मुख्यमन्त्र्री राईले मन्त्री र सचिवसँग कामको प्रगति मागे



विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका मन्त्री र सचिवहरूसँग कामको प्रगति विवरण मागेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित मन्त्रालयगत चौमासिक प्रगति समीक्षा बैठकमा मुख्यमन्त्री राईले मासिक कामको प्रगति माग गरेका हुन्। 

बैठकमा मुख्यमन्त्री राईले पाक्षिक रूपमा मन्त्रालयगत मन्त्री र सचिवले प्रगति समीक्षा गर्न निर्देशनसमेत दिए । ‘प्रत्येक मन्त्रालयहरूले पाक्षिक रूपमा प्रगति समीक्षा गर्नुहोस्,’ मुख्यमन्त्री राईले निर्देशन दिँदै भने, ‘प्रत्येक महिना कामको प्रगति विवरण मुख्यमन्त्री कार्यालयमा यसरी नै बसेर छलफल गरौँला।’ 

नीति, कार्यक्रम र बजेट शीर्षकमा रहेर काम गर्न पनि मन्त्री र सचिवहरूलाई मुख्यमन्त्री राईले निर्देशन दिए। उनले असारे विकासमा ध्यान नदिन सचिवहरूलाई निर्देशन दिँदै भने, ‘अरुबेला बजेट खर्च नगरेर असारमा खर्च गर्ने बानीको हामीले अन्त्य गर्नुपर्छ।’ 

बलियो इच्छा शक्तिका साथमा काम गर्न मुख्यमन्त्री राईले कर्मचारीहरूलाई निर्देशन दिए। कर्मचारी समायोजन लगायतका बहानामा मनस्थिति नबिगार्न उनले आग्रह गरे। 

अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न निर्देशन दिँदै मुख्यमन्त्री राईले भने, ‘उत्पादनमूलक र रोजगारमुलक क्षेत्रमा बजेट खर्च गर्न म अनुरोध गर्दछु ।’ यो आर्थिक वर्षको बाँकी समय खेर नफाल्न पनि मुख्यमन्त्री राईले कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

प्रगति समीक्षामा मन्त्रालयगत सबै सचिवहरूले कामको प्रगति विवरण प्रस्तुत गरेका थिए । चार/चार महिनामा मन्त्रालयगत रूपमा समीक्षा बैठक हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्