लक्षणबिनै पनि स्तनमा क्यान्सर देखिन सक्छ : डा. कपेन्द्रशेखर अमात्य



काठमाडौं  : महिलामा सबैभन्दा बढी हुने क्यान्सर स्तनको क्यान्सर हो । तर स्तन क्यान्सर महिला मृत्युको प्रमुख कारण भने होइन । विश्व स्वाथ्य संगठनको गाईड अनुसार नेपालमा बर्सेनि क्यान्सरका ४० हजार नयाँ रोगी थपिएको देखाउँछ ।

तीमध्ये करिब ५ हजार स्तन क्यान्सरका रोगी हुने  लागेको बताईन्छ । यता नेपालका १२ बटा क्यान्सर अस्पतालको तथ्याङ्कअनुसार बार्षिक १० हजार जना मात्र उपचारकालागी अस्पताल पुग्ने गरेको  विपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालका क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभागका निर्वतमान प्रमुख किशोर प्रधानाङ्गले जानकारी दिए ।

अस्पतालपुगेका रोगीमध्य ९ प्रतिशत स्तनक्यान्सरबाट पिडित  रहेको प्रधानाङ्गले बताए । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर ललितपुरका वरिष्ठ स्तन क्यान्सर सर्जन कपेन्द्रशेखर अमात्यसँग स्तन क्यान्सरबारे कुराकानी गरेका छौं । 

क्यान्सर भनेको के हो ?

हाम्रो शरीर स–साना कोषले बनेको हुन्छ । शरीरमा कोष वृद्धि हुने र क्षय हुने स्वचालित प्रक्रिया निरन्तर भइरहन्छ । कहिलेकाहीं कोष अनियन्त्रित तरिकाले विभाजित हुन्छ र बढ्छ, जसलाई ट्युमर भनिन्छ ।

त्यस्तो ट्युमरको वरिपरि र शरीरका अन्य भागमा आक्रमण नगरे वा नफैलिए यसलाई बेनाइजिन ट्युमर भनिन्छ । यस्तो ट्युमर खतरनाक हुँदैन । तर ट्युमर विभिन्न कोषमा असामान्य तवरबाट फैलिएर कोष टुक्र्याउच्छ, आक्रमण गर्छ र मार्छ भने त्यसलाई मालिग्नान्ट ट्युमर अथवा क्यान्सर भनिन्छ । 

नेपालमा कसरी क्यान्सर बढेको छ ?

हाम्रो देशमा अझै क्यान्सरपिडित कति छन्, कस्तो अवस्थामा छन् औपचारिक तथ्यांक राख्न सकिएको छैन । यसमा हामी पनि जिम्मेवार छौं । सरकारले पनि डाटा राखेको पाइँदैन । यसको पहल सुरु भएको छ । जीवनशैलीमा परिवर्तन तथा खानपानका कारण क्यान्सर रोगीको संख्या बढिरहेको छ । महिलामा हुने क्यान्सरको कुरा गर्दा पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको छ भने स्तन क्यान्सर दोस्रो स्थानमा छ ।  

हाल स्तन क्यान्सरसम्बन्धी जागरुकता बढेको पाइन्छ । ग्रामीणभन्दा सहरी क्षेत्रका महिलामा स्तन क्यान्सरसम्बन्धी चेतना बढेको पाइन्छ । तर अझै पनि अधिकांश महिलाले यसमा खासै ध्यान दिन सकेका छैनन् ।

ठुल्ठूला अस्पतालका डाटा हेर्ने हो भने नेपालमा बर्सेनि करिब ४० हजार क्यान्सरका नयाँ रोगी थपिएको देखिन्छ र तीमध्ये ५ हजार स्तन क्यान्सरका रोगी हुन्छन् ।  

स्तन क्यान्सर कसरी लाग्छ ? 

स्तन क्यान्सर हुने कारण हालसम्म पनि पत्ता लागेको छैन । तर यसका केही कारकतत्व भने छन्, जसले स्तन क्यान्सरको जोखिम बढाउँछ । कारकतत्वलाई दुई भागमा विभाजन गर्न सकिन्छ ।

परिवर्तन गर्न सकिने,  र परिवर्तन गर्न नसकिने । यस्ता धेरै कुरा छन् जसमा ध्यान दिन सके स्तन क्यान्सरबाट बच्न सकिन्छ । जस्तै मोटोपन घटाउने, धुम्रपान र रक्सीका साथै समयमै सन्तान जन्माउने (३० वर्षभन्दा पहिले), नियमित स्तनपान गराए स्तन क्यान्सर हुनबाट बच्न सकिन्छ ।

परिवर्तन गर्न नसकिनेमा महिलाको उमेर, महिनावारी छिटो हुने (१२ वर्षभन्दा पहिले), महिनावारी ५० वर्षभन्दा पछि हुने, वंशाणुगत जस्ता कारणलाई हामी रोक्न सक्दैनौं । तर सजग भए न्यूनीकरण गर्न सकिन्छ ।

रोग लागेको कसरी थाहा पाउने ? 

दुवै स्तनको आकारमा परिवर्तन भए वा दुवै अथवा एउटा स्तनको रङ परिवर्तन भए, स्तनको मुन्टोबाट तरल पदार्थ बगे, काखी सुन्निए, स्तनको छाला परिवर्तन वा रातो भए, स्तन अथवा काखी दुखिरहे, स्तनमा गाँठागुठी आए वा डिम्पल परे वा यीबाहेक स्तनमा कुनै पनि परिवर्तन आए चिकित्सकसँग जाँच गराउनु पर्छ । माथि उल्लेखित लक्षण सुरुवाती अवस्थामा देखिने लक्षण हुन् ।

तर कतिपय अवस्थामा कुनै लक्षणबिनै पनि स्तन क्यान्सर देखिन सक्छ । स्तन क्यान्सर यस्तो क्यान्सर हो, जति छिटो थाहा पायो उपचार राम्रो हुनुको साथै थोरै खर्चमा उपचार गर्न सकिन्छ । जति ढिलो थाहा पायो उपचार गर्न गाह्रो हुनुका साथै खर्च पनि धेरै लाग्छ । सुरुमै थाहा पाए ९५ प्रतिशतको जीवन बचाउन सकिन्छ । स्तन क्यान्सरका बिरामीहरूमध्ये पनि बचाउन सकिने सम्भावना यस्तो छ ।

रोगको पहिलो चरणमा रहेकामध्ये ८५ प्रतिशत, दोस्रो चरणमध्येका ७५ प्रतिशत, तेस्रो चरणमध्येका ५० प्रतिशत र चौथो चरणमा पुगेकामध्ये प्रवेश गरेकामध्ये १०–१५ प्रतिशतको मात्र जीवन बचाउन सकिन्छ । स्तन क्यान्सरबाट बच्नु भनेको जतिसक्दो छिटो पत्ता लगाउनु नै हो ।

उपचार कसरी गरिन्छ ? 

स्तन क्यान्सरको उपचार तीन विधिबाट गरिन्छ । शल्यक्रिया, केमोथेरापी र रेडियोथेरापी । शल्यक्रियामा पहिलेभन्दा अहिले धेरै विकास भएको छ । पहिला स्तन पूरै काटेर फालिन्थ्यो र कुरूप समेत देखिन्थ्यो ।

तर अहिले स्तन बचाएर क्यान्सर भएको भागमा मात्र शल्यक्रिया गरिन्छ ।  केमोथेरापी पनि पहिलेको तुलनामा धेरै सुधार भएको छ । पहिला उपचारका साइड इफेक्ट धेरै थिए भने अहिले घटेको छ । सबैमा एउटै औषधिको प्रयोग गरिन्थ्यो भने हिजोआज क्यान्सरको अवस्था र प्रकार हेरेर फरक फरक औषधि प्रयोग गरिन्छ । नेपालमा पनि पछिल्लो समय क्यान्सरको उपचार प्रविधिले निकै फड्को मारिसकेको छ ।

केमोथेरापी, रेडियोथेरापी र शल्यक्रिया सबै उपचार प्रविधि नेपालमै उपलब्ध छ । क्यान्सर लागेपछि १०÷१५ वर्षअघि जस्तो भारत वा अन्यत्र जानुपर्ने बाध्यता अहिले छैन ।

बिरामीले केमा ध्यान दिनुपर्छ ?

हाम्रो खानपान र जीवनशैलीमा ध्यान दियौं र नियमित व्यायाम ग¥यौं भने  क्यान्सर लाग्ने सम्भावना ३३ प्रतिशत त घट्छ । हामीले खानपानमा ध्यान दिन जरुरी छ । पानी टन्न पिउने, खाना समयमै खानु पर्छ मसलादार, पोलेको खानेकुरा थोरै खाने र कसरत ग¥यो भने क्यान्सर रोग घट्छ ।

क्यान्सर लागिसकेकाले रोगको प्रतिरोध गर्न पनि पोषिलो भोजन गर्न  जरुरी छ । त्यसैले खानामा विषेश ध्यान दिनुपर्छ । अर्को कुरा सूर्तिजन्य पदार्थबाट टाढा बस्नुपर्छ, चुरोट एक मात्र त्यस्तो कुुरा हो जसको सेवनले क्यान्सर लाग्ने निश्चित छ । 

महिलालाई के सल्लाह दिनुहुुन्छ ?

जानकारी नपाएर महिलाहरू स्तन क्यान्सरको दुःख सहन बाध्य छन् । त्यसैले बर्सेनि आफ्नो स्वाथ्य परीक्षण गर्न सल्लाह दिन्छु । अर्को कुरा क्यान्सर भन्नासाथ अधिकांशले मरिहालिन्छ भन्ने गरेको पाउँछौं ।

हामी बिरामीलाई क्यान्सर लाग्दैमा मरिँदैन, समयमै यसको उपचार गरे निको हुन्छ भनेर सधैं सम्झाइरहेका छौं । बिरामीको मनोबल बढाए, हौसला दिए क्यान्सर पराजित गर्न सहयोग पुग्छ । त्यसैले बिरामीको मनोबल बढाउन सहयोग गरिदिन समेत सबैसँग आग्रह गर्छु । 

प्रतिक्रिया दिनुहोस्