डाक्टरले रोजेनन् कर्णाली, बाहिरका एक जनाले मात्र कर्णाली प्रदेश रोजे



सुर्खेत : कर्मचारी समायोजनका क्रममा बाहिरका एक जना डाक्टरले मात्र कर्णाली प्रदेश रोजेका छन् । कर्णालीमै कार्यरतमध्ये पनि अधिकांश डाक्टरले बाहिरकै अस्पताललाई कार्यथलो छानेका छन् । 

कर्णाली प्रदेशमा ११८ डाक्टरको दरबन्दी छ । कार्यरत १४ डाक्टरले यही क्षेत्र रोजेका छन् । कार्यथलो कर्णाली छानेका बाहिरका एकसहित १५ मध्ये १० प्रदेशमातहतका अस्पताल र ५ स्थानीय तहमा रहने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले जनाए । ‘हामीकहाँ चिकित्सक दरबन्दी नै कम छ,’ उनले भने, ‘त्यहीमाथि बाहिरका यहाँ आउनै मान्दैनन् ।’

स्वास्थ्य सेवातर्फ कार्यरत कर्णालीका डाक्टर–कर्मचारीसहित ४० जनाले प्रदेश बाहिरका जिल्ला, स्थानीय तह र संघलाई रोजेका छन् । डाक्टर–कर्मचारी गरी ३३ जनाले कर्णालीलाई आफ्नो रोजाइमा पारेकामा १६ जना कर्णाली बाहिरका छन् । कतिपय डाक्टरले भने कर्णाली प्रदेश रोजे पनि सरकारले संघमा पारेको बताएका छन् । ‘यत्रो वर्ष कर्णालीमा काम गरियो, बाँकी समय पनि कर्णालीमै बिताउने सोचले प्रदेशमा फाराम भरेको थिएँ,’ डा.केशर ढकालले भने, ‘मलाई संघमा राखियो ।’

डाक्टरले कर्णाली नरोजेको भन्दा पनि सरकारले कर्णालीमाथि अन्यायपूर्ण व्यवहार गरेको उनले बताए । संघ रोजेका डा. गणेश थापालाई प्रदेशमा पारिएको छ । कर्णालीमा ९ जिल्ला अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र, आठ जिल्ला आयुर्वेद केन्द्र र दुई आयुर्वेद औषधालय छन् ।

समायोजनको असर प्रदेश अस्पताल सुर्खेतमा पनि देखिएको छ । २४ विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा अहिले कार्यरत ११ मध्ये ९ जनाले संघ र अरू प्रदेश रोजेका छन् । प्रदेश अस्पतालमा समायोजनपछि दुई जना मात्र विशेषज्ञ डाक्टर हुने भएपछि अप्रेसनलगायतका महत्त्वपूर्ण विशेषज्ञ सेवा प्रभावित हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्मर खड्काले बताए ।

‘हामीले जेनतेन धानेका थियौं,’ उनले भने, ‘त्यसैमाथि यही प्रदेश रोजेकालाई पनि अन्त पठाएपछि समस्या भएको छ ।’ समायोजनको पदस्थापनापछि अस्पतालमा स्त्रीरोग विशेषज्ञ डा. अमित सिंह र सर्जन डा. सुजन सापकोटा मात्र रहनेछन् । चार जना स्थायी मेडिकल अधिकृतमध्ये एक जनाबाहेक अरूले कर्णाली प्रदेश रोजेनन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्