जनकपुर अञ्चल अस्पताल भ्रष्टाचारमा लिप्त, सम्बन्धित निकाय मौन  



जनकपुरधाम : जनकपुर अञ्चल अस्पतालमा बिरामीलाई खाना, इन्धन र तलब भत्ता लगायतका विभिन्न शिर्षकमा छुट्टिएको रकम भ्रष्टाचार भएको पाइएको छ। कहिले चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु त कहिले मेडिकल सुपरिडेण्टले नियम विपरित कर्मचारी भर्ना गरेको लगायतका आरोप खेप्दै आएको अस्पताल भ्रष्टाचारमा चुर्लुम डुबेको घटना पनि सार्वजनिक भएको छ।

नियम विपरीत र फर्जी कर्मचारी देखाएर तलबको नाममा लाखौं रुपैयाँ झ्वाम पार्ने गरेको अस्पतालमा औषधि खरिद, सरसफाई लगायतका विभिन्न शिर्षकमा लाखौको भ्रष्टाचार हुँदै आए पनि सम्बन्धित निकायले चासो पुग्न सकेको छैन्। पटक पटक विवादमा तानिदै आएको जनकपुर अञ्चल अस्पतालमा सुविधा सम्पन्न भवन र श्रोत साधन भए पनि रेफर अस्पतालको रुपमा काम गर्दै आएको छ।

अस्पतालमा गोली लागेका बिरामीको उपचार, भ्यान्टिलेटर र दक्ष चिकित्सक लगायतका सुविधा नभएको कारण बिरामीलाई दिनहुँ रेफर गरिँदै आएको छ। नेपाल सरकारबाट अशक्त र सुत्केरी बिरामीलाई दुध, फलफूल, खाजा, खाना र निशुल्क औषधिसहितको शिर्षकमा बजेट नै छुटयाइँदै आएको छ। तर, एउटा पनि सुविधा बिरामीलाई नदिने जनकपुर अञ्चल अस्पतालले फर्जी बिल बनाएर लाखौं रुपैयाँ कुम्ल्याउँदै आएको छ।  

चालु आर्थिक वर्ष ०७५–७६ को फागुन मसान्तसम्म अस्पताल व्यवस्थापकले बिरामीलाई दुई छाक खाना खुवाए वापत १० लाख रुपैयाँ खर्च गरेका छन्। अस्पतालको रेकर्ड अनुसार श्रावण महिनादेखि फागुन मसान्तसम्म २० हजार छाकभन्दा बढी खाना बिरामीहरूलाई खुवाएको छ। तर, दैनिक सयौं बिरामी आउने सो अस्पतालमा हालसम्म कुनै पनि बिरामीलाई खाना खुवाएको देखिएको छैन्।

इन्धनमा लाखौं खर्च

अस्पतालमा दुईवटा एम्बुलेन्स र एउटा मेसुले चढ्नेसहित तीनवटा गाडी छ। सो गाडीको इन्धनमा चालू आर्थिक वर्षको फागुन मसान्तसम्म १० लाख रुपैयाँभन्दा बढीको इन्धन खर्च गरिसकिएको छ। गाडीको इन्धनमा मात्रै १० लाख ३१ हजार ५ सय १२ रुपैयाँ खर्च गरिएको अस्पतालको लेखा रेकर्डमा देखिएको छ। त्यस्तै अस्पतालको ओपिडी विभागमा बिरामीहरूको बेडमा ओछ्याइने बेडसिट र पर्दाहरूको धुलाइमा मासिक ५० हजारको फर्जी बिल लेखा अधिकृतको टेबलसम्म पुग्ने गरेको छ।

यति ठूलो रुपमा भइरहेको भ्रष्टाचारबारे जनकपुर अञ्चल अस्पतालका लेखा अधिकृत रामविनय यादवसँग सोधखोज गर्दा उनले भने, आफूले अस्पतालको आर्थिक गतिविधीलाई पारदर्शी राख्न व्यवस्थित तरिकाले काम गर्न चाहे पनि केही कर्मचारी र मेसु स्वयंले काम गर्न नदिने भन्दै दुखेसो पोखे। उनले अञ्चल अस्पताल भित्र सेक्युरिटी गार्ड, विद्युत सामग्री खरिद, छपाई, स्टेशनरी, सरसफाई सामग्री, खानेपानी सामग्री, बिरामीको खाद्यान्न लगायतको शीर्षकमा कोटेशन माग गर्दा आफूहरूको पोल खुल्ने डरले केही कर्मचारीहरू आफूविरुद्ध गलत अफवाह फैलाएको भने।

डोर हाजिरीको नाममा कर्मचारी भर्ना

अस्पताललाई भ्रष्टाचारमा चुर्लम्म डुबाएर अवकास प्राप्त गरेका मेडिकल सुपरिटेण्डेन्ट रामपरिक्षण यादवपछि आएका नयाँ मेडिकल सुपरिटेण्डेन्ट डाक्टर नागेन्द्र यादवले पनि अस्पतालको पुरानै भ्रष्टाचार ढर्रालाई निरन्तरता दिएको देखिएको छ।

तत्कालिन मेसु रामपरिक्षणले नियम विपरीत खारेज भइसकेको अस्पताल विकास समितिको नाममा ५ दर्जनभन्दा बढी कर्मचारी काममा खटाएका थिए। अदालतको आदेश पश्चात ती कर्मचारीलाई हटाइयो तर, नयाँ मेसुले कर्मचारी भर्नाको प्रक्रिया परिवर्तन गरी डोर हाजिरीमा आफ्ना आसेपासे सहितका ४४ जनालाई कर्मचारीमा खटाइएको अस्पताल श्रोतले आरोप लगाएका छन्।

मेसु डा. नागेन्द्रले डोर हाजरी अर्थात दैनिक ज्यालादारीमा ८ जना मेडिकल अधिकृत, २० जना स्टाफ नर्स, ७ जना कार्यालय साहायक, २ जना कम्प्युटर अपरेटर, ७ जना स्विपर र १ जना माइक्रो बायोलोजिस्टलाई नियुक्त गरेका छन्। डोर हाजिरी अर्थात ज्यालादारीमा कर्मचारी राखिएको भनिए पनि त्यसलाई दैनिक पारिश्रमिक दिनुको सट्टा पदीय हिसाबले महिनाबारी तलब भत्ता नै निजामती सेवा सरह दिँदै आएको छ।

डोर हाजरीमा नियुक्त भएका मेडीकल अधिकृतले ३४ हजार २ सय २०, स्टाफ नर्सले २३ हजार ५ सय, कार्यालय सहायकले १६ हजार २ सय ३०, कम्प्युटर अपरेटरले १७ हजार २ सय पचास, स्विपरले १३ हजार ५ सय र माइक्रोबायोलोजिस्टले ३० हजार ५ सय रुपैयाँ प्रतिव्यक्ति तलवको रुपमा उठाउँदै आएका छन्। जनकपुरधाम अञ्चल अस्पताल विकास समितिबाट १ सय २४ कर्मचारी नियुक्ती भएको देखिएको छ भने नेपाल सरकार करार अन्तर्गत २२ जना कर्मचारी नियुक्ती गरिएको छ। सरकारी दरबन्दीमा अहिले ८९ जना कर्मचारी कार्यरत रहेको अञ्चल अस्पतालको तथ्यांकमा देखिएको छ।

तलब अस्पतालको, ड्युटी क्लिनिकमा

अस्पतालले चिकित्सकसहित कर्मचारीमा मासिक ८० लाख रुपैयाँ भन्दा बढी रकम तलबमा खर्चिदै आएको छ। तर, अस्पतालमा ड्युटी गर्ने चिकित्सक निजी क्लिनिकमा काम गर्दै आएको देखिएको छ। बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म बिरामीलाई ओपिडी सेवा दिनुपर्नेछ। तर, जनकपुर अञ्चल अस्पतालमा बिहान ९ बजेदेखि १२ बजेसम्म मात्र ओपीडी टिकट काउन्टर खोलिन्छ।

तर चिकित्सक १० बजेपछि मात्रै आएपछि पूर्जी कटाएका बिरामीले मात्र चेकजाँचको सुविधा पाउँछन पछि आउने बिरामीलाई रितै हात वा इमरजेन्सीमा गएर चेकजाँच गराउने बाध्यता छ। १२ बजेसम्म पूर्जी काटिएका बिरामीलाई चेकजाँच गर्न लाग्ने समयावधिसम्म अर्थात मुस्किलले एक बजेसम्म मात्र चिकित्सक हुन्छ त्यसपछि आ आफ्नो क्लिनिकमा जाने गर्छन। जबकी ती निजामती  सेवा अनुसार कुनै पनि कर्मचारी दैनिक ८ घण्टा अस्पतालमा खटिनुपर्ने हो। अस्पतालका चिकित्सकहरू बढीमा ३–४ घण्टा ड्युटी अस्पतालमा ड्युटी दिन्छन भने बाँकी समय आ–आफ्नो निजी क्लिनिकमा दिने गरेको देखिएको छ।

अस्पतालमा विभिन्न शिर्षकमा भ्रष्टाचार भइरहेको जिज्ञासा राख्दा द नेपालटपसँग निमित्त मेडिकल सुपरिटेण्डेन्ट जामुन सिंहले भने अस्पतालमा कर्मचारीको पक्ष र विपक्ष गरी दुई समूह छन्। ति मध्येका विपक्षी समूहले अस्पतालमा भ्रष्टाचार र चिकित्सकबारे गलत अफवाह फैलाएको भने।

उनले गत एकवर्षदेखि बिरामीलाई बिहान र राति गरी दुई टाईम प्रत्येक बिरामीलाई खाना दिँदै आएको छ जसको टेण्डर समेत लागेको छ। जहाँसम्म इन्धनको कुरा छ त्यो गाडीमा मात्र होइन जेनरेटरमा समेत खर्च भएको दाबी गरे। निमित्त मेसु सिंहले भने चिकित्सकको ड्युटीबारे भने हामीले ८ घण्टाभन्दा बढी  ड्युटी लिइदै आएका छौ।

बिहान ९ बजेदेखि ३ बजेसम्म र त्यसपछि राउण्ड तथा इमरजेन्सीमा खटाउँदै आएका छौ। अस्पतालको हित नचाहने अस्पतालकै केही गलत तत्वले अस्पतालविरुद्ध गलत अफवाह फैलाएको हो। चिकित्सक र कर्मचारी अपुग भएको अवस्थामा विकास समिति खारेज भएपछि करार वा स्थायी प्रक्रियामा अस्पताल व्यवस्थापनले कर्मचारी आफैं राख्न नपाउने व्यवस्था भएको हुनाले डोर हाजिरीमा खटाइएको प्रतिक्रिया मेसु सिंहले दिए। 

प्रतिक्रिया दिनुहोस्