लागू औषधसहित युवा पक्राउ



उदयपुर : उदयपुर र सप्तरीको सीमास्थल लालपत्ता नाका लागू पदार्थ भित्रने प्रमुख नाका बन्दै गएको छ। त्रियुगा नगरपालिका ६ र सप्तरीको सुरुङ्गा नगरपालिकाको सीमास्थलमा पर्ने लालपत्ता नाका उदयपुर भित्रने लागू औषधमध्ये ९० प्रतिशत हिस्साको प्रवेश अखडा बन्दै आएको प्रहरी निश्कर्ष छ।

यसै क्रममा प्रहरीले अघिल्लो राति पनि अवैध लागू औषधसहित एक युवलाई नियन्त्रणमा लिएको छ। गाईघाट–लाहान सडक खण्डको निगरानीका लागि स्थापित प्रहरी चौकी लालपत्ताबाट खटेको असई कमाण्डको टोलीले शंका लागी खानतलासी लिदा १ सय ११ थान विभिन्न खाले लागू औषधसहित लाहान नगरपालिका ५ सिराहाका १९ वर्षीय मोहम्मद मुस्ताक मियाँ पक्राउ परेका हुन्।

त्रियुगा नगरपालिका ६ को गडमे जंगल भएर पैदलै उदयपुर भित्रिदै गरेका मियाको साथबाट प्रतिबन्धित डाईजोल्याप ३७ थान (एम्पुल), लुपिजेसिक ३७ एम्पुल र फेनार्गन ३७ एम्पुल बरामद गरेको प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। प्रहरी चौकी लालपत्तामै राखेर प्रारम्भिक अनुसन्धान भइरहेको मियालाई सदरमुकाम ल्याएर थप कारबाही गर्ने एसपी राईले बताए। 

प्रतिक्रिया दिनुहोस्