पब्जी अब ६ घण्टा मात्र खेल्न सकिने



काठमाडौं : अहिले धेरैको मुखमा झुन्डिएको भनौं वा फुर्सदमा सम्झने, मोबाइल भेट्नासाथ खेल्न थालिहाल्ने गेम हो– पब्जी। पब्जी भन्नासाथ कामधन्दा छाडेर, लेख्न पढ्न नै छाडेर एकोहोरो गेम खेलिरहने पनि कति छन् कति।

यस्ता कतिपय मोबाइल वा डिजिटल गेमले शारीरिक, मानसिक प्रतिस्पर्धाको भावनालगायत क्षमता विकास पनि हुन्छ। तर करियर बनाउने उमेरमा युवाहरू पब्जी खेलेर समय खेर फालिरहेका छन्।

पब्जी खेल्ने युवाहरू गेममा यतिविघ्न निर्लिप्त हुने गर्छन् कि उनीहरू आफ्नो पढाइ, कामधन्दा, करियर सबै बिर्सन्छन्। एकै ठाउँमा बसेर कुनै शारीरिक गतिविधि नगरी घण्टौं पब्जी खेलिरहँदा शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यसम्बन्धी गम्भीर समस्या पनि देखा पर्न थालेको चिकित्सकहरू बताउँछन्।

मोबाइलमा एकोहोरो हेरिरहँदा आँखा दुख्ने र दृष्टि कमजोर हुने, टाउको दुख्नेलगायत समस्या आउँछ। निद्रा नपुग्ने, मोटोपन, उच्च रक्तचाप, हृदयरोग जस्ता समस्या पनि यसले निम्त्याएको छ।

पब्जीकै कारण युवाहरूको स्वास्थ्य खस्केपछि यसका निर्माताहरूले नै यी समस्याको समाधान पनि खोजेका छन्। उनीहरूले पब्जी खेल्ने समय नै तोकिदिएका छन्। जसअनुसार अब एक दिनमा जम्मा ६ घण्टा निर्धारित गरिदिएका छन्। यसको अर्थ अब कसैले पनि दैनिक ६ घण्टाभन्दा बढी समय पब्जी खेल्न सक्ने छैनन्।

६ घण्टा खेलेपछि हेल्थ नोटिफिकेसन आउनेछ। त्यसपछि गेम आफैं बन्द हुनेछ।

प्रतिक्रिया दिनुहोस्