सरकारी अस्पतालमा नवजात तिम्ल्याहाको उपचार खर्च तिर्न नसक्दा सहयोग माग्दै परिवार



जनकपुरधाम : जनकपुर अञ्चल अस्पतालमा जन्मेका तिम्ल्याहा नवजातको उपचार खर्च तिर्न नसक्दा गणेश शाह–सुनीता दम्पती अहिले तनावमा परेका छन्।

तिम्ल्याहाको आइसियू उपचार खर्च अस्पतालले दिएको १ लाख ५३ हजार रुपैयाँको बिल तिर्न नसकेपछि शाह दम्पती रुनु न हाँस्नु भएका छन्। बिलखबन्दमा परेका शाह अहिले सांसद् र नेतासँग सहयोगको याचना गरिरहेका छन्। 

‘मैले छिमेकी गाउँलेसँग रिनपान गरेर बल्लतल्ल ५१ हजार जुटाएर बिल तिर्न जाँदा त्यति धेरै तिर्नुपर्ने बताए’, सन्तानको खुसी र घर लैजान नसक्नुको पीडाले रुनु न हाँस्नु भएका साहले भने, ‘मसँग पैसा छैन, कहाँबाट डेढ लाख ल्याउँ ? डाक्टरले डिस्चार्ज गरिसके, पैसा नभएकाले गाउँ जान सकेका छैनौं।’

डा.दीपक साहले बिहीबार नै डिस्चार्ज गरे पनि परिवारले नलगेकाले समस्या भइरहेको बताए। अस्पतालले उपचारबापतको रकम भुक्तानी नगरुन्जेल परिवारलाई नवजात दिएर पठाउन नमिल्ने जनाएको छ।

साहले उपचार खर्च तिर्न नसकेको सुनेर प्रतिनिधिसभा सदस्य प्रमोद साह र सामाजिक विकासमन्त्री नवलकिशोर साह अस्पताल आएर भेटी फेरि आउने बताएर गएको बताए। 

सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–७ बयलबास खोरिया टोलका बासिन्दा शाह दम्पतीका तिम्ल्याहा सन्तान (एक छोरा र दुई छोरी) जन्मेका थिए। घरेलु काम गरिरहेका बेला दुई

साताअघि सुनीतालाई गणेशले खोरियाबाट जनकपुरधामस्थित अस्पताल लगेका थिए। भोलिपल्ट सुनीताले सामान्य प्रसूतिबाटै तिम्ल्याहा जन्म दिइन्। तीनै जनाको तौल कम भएकाले सघन उपचारकक्ष (आइसियू) मा राखेर उपचार गर्नुपर्ने भयो। 

डाक्टरको सल्लाहअनुसार उनीहरूले आइसियूमा उपचार गराए। तर डाक्टरले उनीहरूलाई नवजात घर लगे हुन्छ भने। उपचारबापत् डेढ लाखभन्दा बढी तिर्नुपर्ने भनेपछि बल्लतल्ल रिनपान गरी ५५ हजार रुपैयाँ बोकेर आएका गणेश झण्डै काउन्टरमै ढले। 

अस्पतालले डिस्चार्ज नगरे शुक्रबारदेखि प्रति नवजात थप ३ हजार रुपैयाँको दरले तिर्नुपर्ने जनाउ दिएको छ। यसपछि साह दम्पती अझ तनावमा परेको छ। सुत्केरी सुनीता नवजातलाई बेला बेला आइसियूमै गएर दूध चुसाउँछिन्।

सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्ने गणेशसँग पत्नी र तिम्ल्याहाको हेरचाह गर्न सासु पवित्रादेवी साह पनि छन्। यतिमात्र होइन उनीसँग अस्पतालमा छन् अर्का छोरा– चारबर्से नितेश। 

‘बेटी बचे पो पढ्ने’

अस्पतालमा यी शिशु र साह दम्पतीको अवस्था हेरेर प्रदेश सरकारलाई दोष दिन थालेका छन्। अस्पताल परिसरमा भेटिएकी जनकपुर–४ कि सुनीता यादव भन्छिन्, ‘सरकार कहाँ छ अहिले ? यतिबेला यी बच्चा बचाए मात्र पढ्न पाउनेछन्। नत्र बेटी बचाउ बेटी पढाउको के अर्थ ?’

साह दम्पतीले अस्पतालबाट शिशु घर लैजान नसकिरहँदा अस्पताल पुग्ने अधिकांशले प्रदेश सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानको औचित्यमा प्रश्न गरेका छन्। 

निम्न मध्यम परिवारले नवजात शिशुलाई अस्पतालबाट लैजान नपाउँदा प्रदेश सरकारको अभियान घोषणामा मात्र सीमित भएको गुनासो उठ्न थालेको हो। कतिपयले छोरी लक्षित प्रदेश सरकारको कार्यक्रम फितलो रहेको र नारामा मात्र सीमित रहेको टिप्पणी गरेका छन्।

त्यसैगरी धनुषाधामकी सोनावती देवीले आक्रोश पोखिन्, ‘के यही हो प्रदेश सरकारको बेटी बचाउ, बेटी पढाउ ?’ अस्पताल प्रदेशमातहत भएकाले यस्ता कुरामा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउँछिन् उनी।

नागरिक समाजका अगुवा मुरलीमनोहर मिश्रले साह दम्पतीबारे बुझेर सकेको सहयोग गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्