रुकुमपश्चिममा मादक पदार्थ सेवनकर्ता शून्य !



रुकुमः रुकुमपश्चिम मदिरा नियन्त्रण अभियान चलिरहेको छ। मदिरा नियन्त्रणका लागि सरकारी तवरबाट गाउँगाउँमा सचेतनामलुक अभियान चलिरहेको हो। यद्यपि, कानुनी जटिलताका कारण अभियानले सार्थकता भने पाउन नसकेकोको अधिकारीहरुको भनाइ छ।

प्रहरीले मादक पदार्थ सेवन गरी कानुन विपरीत काम गर्नेलाई प्रहरीले पक्राउ गरेर एक दिन थुनामा राख्ने र भोलि जिल्ला प्रशासन कार्यालय मार्फत एक हजार रुपैयाँसम्म जरिवाना तिराएर छोड्ने प्रावधान छ। मदिरा सेवनका कारण अपराधजन्य घटनामा बढेको प्रहरीको भनाइ छ।

यस्तो जिल्लामा मादक पदार्थ सेवन गरेर जरिवाना तिर्ने कति छन्रु भन्ने धेरैलाई जिज्ञासा हुन सक्छ। तर, चालु आर्थिक वर्षमा मापसे गरी जरिवाना तिर्ने शून्य रहेको छ। जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा मापसे गरेर कारवाहीमा पर्ने एक जना पनि छैन।  

रुकुमपश्चिममा तीन वर्ष यताको विवरण हेर्दा २०७३ मा ७५ जना र २०७४ मा नौ जनालाई मापसे गरी कानुन विपरीत कार्य गरेको अभियोगमा पक्राउ गरी जरिवाना गराइएको छ। जसबाट ८० हजारभन्दा बढी जरिवाना रकम संकलन भएको छ।  मादक पदार्थ सेवन गरी कारबाहीमा पर्नेमा १७ देखि ५० वर्ष समूहका छन्।

रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले चालु आर्थिक वर्षमा कुनै पनि ब्यक्ति मापसे कारण पक्राउ परेर जरिवाना नतिरेको बताए। ‘मापसे गरेर पक्राउ परी प्रशासनमार्फत जरिवाना तिर्ने यस आर्थिक वर्ष एक जना पनि छैन’ प्रजिअ रेग्मीले भने, ‘कुनै पक्राउ गरेको भए पनि प्रहरीले आफै छोडेको हो या पक्राउ नै नपरेको हुन्।’  

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख सुमित खड्काले पनि यस आर्थिक वर्षमा मापसेमा कोही पनि पक्राउ नपरेको बताए। ‘यस आर्थिक वर्ष मापसेमा कोही पनि पक्राउ गरिएको छैन,’ उनले भने, ‘मापसे गरेर अन्य अपराधजन्य घटना पनि गरेको छ भने मात्र पक्राउ गरेर कारबाही गरिएको छ।’

 

प्रतिक्रिया दिनुहोस्