सफाइको नशा : रसायनशास्त्रका स्नातकोत्तर धीरेन्द्र फोहोर टिप्दै राजधानीसम्म



काठमाडौं : मानिस मदिरा वा गाँजा वा विभिन्न खालका लागुऔषधको नशामा डुब्छन्, यसरी नशामा डुब्नु साह्रै खराब मानिन्छ। तर कुनै कुनै नशा यस्ता हुन्छन्, जसमा डुब्नु घरपरिवारका लागि मात्र नभएर समाजकै लागि उपयोगीसमेत हुन्छ। यस्तै गाउँघर, सडक, सहर र नदीको सरसफाइको नशामा डुबेका छन् धीरेन्द्र शाह। धीरेन्द्रलाई सरसफाइको नशा यसरी लागेको छ कि उनी सिरहादेखि ललितपुरको गोदावरी नदीसम्म आइपुग्छन्।

सिरहाबाट ३ वर्षअघि सफाइ अभियान थालेका उनले सप्तरी, चितवन, जनकपुर, बर्दिबास, लालबन्दीसम्म मात्र सरसफाइ गरेका छैनन्, ललितपुरको गोदावरी खोलाको सफाइमा डटेका छन् । सयभन्दा धेरै ठाउँमा सफाइ गरिसकेका उनी जहाँ सफाइ अभियान चलाउन जान्छन्, एक दिनअघि त्यहाँ पुगेर जनचेतना जगाउने काम पनि गर्छन् । 

संसारबाट आराम नलिउन्जेल आफू सरसफाइ अभियान नछाड्ने दृढता व्यक्त गर्छन् उनी । तर रसायनशास्त्रका स्नातकोत्तर उनी किन सफाइमा होमिए त ? ‘सफाइ अभियानमा लागिरहन सोचेजस्तो सजिलो कहाँ छ र ?’, उनी भन्छन्, ‘विदेशीले नेपालको कुनै एक ठाउँमा फोहोर देख्दा पनि पूरै नेपाल फोहोर छ भन्छन्, सबै नेपालीलाई फोहोरी भन्छन्, सुन्दा मन धेरै दुख्छ ।’ 

तर यसरी सफाइ गर्दै हिँड्छु भन्ने उनी आफैंलाई पनि लागेको थिएन । सुरुमा तराईका सडक छेउछाउ मानव मलमुत्र देखेपछि  सबैभन्दा पहिले सडक सफा गर्नु पर्छ भन्ने उनलाई लाग्यो । तर सडक सफा गर्न भन्दा पनि त्यहाँ मलमुत्र त्याग गर्न रोक्न सजिलो थिएन ।

‘जसरी काठमाडौं आएपछि पशुपतिको दर्शन गर्नु पर्छ भन्ने थियो, त्यसैगरी तराइमा खुल्ला क्षेत्रमा दिसा गर्नु पर्छ भन्ने परम्परा नै थियो’, उनले भने, ‘जनचेतनाको कमी, कमजोर आर्थिक स्थितिका कारण शौचालय नै थिएन । कसै कसैको घरमा हुन्थ्यो । धेरै मानिस भएकाले खुल्ला ठाउँमा दिसा गर्थे ।’ उनलाई भने कसरि सफा गर्ने लागिरहेको थियो । 

त्यसैबेला सरकारले देशलाई खुल्ला दिसामुक्त क्षेत्र घोषण गर्ने अभियान थाल्यो । त्यो अभियानले पनि उनलाई सघायो । सिरहाका निवर्तमान सिडिओ विजयनारायण मानन्धर र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्याम ज्ञवालीको सक्रियतामा र सहकार्यले उनलाई सफाइ अभियान नै सञ्चालन गर्न बल प्रदान गर्‍यो ।

सिरहाका सबै विद्यालयमा गएर विद्यार्थीमाझ जनचेतनामूलक कार्यक्रम गरे । बिहान जिल्ला प्रहरी कार्यालयको सहकार्य र नेपाल प्रहरीको संयुक्त आयोजनामा बाटोमा दिसा गर्नेलाई सम्झाउन प्रयास गरे । त्यसपछि टोलटोलमा उनी आफैंले सफाइ अभियान सुरु गरे र सिरहालाई प्रदेश २ को पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न सफल पनि भए । 

सुरुमा सडकको दिसा सफा गर्दा नकारात्मक रुपमा लिने उनका सबै साथीभाइ सिरहा खुल्ला दिसामुक्त घोषणा भएको दिन दंग परे र उनलाई केही भए पनि सहयोग गर्न थाले । तर उनलाई भने सिरहा  मात्र सफा गरेर हुँदैन, पूरा देश नै सफा गर्नु पर्छ भन्ने लाग्यो । उनले सफाइ अभियान सञ्चालन गरेको सबै ठाउँमा पहिले र अहिले अकास–पातालको फरक आएको छ । त्यसैगरी जुन जुन ठाउँ खुल्ला दिसामुक्त भएको छ त्यहाँ हैजा, झाडापखालाजस्ता महामारी हत्तपत्त नभएको उनको अनुभव छ । 

माथिल्ला जातकाले फोहोर मात्र पार्ने हो, जता पायो त्यतै दिसापिसाब गर्ने मात्र हो र सरसफाइ गर्ने काम तल्लो जातका मानिसको हो भन्ने धारणा उपल्लो वर्गमा रहेको उनले अनुभव गरेका छन् । उनी भन्छन्, ‘हाम्रो समाजमा फोहोर टिप्ने, सफाइ गर्ने भनेको पिउनले र नपढेका, तल्लो जातकाले मात्र हो भन्ने मानसिकता छ ।’

पढेलेखेकाले फोहोर टिप्न नहुने, जागीर नै खानुपर्ने अझ सरकारी अफिसर नै हुनुपर्ने मानसिकता रहेको उनले जति अरुले अनुभूति गरेका छैनन् होला । किनभने उनको घरपरिवारले पनि त्यस्तै नसोचेको होइन ।

‘म रसायनशास्त्रमा स्नातकोत्तर पढेर सरसफाइ अभियान थालें, साथीभाइ, छरछिमेकी मात्र नभएर घरपरिवारकाले समेत नोकरी नपाएर यसो गरेको हो भनेर सोध्थे’, उनले सुनाए, ‘राम्रो काम पाएन अनि फोहोर टिप्न थाल्यो नभनेका होइनन् । सुरुमा त पत्नीले पनि विरोध गर्थिन् । पत्नीका साथीभाइ, आफन्तले उनलाई दबाब दिए, भन्थे आफ्नो श्रीमानलाई सम्झाउन सकिनाै ? मेरो बुढाले यति पढेको छ उति पढेको छ भन्थ्यौ । तर अहिले हरेक दिन फोहोर टिप्छ रे त ?’

दिसा सफा गरेको, फोहोर टिपेको देखेर उनलाई कतिले बौलायोसमेत भने । ‘साइको भयो क्यार, पागल भयो क्यार, राम्रो डक्टरकोमा उपचार गर्न लैजाउ भनेर पत्नीलाई भन्थे । उनी पनि फ्रस्टेट हुन्थिन्’, उनले पहिलेको स्मरण गर्दै भने, ‘हरेक मानिसको इच्छा हुन्छ मेरा छोराछोरी, बुहारी, बाआमा, पति वा पत्नीले राम्रो काम गरुन्, नाम कमाउन्, पैैसा कमाउन् । त्यो स्वाभाविक पनि हो।’ तर उनी भने त्यसविपरीत काम गरिरहेका थिए ।

उनलाई विश्वास थियो समर्पण भए एक दिन अवश्य सफल भइन्छ । प्रतीक्षाको फल मिठो हुन्छ भनेर निरन्तर काम गरिरहे, देशभरि सफाइ गर्दै गए र सफलता प्राप्त गरे । बल्ल उनका घरपरिवार, पत्नी, आफन्त र साथीभाइ गौरवान्वित हुन थाले । यसबाट उनलाई पनि थप ऊर्जा मिल्यो सफाइ अभियानमा । 

सबै उनलाई सोध्छन्, सडक सफा गरेर घरपरिवार कसरि पाल्छस् । उनलाई अहिलेसम्म घरपरिवारको खासै चिन्ता गर्नु परेको छैन । खेतीकिसानी गरेरै जीविकोपार्जन गरिरहेका छन् । तराईमा विशेष गरेर बिहान बेलुकी खेतबारीमा काम गरिन्छ र दिउँसोको खाली समय सदुपयोग गर्न पनि उनी सफाइ अभियानमा लागे । उनी भन्छन्, ‘सरसफाइ लामो समय टिक्दैन किनकी सबै जना एकजुट हुने हो भने २ वर्षमा नेपाल सफा हुन्छ । सबैले जथाभावी फोहोर नफाले आफैं सफा रहन्छ । सफाइमा महिला सहभागिता बढ्नु आवश्यक छ ।’ 

सफाइ अभियानमा महिला उपस्थिति न्यून हुने र अनि पुरुषवादी सोचका कारण नेतृत्व पुरुषले नै गर्नुपर्छ भन्ने मानसिकताले यस्ता अभियानमा महिला नआउने उनी बताउँछन् । ‘महिलाकै नेतृत्वमा सफाइ अभियान हुनु पर्छ । किनभने घरको सरसफाइ हाम्रा आमा, दिदी, हजुरआमाले गर्दै आइरहनु भएको छ’, उनले भने, ‘अब घरबाहिरको सरसफाइको नेतृत्व महिलाले लिने समय आएको छ ।’

हामीले घरको सड्ने गल्ने फोहोर कम्पोस्ट मल बनाउन सके सफाइ अभियान सञ्चालन गर्नै नपर्ने धीरेन्द्रको धारणा छ । सहरमा मल बनाउन कठिन छ तर पछिल्लो समय मल बनाउन छतमा राख्न मिल्ने प्लास्टिकका डिब्बा आएका छन् । त्यसलाई साढे ६ सय रुपैयाँ पर्छ ।

उनी सुझाउँछन्– 'घरमा जति सड्ने गल्ने फोहोर निस्कन्छ । त्यो फोहोर त्यसमा राखिदिनुस् र एउटा केमिकल पाइन्छ । थोरै पानी मिसाएर केमिकल ५ दिन त्यसमा राखिदिने । त्यसले फोहोर छिटो गलाउँछ । त्यसमा माथिबाट फोहोर राख्दै जाने र तलबाट कुहिएर बनेको मल निकालेर फूलका गमला वा करेसाबारीमा हाल्न सकिन्छ । त्यसैगरी प्लास्टिकजन्य फोहोर जम्मा गरेर कबाडमा बेचे थोरै भए पनि पैसा आउँछ साथै घरटोल सफा हुन्छ र प्लास्टिकको उपयोग पनि हुन्छ ।'

सडक, गाउँ, नदी सफाइ गरेर नथाकेका धीरेन्द्र भन्छन्, ‘यसरी हामी फोहोर व्यवस्थापन गर्न सक्छौं । त्यसैगरी सरकारले मात्र गर्नु पर्छ भन्नु भन्दा पनि यो हाम्रो पनि उत्तिकै जिम्मेवारी हो । हामीले जथाभावी फोहोर नफाले मात्र पनि फोहोर व्यवस्थापन हुन्छ र देश आफैं सफा रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्