images

नेपालमा चट्याङबाट बर्सेनि ११० जनाको मृत्यु, जोगिन यी उपाय अपनाउनुस्

रेखा श्रेष्ठ | प्रकाशित: २०७५-१२-२५ गते
नेपालमा चट्याङबाट बर्सेनि ११० जनाको मृत्यु, जोगिन यी उपाय अपनाउनुस्

काठमाडौं : चट्याङ पर्दा हामी धेरै डराउँछौं। डराउनु स्वाभाविक पनि हो, किनभने चट्याङ पर्दा लाखौं भोल्ट बराबरको विद्युत प्रवाह हुन्छ। चट्याङ खसेको ठाउँ पूरै डढाइदिन्छ। चट्याङ परेर मृत्यु भएको र कैयौं घाइते भएको खबर हामी सुन्छौं। पछिल्लो तथ्यांकअनुसार चट्याङबाट बर्सेनि १ सय १० नेपालीको मृत्यु हुन्छ। हामीले चट्याङ कसरी पर्छ ? यसबाट बच्न के गर्नु पर्छ लगायत विषयमा केन्द्रित भएर चट्याङविद् श्रीराम शर्मासँग कुराकानी गरेका छौं। 

चट्याङ कसरी पर्छ ?
आकाशमा कालो बादल विशेषगरी प्रि–मनसुनको समयमा बन्छ। आकाशमा कालो र खैरो बादल मडारिन थाले चट्याङ पर्छ। चट्याङ पर्नका लागि बादलमा विद्युतीय चार्ज उत्पन्न हुनुपर्छ। सूर्यको तापले जमिन तात्छ। जमिन र नदी, जलाशयलगायतको सतहका पानीका कण तातेर वाष्पिकरण हुन्छ र बादल बन्छ। बादल बन्ने प्रक्रिया जारी रहन्छ। पानीका यस्ता ससाना कण आपसमा ठोक्किँदा घर्षण हुन्छ र घर्षणले विद्युतीय चार्ज उत्पन्न हुन्छ। त्यो विद्युतीय चार्ज बादलदेखि जमिनमा पर्ने प्रक्रिया अथवा जमिनदेखि बादलसम्म पर्ने प्रक्रिया नै चट्याङ हो। 

चट्याङ  कतिको खतरनाक हो त ?
नेपालमा मात्र बर्सेनि १ सय १० जनाको मृत्यु हुन्छ। ०६८ सालदेखि औसतमा १ सय १० जनाको मृत्यु हुने गरेको तथ्यांक छ। यसले गर्ने क्षति सानोदेखि ठूला परिमाणका हुन्छन्। पछिल्लो समय विद्युतीय सामाग्री उपकरणको प्रयोग बढ्दै गएकाले क्षति पनि त्यही अनुपातमा नै बढ्छ। चट्याङ विद्युतीय सामान, उपकरणको सत्रु हो। घरका ससाना सामग्री टिभी, ल्यापटप, टेलिफोन, वासिङ मेसिन, मोबाइल चार्ज गरिरहेका हुन्छौं। चट्याङले वन र घरमा आगलागी, गाईवस्तु जलेर मर्ने गरेका छन्। पछिल्लो समय नेपालमा चट्याङले हुने क्षति बढ्दै गएको विकराल अवस्था छ।

कुन समयमा परेको चट्याङबाट बढी खतरा हुन्छ ?
जुनसुकै बेला परेको चट्याङ उस्तै हो, तैपनि विशेष गरेर जाडो याममा बादलको उचाइ जमिनको सतहभन्दा धेरै माथि नहुने भएकाले गर्दा जाडोमा जमिनमा चट्याङ बढी पर्छ। आकाशबाट जुनसुकै बेला होस् जमिनमा पर्ने चट्याङ सबैभन्दा खतरनाक हुन्छ। बादलभित्रै रह्यो भने क्षति थोरै हुन्छ। बादलबाट जमिनमा पर्‍यो भने हामीलाई धेरै हानी गर्छ। तर सामान्यतया जाडो याममा कम्ति चट्याङ पर्छ।

त्यसैगरी पानी पर्न थाल्नुअघि नै चट्याङ पर्न सुरु हुन्छ। पानी परिरहे चट्याङ पर्न घट्दै जान थाल्छ। किनभने विद्युतीय चार्ज पानीका कणहरूले गर्दा उत्पन्न हुन्छ। त्यसैले पानीका कण मिलेर बन्ने थोपा नै झर्न थालेपछि चट्याङ पर्न घट्न थाल्छ। पानी परेका बेला चट्याङबाट हुने क्षति धेरै हुने सम्भावना किन हुन्छ भने जमिन भिजेको हुन्छ र त्यसले सुचालकको काम गर्छ। ५ मिटर टाढा परेको चट्याङको करेन्ट पनि हामीसम्म आइपुग्छ, त्यसैले जोखिम बढी हुन्छ। पानी पर्नुअघिको समय अझ बढी खतरनाक हुन्छ।

चट्याङका दृष्टिले नेपालको कुन ठाउँ बढी जोखिमपूर्ण छ ?
नेपालका सबै ठाउँ जोखिमपूर्ण नै भए पनि झापा अलि बढी जोखिमपूर्ण मानिन्छ। त्यसपछि चुरे क्षेत्र, नवलपरासी, नवलपरासीको उत्तरपट्टि चट्याङ धेरै पर्छ, अन्यत्र अलि कम पर्छ। त्यसैगरी हिमाली क्षेत्रमा पनि अलि कम पर्छ, नभए अरू ठाउँमा चट्याङ पर्छ। उपत्यकाको सन्दर्भमा हेर्दा धेरैजसो घर पक्की छन्। चट्याङ बादलबाट जमिनमा खस्ने करेन्ट भएकाले यसले सबैभन्दा पहिले उचाइमा रहेका वस्तुमा हान्छ। काठमाडौं उपत्यका चारैतिर पहाडले घेरिएको र गहिराइमा छ। त्यसैले वरिपरि यस्तो पहाडी भूभाग अर्थात् अग्लो भूभाग भए गहिरोमा पनि चट्याङले हान्छ। 

यसबाट कसरी बच्ने ?
व्यक्तिगत सुरक्षाको हिसाबले गड्याङगुडुङ गर्न थाल्यो, चट्याङ पर्न थाल्यो भने सुरक्षित स्थानमा जाने। सुरक्षित स्थान भन्नाले जहाँ धातु प्रयोग गरेर बनाइएका घर हुन्छन्। धातुले बनेका घर, गाडी, बस र कारमा चट्याङको जोखिम थोरै रहन्छ। बाहिर काम गरिरहेका बेला नजिकै यस्ता ठाउँ छन् भने बस्न सकिन्छ।

कतै टाढा काम गरिरहेका बेला यस्तो बस्ने ठाउँ पाइएन भने ठूलो रुखमुनि ओत लाग्नु हुँदैन। ससाना रुखलाई बराबर दूरी बनाएर बीचमा टुक्रुक्क बस्ने। बस्दा दुईवटै खुट्टा एकै ठाउँमा जोडेर बस्ने। हाइ टेन्सन तार छ भने सप्लाइको तार पावरपट्टि दुई खम्बाको बीचमा उभियौं भने पनि सुरक्षित हुन सक्छौं। त्यस्तो ठाउँ भेटिएन भने खुला मैदानमा टुक्रुक्क बस्ने र टाउको दुई घुँडाको बीचमा पार्ने। यो अन्तिम विकल्प हो।

चट्याङ पर्दाका केही फाइदा पनि हुन्छ कि ?
चट्याङ पर्नु आवश्यक पनि छ। किनभने यसले वायुमण्डलमा रहेका नाइट्रोजनका कणलाई नाइट्रोजन अक्साइडमा परिणत गरिदिन्छ। माटोबाट नाइट्रोजन अक्साइड लिएर नै बोटबिरुवाले नाइट्रोजन फिक्सेसन (खाना बनाउने प्रक्रियामा आवश्यक कुरा) बनाउँछ। त्यो बोटबिरुवालाई खाना बनाउन नभइ नहुने प्रक्रिया हो। वायुमण्डलको ओजोन निर्माणमा पनि महत्वपूर्ण भूमिका हुन्छ।

images
images
images
सम्बन्धित समाचार

बढ्दै छ मानसिक समस्या, कसरी थाहा पाउने र बच्ने ? (भिडियो)

बढ्दै छ मानसिक समस्या, कसरी थाहा पाउने र बच्ने ? (भिडियो)

काठमाडौं : पछिल्लो समय मानसिक रोगका बिरामी बढ्दै गएको चिकित्सकहरुले बताएका छन्। सामाजिक, आर्थिक, राजनीतिक..

राजेशपायल राई र प्रमाेद खरेलले जसलाई हिट बनाइदिए

राजेशपायल राई र प्रमाेद खरेलले जसलाई हिट बनाइदिए

काठमाडाै‌ं : खोटाङ पारामा जन्मेकी मीरादेवी राई नेपाली सांगीतिक फाँटमा पाइला चाल्दै छिन्। संगीत क्षेत्रमा..

भिडियो अन्तर्वार्ता : पेडियाट्रिक सर्जरी कस्तो खालको उपचार हो त?

भिडियो अन्तर्वार्ता : पेडियाट्रिक सर्जरी कस्तो खालको उपचार हो त?

काठमाडौं : पछिल्लो समय पेडियाट्रिक सर्जरीबाट उपचार गर्ने बिरामीमा वृद्धि भएको छ। अहिले तालिम प्राप्त डक्टरहरू,..

भीम रावलले बलिको बोको बनाए, अब विद्रोह गर्छु : दिलबहादुर सिंह

भीम रावलले बलिको बोको बनाए, अब विद्रोह गर्छु : दिलबहादुर सिंह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका ९ सहित ७७ वटै जिल्लामा जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो..

'सिकलसेल लागेपछि मरिन्छ भन्ने भ्रम अन्त्य गर्नु पर्छ'

'सिकलसेल लागेपछि मरिन्छ भन्ने भ्रम अन्त्य गर्नु पर्छ'

कैलाली : थारू समुदायमा सिकलसेल आतङ्क छ  । एक पुस्ताबाट अर्को पुस्तामा वंशाणुगत रूपमा सर्ने यो रोगका कारण उनीहरू त्र..

स्वादिला मौलिक नेपाली परिकारको प्रचारप्रसार गरौं

स्वादिला मौलिक नेपाली परिकारको प्रचारप्रसार गरौं

काठमाडाैं : नेपाली भोजनका विविध परिकार विश्वभरि नै खाइने विभिन्न परिकारमध्ये निकै सुस्वादु र पोषणका दृष्टिबाटसमेत स..