‘कठै बरा को देख्न्या छ … कर्णालीका व्याथा’



ललितपुर : यतै  बस्दा नेता…  भोट माग्न गाउँ घर जाना,  कर्णालीका व्याथा…कठै बरा को देख्न्या छ … कर्णलीका व्याथा, कसैलाई खाना नई, कसैलाई चौरासी व्यञ्जन, (कसैलाई खाना छैन, कसैलाई चौरासी व्यञ्जन) भन्दै गत शुक्रबार ललितपुरको एकान्त कुनामा जुम्ली महिलाहरुले आफुना पीडाहरु पोख्दै थिए।

अध्ययन, जागिर वा अन्य कारणले विभिन्न समयमा जुम्लाबाट काठमाडौं आएका जुम्ली महिलाहरू आफ्ना पीडालाई भाका हालेर देउडा गाउँदै थिए। गीतमार्फत आफूले भोगेका पीडा पोख्दै गरेकी कृष्णमाया पाण्डेसँग कुरा ग-यौं। उनी उपचारका गराउन केही दिन मात्र काठमाडौं आएकी हुन्। 

साथीहरुले देउडा गाउने भनेपछि आफू पनि सहभागी भएको उनले सुनाइन्। पाण्डेले आर्थिक र पर्यटकीय सम्भावना बोकेको क्षेत्र भए पनि जुम्लामा सरकारको आँखा अहिलेसम्म नपुगेको भन्दै दुखेसो पोखिन्। 

काठमाडौं मात्र सरकारले देखेको भन्दै उनले उपचार गर्ने डाक्टर उतै भए आफुले यसरी खर्च गरेर काठमाडौं आउन नपर्ने बताइन्। कुरैकुरामा उनले एक्कासि स्याउको मूल्य सुनेर अचम्म परेको बताइन्। ‘हाम्रातिर त त्यसै कुहिएर जान्छ, कोही लिन आउँदैन, १०/२० रुपैयाँमा बेच्छौं, यहाँ त २ सय पो पर्दो रै’छ, गाउँको सबै स्याउ यतै ल्याउन पाए त धेरै पैसा हुने रहेछ।’

तर उनले फेरि गुनासो गर्दै भनिन्, ‘बाटो राम्रो छैन, के गर्नु धेरै असुविधा छ। यहाँ जस्तै जताततै मोटर हाम्रोतिर छैन आम्रा भेडाको हुलजस्ता यता मोटरका हुल हुँदा रैछन्,’ उनले भनिन्। साथै आफूहरुले भोट दिएका नेताले आफूहरुलाई छाडेर सहरमा बस्ने गरेको पनि उनले गुनासो गरिन्। 

केही दिन मात्र काठमाडौं बस्नुपर्दा विरक्त मानेकी उनले भनिन् ‘हामै जुम्ला जिल्ला स्याउ फली रमाइलो हुन्छ, मार्सी धानको खेती जुम्ला जिल्ला हाम्रो गाउँमा, नेतै जति यतै गरिबजति जुम्ला जिल्ला, हामी गरिब जनता हाम्रा दुःख को देख्नेछ, यतै बस्छन् हाम्रा दुःख को देख्न्याछ।’ (हाम्रै जुम्ला जिल्ला राम्रो, नेता जति यता हुँदा रहेछन्, गरिबजति जुम्लामा बस्छन्। हाम्रो दुःख कसले देख्छ र?)

८ वर्षअघि काठमाडौँ छिरेकी विष्णुमाया न्यौपाने पनि काठमाडौंले जुम्लालाई हेलाँ गरेको दुःखेसो गर्छिन्। त्यहाँ पाइने स्रोतसाधनलाई राज्यले बेवास्ता गरेको न्यौपानेले सुनाइन्। 

आफू ७ वर्षको हुँदा जुम्लाबाट काठमाडौं आएको सम्झँदै दुर्गा पण्डितले जुम्लालाई राज्यले नै उपेक्षा गरेको सुनाइन्। भनिन्, ‘जुम्लामा पनि पूर्वाधार विकास भएको भए हामीलाई हाम्रा बुबाआमाले जन्मठाउँबाट अन्यन्त्र ल्याउनु हुँदैनथ्यो होला।

सरकारले शिक्षा, स्वाथ्य र यातायात व्यवस्था गरिदिए जुम्ली आफैंले रोजगारी सिर्जना गर्न सक्ने उनी बताउँछिन्।  ‘गाडी छैन, स्याउ त्यसै कुहिएर गइरहेको छ, देशभित्रका हामीले चाइनिज स्याउ किनेर खाइरहेका छौं, जडीबुटी त्यसैखेर गइरहेको छ।’ सरकारले त्यसको व्यवस्थापन गर्नुपर्ने उनले बताइन्। 

जुम्लाका विभिन्न स्थानबाट काठमाडौं आएका उनीहरुले सहर पसेपछि आफ्नो थलो आफ्ना सन्तानलाई चिनाउन र पुख्र्यौली चालचलन र संस्कृति सिकाउन भेला भएको बताएका थिए। 

 

प्रतिक्रिया दिनुहोस्