images

स्वादिला मौलिक नेपाली परिकारको प्रचारप्रसार गरौं

प्रकाश बस्याल | प्रकाशित: २०७५-१२-२७ गते
स्वादिला मौलिक नेपाली परिकारको प्रचारप्रसार गरौं

काठमाडाैं : नेपाली भोजनका विविध परिकार विश्वभरि नै खाइने विभिन्न परिकारमध्ये निकै सुस्वादु र पोषणका दृष्टिबाटसमेत सन्तुलितमध्ये पर्ने नेप्लिज वर्ल्डवाइड सेफ एसोसिएनका उपाध्यक्ष सुरेश बस्नेत बताउँछन्। नेपाली भोजनको प्रचारप्रसार गर्दै आन्तरिक तथा वाह्य पर्यटक आकर्षित गर्न सुरु गरिएको ग्यास्ट्रोनोमी–टुरिज्म अभियान देशभरि नै सञ्चालन गरिएको यसका अभियन्ता बस्नेतले जानकारी दिए।

विदेशी फास्टफुड भित्रिएसँगै नेपालका अधिकांश मौलिक खानेकुरा लोप हुँदै गएकाले फेरि उपभोगमा ल्याउन र विश्वभरि प्रचारप्रसार गर्न ‘नेपाली खानाको विश्वव्यापीकरण गर्ने राष्ट्रिय अभियान’ थालिएको हो। २०७२ चैत २६ गते सुरु अभियानले नेपाली रैथाने खानेकुराका परिकारलाई विश्वभरि नै चिनाउने र विदेशीलाई आकर्षित गर्नेे छ। यसबारे ग्यास्ट्रोनोमी अभियानका अभियन्तासमेत रहेका  ‘नेपाली फुड गुरु’ सुरेश बस्नेतसँग कुराकानी गरेका छौं।
 
ग्यास्ट्रोनोमी अभियान के हो ?

ग्यास्ट्रोनोमी भनेको खाद्य र संस्कृति जोडेर भोजन पकाउने शैली र परिकारहरूको अध्ययन हो। व्यावहारिक ग्यास्ट्रोनोमी विश्वभरिका विभिन्न देशहरूमा खाद्य र पेय पदार्थको तयारी, उत्पादन तथा पस्कने अभ्यास र अध्ययनसँग सम्बन्धित छ।

ग्यास्ट्रोनोमी भोजनसँग सम्बन्धित विशेष अध्ययन हो र यसले हरेक देशको भोजन सभ्यतासँगैं देशको गौरव बढाउँछ। हाम्रो अभियान पनि नेपाली भोजनका विविध परिकारको प्रवद्र्धन गर्नु नै हो।

नेपाली भोजनका परिकार विश्वभरि चिनाउन सम्भव छ त ?
सम्भव देखेर नै यो अभियान थालेका हौं। मेरो २७ बर्से कुकिङ र कलेज अध्यापनको अनुभवका कारण सन् २०१७ मा ग्यास्ट्रोनोमी अभियान सञ्चालन गरेका हौं। त्यसको निकै सकारात्मक प्रतिक्रिया पाएपछि स्थानीय र विश्वव्यापी अभियान गर्ने सोचमा पुग्यौं।

अर्को कुरा नेपालमा विभिन्न जातजातिका फरकफरक भोजनका फरकफरक परिकार हुने भएकाले उनीहरूकहाँ नै पुगेर उनीहरूसँंगै खान सुरु गर्‍यौं र त्यसलाई खानेकुरा अध्ययन गर्ने अवसरका रूपमा उपयोग पनि गर्‍यौं। 

राई, गुरुङ, थकाली समुदायका भोजन र तिनको अध्ययन गर्दा नेपाली खानेकुरा निकै उच्च कोटीका हुनुका साथै कतिपय देशका खानेकुराको तुलनामा स्वस्थ्यकर र स्वादिलो पाइयो। त्यसैले नेपाली खानेकुरा विश्वभरिका मानिसको रोजाइमा पर्नेमा हामी ढुक्क भयौं।

नेपाली भोजन पनि अन्य देशको जस्तै झोल (सुरुवा वा सुप), टोकेर खाने, निलेर खाने पिउने सबै किसिमका छन्। त्यसैले र पस्कने परम्परागत शैलीमा थोरै मात्र परिवर्तन गरी आधुनिक बनाइयो भने विश्वबजारमा नेपाली खानेकुरा पनि अन्य देशका जस्तै धेरै खोजिने र मन पराइने भोजनको सूचीमा पर्नेमा दुईमत छैन।

के नेपाली रैथाने खानेकुरा विदेशीको रोजाइमा पर्लान् त ?
खानेकुरा तयार पार्ने र पस्कने शैली परम्परागत नै राखेर परिवर्तन नगरे त ग्लोबलाइज हुँदैन। केही परिवर्तन नगरी त हाम्रो भोजन विश्वभरि चल्दैन पनि। अर्को कुरा जति पनि हाम्रा नेपाली सेफ विदेशमा काम गरिरहेका छन्, ती सबै भारतमा सिकेर गएकाले पनि नेपाली भोजन देशबाहिर लोकप्रिय हुन नसकेका हुन्।

सेफमा  पनि नेपाली खानेकुरा चिल्लो, पिरो र अमिलो हुनुपर्छ भन्ने धारणा छ, जुन सबै ठाउँमा उपयुक्त हुँदैन। त्यसैले नेपाली खानेकुरालाई ठाउँअनुसार स्थानीय स्वादको टच गर्नु पर्छ। खाना पस्कने तरिका पनि समयसापेक्ष बनाउन सकियो भने पक्कै पनि सबैले स्वाद लिएर खान्छन् र मन पराउँछन्।

तपाईंहरूले नेपाली भोजनको अध्ययन अनुसन्धान गरेको भन्नु भयो । कसरी अध्ययन कसरी गरिरहनु भएको छ ?
अध्ययन भनेर अरु विषय पढेजस्तो हुँदैन। हामीले यसमा फरक तरिका अपनाएका छौं। हामी स्थानीय स्तरमा पुग्छौं र त्यहाँ उपलब्ध स्रोत उदाहरणका लागि तरुल भयो, हामी तरुल उसिनेर खान्छौं तर यसलाई फ्राई गरेर छोइला बनाएर पनि खान सकिन्छ। त्यही तरुललाई अन्य ठाउँमा पुर्‍याउँदा त्यहाँको वातावरणअनुसार थोरै चिल्लो र नुन राख्न सक्छौं। 

यसरी नै हामीले पकाउँदै र पस्कँदै आएको विधि परिवर्तन गरेर कसरी खान, पकाउन र पस्कन सक्छौं अध्ययन गरिरहेका छौं। हामी हाम्रो ठाउँमा उपलब्ध स्रोतलाई विभिन्न तरिकाले देशबाहिर पनि सुट हुने गरि कसरी बनाउन सकिन्छ, त्यसमा लागिरहेका छौं। 

तपाईंहरूको यो अभियानमा कसैले सघाएको पनि छ ?
अहिलेसम्म खासै कसैको पनि सहयोग लिएका छैनौं तर हामी जुन ठाउँमा पुग्छौं, त्यहाँका स्थानीय होमस्टे र होटलले सघाउँदै आएका छन्। अर्को कुरा, जो जुन पेसामा आबद्ध हुन्छ, त्यसको गहिराइमा पुग्नुपर्छ जस्तो लाग्छ मलाई।

त्यसैले मैले आफ्नो जीवन यही पेसामा समर्पित गरें। धेरै ठाउँमा काम गर्दाको अनुभवले नेपाली भोजनमाथि सोच्न बाध्य बनायो। पेसाको गहिराइमा पुग्न मन लाग्यो, त्यसपछि सोच बनिहाल्यो। 

भोजन पनि पर्यटनको मुख्य अंगमध्ये एक हो। सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने भनिरहँदा नेपाली भोजन प्रवर्द्धन गर्न सकियो भने समृद्धिको यात्रामा थप टेवा पुग्छ। नेपाल आउने पर्यटक गाउँ गाउँ घुम्न, विभिन्न जातजातिका संस्कृतिसँग रमाउन र उनीहरूका मौलिक खानेकुरा खान रुचाउने गर्छन्। 

नेपाल घुमेर स्वदेश फर्किएका विदेशी पर्यटकले नेपाली भोजन र संस्कृतिको प्रचार विश्वभरि गरेको पाइन्छ। त्यसैले भोजन प्रत्यक्षतः जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले भोजनको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने देखिन्छ।

पर्यटकमध्ये ३०/३५ प्रतिशत विभिन्न देशका भोजनको स्वाद लिनकै लागि विश्व भ्रमण गर्छन्। हिजोआज पर्यटनबाटै देश विकास गर्न प्रयासरत कतिपय देशले आफ्ना मौलिक भोजन प्रवद्र्धनमा जोड दिएका छन्। उनीहरूले जस्तै हामीले पनि हाम्रा मौलिक भोजनको प्रवद्र्धनमा जोड दिनु पर्छ। सरकारले पनि मौलिक भोजनको अध्ययन र अनुसन्धानमा सहयोग गर्नुपर्छ।

यो अभियानले विदेशी फास्टफुडमा रमाउने नेपालीलाई तान्न सक्ला र ?
पहिले पहिले हाम्रो समाजका ठूला जातका ब्राह्मण क्षेत्रीले घरबाहिर खान नहुने मान्यता राख्थे तर अहिले समय बदलिएको छ। जुन मानिस बाहिर रेस्टुरेन्टमा खान्छ, उसलाई समाजले उच्च वर्गमा राख्ने गरेको छ।

पहिलेभन्दा मानिसको बुझाइमा पनि परिवर्तन आएको छ। पुरानो शैली आत्मसात गर्दै नयाँ तरिकाबाट पस्किन सक्यो भने नेपाली पक्कै पनि आफ्नो रैथाने मौलिक स्वादमा रमाउँछन् भन्ने मेरो बुझाइ हो।

अर्को कुरा विश्वका अधिकांश देशमा नेपाली पुगेका छन् तर आफ्नो मौलिकताको प्रचार गर्न नजान्दा विश्वले हामीलाई चिनेकै छैन। विदेशमा पनि नेपाली परिकार कुनै कुनै इन्डियन रेस्टुरेन्टमा खान पाइन्छ तर नेपालीको छुट्टै पहिचान छैन।

नेपाली खानेकुराको राम्रो पक्षको प्रचारप्रसार गर्न नजान्नु हामी सबैको कमजोरी हो। बिस्तारै मानिस परिवर्तन हुँदै छन्, विदेशमा पनि नेपाली खानेकुरा खोजिन थालेको छ भने नेपालीलाई त पक्कै तान्छ तान्छ।

हामीले कुन खानेकुरा वा परिकारलाई नेपाली भोजन भनेर बुझ्ने ?
विगतमा नेपाली भोजन भनेर दाल, भात, तरकारी र अचारलाई मात्र बुझिन्थ्यो भने अब नेपाली सुप पनि छ, डेजर्ट पनि छ भनेर बुझाउनु पर्‍यो। हिमाली भेगका खानेकुरा, तराई–मधेसका खानेकुरा, पहाडी भेगका खानेकुरा भनेर थाहा पाउनु पर्‍यो, बुझाउनु पर्‍यो। यो सबै मार्केटिङ कसरी र के मा गर्ने हो त्यसमा भर पर्छ।

नेपाली परिकार विश्वव्यापी बनाउन तपाईंहरूले स्थानीय सरकारसँग के अपेक्षा राख्नु भएको छ ?
एक्लैले त केही गर्न सकिँदैन, हाल हामीले होटल म्यानेजमेन्टका विद्यार्थीलाई एम्बास्डर बनाएका छौं र परिचालन गरेका छौं। अब पहिले जस्तो कुक सिक्न दसौं वर्ष लाग्दैन स्मार्टफोनका कारण मानिसले खान चाहेको खानेकुरा छिन्भरमै सिक्न सक्छन्।

अहिले हामीले विद्यार्थी परिचालन गरेका छौं अहिले त स्थानीय तहमा बजेट पनि छ, नेपाली परिकारको प्रवद्र्धन गर्न लगानी बढाउनुपर्छ।

नेपाली खानेकुराका परिकार कत्ति महँगा छन् ?
अन्य देशका खानेकुराका तुलनामा हाम्रो खाना उत्पादन लागत निकै कम छ। साथै नेपाली खानेकुरा राम्रोसँग पकाइएको हुन्छ, त्यसैले स्वाथ्यकर पनि छ। महँगो त ठाउँ र पस्कने तरिकाले फरक पार्छ। कस्तो ठाउँमा खाने भन्ने कुरा नै मुख्य हो।

अन्त्यमा यो अभियानबारे थप केही जानकारी दिनुहोस् न ?
नेपाली खानेकुराका परिकारको प्रचारप्रसार गरौं, नेपाली भोजन गरौं, नमिठो भन्दै नफालौं। भोजनको महत्व बुझौं, विश्वका कतिपय मुलुकमा अझै पनि भोकमरी कायमै छ भन्ने पनि बुझौं।

खानेकुरा हाम्रो परिचय हो, त्यसैले नेपाली परिकारको प्रचार गरौं। यसले देश समृद्ध बनाउन सघाउँछ। खाना नै देशको परिचय र पर्यटनको आधार भएकाले यसलाई विश्वव्यापी बनाउन सबै लागौं।

यो अभियान हाम्रो मात्रै होइन सारा नेपालीको हो। यसमा सबैको सहयोग भयो भने हाम्रो अभियानले सफलता पाउँछ र त्यसबाट देशमा आर्थिक समृद्धि  ल्याउन सकिन्छ ।

images
images
images
सम्बन्धित समाचार

बढ्दै छ मानसिक समस्या, कसरी थाहा पाउने र बच्ने ? (भिडियो)

बढ्दै छ मानसिक समस्या, कसरी थाहा पाउने र बच्ने ? (भिडियो)

काठमाडौं : पछिल्लो समय मानसिक रोगका बिरामी बढ्दै गएको चिकित्सकहरुले बताएका छन्। सामाजिक, आर्थिक, राजनीतिक..

राजेशपायल राई र प्रमाेद खरेलले जसलाई हिट बनाइदिए

राजेशपायल राई र प्रमाेद खरेलले जसलाई हिट बनाइदिए

काठमाडाै‌ं : खोटाङ पारामा जन्मेकी मीरादेवी राई नेपाली सांगीतिक फाँटमा पाइला चाल्दै छिन्। संगीत क्षेत्रमा..

भिडियो अन्तर्वार्ता : पेडियाट्रिक सर्जरी कस्तो खालको उपचार हो त?

भिडियो अन्तर्वार्ता : पेडियाट्रिक सर्जरी कस्तो खालको उपचार हो त?

काठमाडौं : पछिल्लो समय पेडियाट्रिक सर्जरीबाट उपचार गर्ने बिरामीमा वृद्धि भएको छ। अहिले तालिम प्राप्त डक्टरहरू,..

भीम रावलले बलिको बोको बनाए, अब विद्रोह गर्छु : दिलबहादुर सिंह

भीम रावलले बलिको बोको बनाए, अब विद्रोह गर्छु : दिलबहादुर सिंह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका ९ सहित ७७ वटै जिल्लामा जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो..

'सिकलसेल लागेपछि मरिन्छ भन्ने भ्रम अन्त्य गर्नु पर्छ'

'सिकलसेल लागेपछि मरिन्छ भन्ने भ्रम अन्त्य गर्नु पर्छ'

कैलाली : थारू समुदायमा सिकलसेल आतङ्क छ  । एक पुस्ताबाट अर्को पुस्तामा वंशाणुगत रूपमा सर्ने यो रोगका कारण उनीहरू त्र..

नेपालमा चट्याङबाट बर्सेनि ११० जनाको मृत्यु, जोगिन यी उपाय अपनाउनुस्

नेपालमा चट्याङबाट बर्सेनि ११० जनाको मृत्यु, जोगिन यी उपाय अपनाउनुस्

काठमाडौं : चट्याङ पर्दा हामी धेरै डराउँछौं। डराउनु स्वाभाविक पनि हो, किनभने चट्याङ पर्दा लाखौं भोल्ट बराबरको विद्यु..