर्व उपाध्यक्ष एवं पूर्व वरिष्ठ फुटबल प्रशिक्षक सन्तोश वानियाले नेपालकै इतिहासमा पहिलो पटक फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको जिम्मा मोसफललाई दिइने निर्णय गरिनुलाई ऐतिहासिक र जायज भएको भन्दै ठूलो एड्भान्टेजका रुपमा लिइएको बताए। ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता काठमाडौं केन्द्रीत थिए,’ उनले भने, ‘यस्ता प्रतियोगिता मोफसललाई पनि दिनुपर्छ भनेर हामीले ४० वर्षदेखि लडाई लडिरहेका थियौं।’ वानियाले पहिलो पटक मोफसललाई आयोजना गर्न दिइएको साफलाई लामो समयदेखिको संघर्षकै प्रतिफलका रुपमा लिइएको बताए।

‘विराटनगर, मोरङ र सिंगो प्रदेश एवं मोफसलकै लागि यो एउटा सुखद् र खुसीको कुरा हो,’ उनले भने, ‘यसलाई मुलुक संघीय संरचनामा गइसकेपछि संघीयताबाट प्राप्त भएको एउटा महत्वपूर्ण अवसर र ठूलो उपलब्धीका रुपमा पनि लिइएको छ।’ संरचना र पूर्वाधारदेखि लिएर सबै हिसाबले पनि फुटबलका सबै खाले प्रतियोगिता आयोजना गर्न कमजोर नरहेको उदाहरण विराटनगरले पेश गरिसकेको उनको तर्क छ। प्रतियोगिता सम्पन्न गर्ने जिम्मेवारी लिनुमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रदेश १ सरकारको ठूलो देन रहेको वानियाले बताए।

साफका लागि भौतिक पूर्वाधार लगायतका संरचना तयार गर्न विराटनगर महानगरपालिकाले १ करोड र प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गरेका छन्। महानगर र प्रदेश सरकारको संयुक्त पहल एवं लगानीमा रंगशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालन गर्न फ्लड लाइट जडानको प्रक्रिया पनि अघि बढाएको छ। ‘विराटनगरलाई मात्रै नभएर सिंगो प्रदेशलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाउन पनि साफ च्याम्पियनसिपबाट ठूलो मद्धत पुगेको छ,’ वानियाले भने, ‘विराटनगरको चर्चा अब सार्क राष्ट्रका मुलुकमा हुने छ।’

एन्फाका प्रशिक्षक एवं फुटबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी पारश चौधरीले साफकै कारण अन्तर्राष्ट्रिय स्तरको संरचना खडा हुँदा यसले खेल क्षेत्रको विकासमा भविष्यसम्मलाई मद्धत पुगेको बताए। ‘विराटनगरमा यस अघि मुलुककै ध्यान खिच्ने गोल्डकप आयोजना भइरहँदा उपयुक्त मैदान, चेन्जिङ रुप, प्लेयर बक्स र उपयुक्त प्यारापिट नै थिएनन्। भएका संरचना पनि व्यवस्थित थिएनन्,’ उनले भने, ‘सबै कुरा अन्तर्राष्ट्रिय स्तरको बनिसकेपछि अब भोलीका दिनमा खेलुकदका अन्य प्रतियोगिताका गर्न सजिलो भएको छ। विदेशी खेलाडी र अफिसियल पनि संरचनाका विषयमा सकारात्मक हुनु हाम्रो लागि सकारात्मक कुरा हो।’

आगामी दिनमा नयाँ खेलाडी उत्पादन र अभ्यास खेलहरू सञ्चालन गर्न सहज भएको उनको भनाइ छ। चौधरीका अनुसार अहिले नेपाली महिला टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका हिराकुमारी भुजेल, मनमाया लिम्बू, अनिता बस्नेत, कविता धिमाल, रेखा पौडेल, सरु लिम्बू र गोलरक्षक एन्जिला तुम्बापो लिम्बू यही प्रदेका हुन्। सबै उमेर समूहका महिला एवं पुरुष तथा सिनियर राष्ट्रिय टोलीमा पूर्वकै खेलाडीको बाहुल्यता अहिलेसम्म रहेको चौधरीले बताए।

फुटबलप्रति सबैको क्रेज बढ्दै जाँदा खेलाडी संकलन, छनोट र उत्पादन गर्ने केन्द्रका रुपमा सिंगो प्रदेश परिचित हुनु राष्ट्रकै लागि गौरवको कुरा भएको उनको भनाइ छ। जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष किशोरलाल अमात्यले थप व्यवस्थित गर्न सक्दा विराटनगरको सहिद रंगशालालाई मुलुककै नमुना बनाउन सकिने बताए। ‘साफले विराटनगर मात्रै नभए सिंगो प्रदेशको उचाई बढाएको छ। पुरानो परिचय बदलेर नयाँ परिचय थपिएको छ,’ उनले भने, ‘फुटबलप्रतिको क्रेज बढाउन महत्वपूर्ण भूमिकामा विराटनगर देखिएको छ। बनेका संरचनालाई सही तरिकाले सदुपयोग गर्दै खेलकुदको विकासमा जोड दिइने लक्ष्य राखिएको छ।’

अमात्यले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न नयाँ र पहिलो अनुभव भएकाले पनि सबै पक्षसँग देखिएको समन्वयको अभावलाई आगामी दिनमा दोहोर्याउन नहुने बताए। सर्वसाधारणमा फुटबलप्रतिको क्रेज कम हुँदै गएकोतर्फ ध्यान दिएर सबै कुरालाई व्यवस्थित गर्दै दर्शकको ध्यान खिच्न आवश्यक रहेको उनको भनाइ छ। बस्ने ठाउँ लगायतका सुविधाले दर्शक मैदानमा खेल हेर्न नआउने गरेकोमा दर्शक मैत्री संरचना बनेपछि भने त्यसले सबैको ध्यान खिच्ने अमात्यले बताए। फुटबल आयोजना गर्ने उपयुक्त समय नहुँदा गर्मीका कारण दर्शकको उत्साह र सहभागितामा भने कमी देखिएको विराटनगरका फुटबलप्रेमी सुदीप लम्सालले बताए।

‘विराटनगरमा फुटबल क्रेज नभएको हैन। गत वर्ष फ्लड लाइट लडान गरेर रात्रिकालिन प्रतियोगिता आयोजना गर्दा दर्शक ओइरिएका थिए,’ उनले भने, ‘त्यस्ता कुरालाई मध्यनजर गर्दै आगामी दिनमा उपयुक्त समय छनोट गरेर प्रतियोगिता आयोजना गर्नुपर्ने देखियो। यसले प्रतियोगिता पनि सफल हुने र दर्शकले पनि रंगशाला भरिभराउ हुन्छन्।’ मौसम अनुकूल प्रतियोगिता आयोजना गरेमा आम सर्वसाधारणमा फुटबलप्रतिको क्रेज बढाउँदै लैजान सकिने लम्सालले बताए। एन्फाका प्रवक्ता एवं साफ प्रचारप्रसार समितिका संयोजक किरण राईले आयोजनालाई अवसरका रुपमा सदुपयोग गरेर त्यही हिसावमा खेलहरू सम्पन्न गर्ने काम भइरहेको बताए। उनले विवादरहित ढंगबाट साफलाई भब्य र सफल रुपमा सम्पन्न गरेर मुलुकको छवि उच्च बनाउनेतर्फ एन्फा केन्द्रीत रहेको जानकारी दिए। 

महानगरका मेयर भीम पराजुलीले सबैको सहयोग र तत्परताकै कारण साफ आयोजना सकिएको बताए। ‘यसलाई कायम राख्दै आगामी दिनमा फुटबल लगायतका खेलकुदको विकासमा लागि परिने छ,’ उनले भने, ‘सबै क्षेत्रको उत्साहजनक सहभागितालाई फुटबलसँग जोडेर अघि बढ्न सक्दा त्यसले राम्रो प्रतिफल दिन्छ।’ प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले यो प्रदेश फुटबलरसहितका अन्य खेलाडी उत्पादनको मुख्य स्रोत भएकाले खेलकुद क्षेत्रको राजधानी बनाउन प्रदेश सरकारले जोड दिइरहेको बताए। ‘खेलाडीको उत्पादन र प्रतिस्पर्धामा उत्कृष्ट स्थान ओगट्दै आएको प्रदेश १ लाई सबै खेलकुदको राजधानीका रुपमा स्थापित गराउन पहल भइरहेको छ,’ मुख्य मन्त्री राईले भने, ‘पाँचौं महिला साफ च्याम्पियनसिपलाई यसको सुरुवातका रुपमा लिनु पर्छ।’ 

खेल सकिएपछि सफाईमा मेयर  

फागुन २८ बाट विराटनगरस्थित सहिद रंगशालामा साफको पाँचौं संस्करण चलिरहेको छ। यस भित्र लुकेको अर्को महत्वपूर्ण विषय पनि छ। प्रत्येक दिन ३ बजे सुरु हुने खेल सकिंदा लगभग ५ बजेको हुन्छ। खेल सकिएर अफिसियल, रेफ्री र खेलाडीले मैदान छाड्न साथ एउटा समूह हतारहतार गर्दै मैदान पस्छ। सेतो पोशाकमा रातो बोरा बोकेर मैदान छिर्ने टोलीमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि हुन्छन्।

सीएमजी स्वस्थ्य क्लबमार्फत एउटै समूह बनाएर मैदान छिरेकाहरू रंगशालाको मैदान, प्यारापिट, मञ्च र आसपासमा रहेका फोहोरहरू संकलन गर्न थाल्छन्। २० मिनेट बढी समय लगाएर रंगशाला भित्र दर्शक, अतिथी र खेलाडी तथा अफिसियलले पानी खाँदा फ्यालेका बोतलहरू संकलन गर्नेदेखि लिएर अन्य सरसफाईसम्मका काम सकेर टोली मैदानबाट बाहिरिने गरेको छ।

क्लबका अध्यक्ष किशोर धमलाले प्यारापिटको सरसफाईदेखि लिएर मञ्च, खेलाडी र अफिसियल बस्ने ठाउँ तथा मैदानको फोहोर व्यवस्थापनमा सुरुकै दिनदेखि खटिएको जानकारी दिए। ‘क्लबका तर्फबाट हामीले यो काम निःशुल्क रुपमा गरिरहेका छौं। यसमा महानगरका मेयरले पनि साथ दिइरहनु भएको छ,’ उनले भने, ‘प्रतियोगिता सञ्चालन अवधिभर हामी यही भूमिकामा रहने छौं ।

हाम्रै सम्पत्ति भएकाले संरक्षणमा चासो दिनुपर्छ भनेर रंगलाशा भित्रका फोहोर तत्काल व्यस्थापन गर्ने जिम्मेवारी हामीले लिएका छौं।’ अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले पनि मैदान र आसपासमा फोहोर हुन नदिनु आफूहरूको दायित्व भएको मेयर पराजुलीले बताए। जथाभावी फोहोर छाड्दा रंगशालाका बारेमा नराम्रो सन्देश प्रवाह हुने उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्