मुक्कुहाङ र अजरक्पा



धेरै अघिको कुरा हो। पृथ्वी र रुखपातको सृष्टि भर्खर भएको बेला थियो। त्यस युगमा मान्छेको उत्पत्ति भएको स्थल मुनातेम्बेमा मानिसहरूलाई अन्नपानी, रुखपात केहीले पनि पुग्न छाडेको थियो। त्यसपछि त पाप, अधर्म र कल झगडा उठ्यो। मुनातेम्बेमा रहन बस्न नसकिने भएर आयो।

त्यसपछि भगवान तागेरा निङवाफुमाङले त्यहाँबाट धर्ममन भएका दाजु र भाइ दुई जनालाई अर्कै नयाँ देशमा जाऊ भनेर बाटो लगाए। ती दुवै नबिसाईकन हिँडेर सोधुङवरक (पोखरी) भन्ने ठाउँमा आइपुगे। त्यसपछि त्यो पोखरीमा पूजा गरे। 

यूमा भगवतीले आफ्नो पिठ्यूँमा ती दुवैलाई बोकेर सेतो चौंरीगाईको पुच्छरमा झुण्डिएर त्यो पोखरी तरे। ज्ञानकी खानी यूमा भगवतीले तिनलाई कञ्चनजंघा र कुम्भकर्णको काखमा झारेपछि मुक्कुहाङलाई यसो भनिन्, ‘अब नयाँ घरमा आइपुगियो, मुक्कुहाङ। तिमीहरू दुवै दाजुभाइले साँध–सिमाना लगाऊ र आफ्ना–आफ्ना जग्गा जानेर भोग गर।’ 

त्यसपछि तिनले वन जंगल फाँड्न थाले। जग्गा समाते, रोके। यूमा भगवतीले मुक्कुहाङलाई खरका मुठा बनाएर साँध राख्न लगाइन्। भाइलाई भने ढुंगाको साँध लाउन लगाइन्। त्यसपछि आगो सल्काउन लगाइन्। तब दुवैले आगो बाले। मुक्कुहाङले लाएको साँध आगोले भेटेर डढिगयो तर भाइले लगाएको ढुंगाको साँध भने नडढीकन त्यसै रह्यो।

यूमा भगवतीले खर डढाइदिएकोमा रिस उठेर मुक्कुहाङले यूमालाई वचन लगायो। यूमाले भनिन्, ‘मुक्कुहाङ नरिसा, म तँलाई तीनवटा शक्ति दिन्छु ।’ यसरी उसलाई फकाइन्। उसलाई तीनवटा वरदान दिएर यूमा अलप भइन्।

तत्पश्चात् मुक्कुहाङ हाङथक्वादेखि अलि यता वान्धाक भन्ने स्थानमा थातथलो बनाएर रहन थाल्यो। त्यहाँ उसले देशवासीहरूसँग तिरो उठाउन थाल्यो। यसरी मुक्कुहाङले तिरो उठाउन थालेपछि उत्तर दिशाको ताप्लेजोङबाट अजरक्पा नामको एकजना आदिवासी आइपुग्यो । मुक्कुहाङले उसँग पनि तिरो माग्यो तर उसले दिन मानेन।

मुक्कुहाङले लुङसेरेम्बो टारमा झारको पासो बनाएर राखेको थियो। भाग्दै जाँदा अजरक्पा त्यही पासोमा ढुन्मुनिँदै प¥यो। मुक्कुहाङले त्यसपछि तराईको मोरङ राज्यको झ्यालखानामा लगेर थुन्यो।

त्यस समयमा मोरङका राजा मोराहाङ र लोप्चेहरूबीच लडाईं भइरहेको थियो । धनुकाँड र खुकुरी खुँडाले काटाकाट मारामार गरिरहेका थिए। 

अजरक्पा भने चित्त नबुझेर दाँत किट्किटाउँदै मनमा सोच्थ्यो, ‘यी लाप्चेहरूलाई मैले जानेको थिएँ नै। के गर्ने, झ्यालखानामा छु।’ अजरक्पाले यसरी मनमा पीर मान्दै गरेको मोराहाङ राज्यका एकजना सिपाहीले सुन्यो। त्यो सिपाहीले उसको मनमा खेलेका सबै कुराहरू मोराहाङलाई गएर सुनायो। 

अजरक्पाको मनभित्रका कुरा बुझौं सोधौं भनेर झ्यालखानाबाट उसलाई निकालीकन दरबारमा ल्याऊ भनेर सिपाहीलाई मोराहाङ राजाले आदेश दिए। त्यो सिपाहीले पनि अजरक्पालाई जेलबाट झिकेर दरबारमा लग्यो। 

मोराहाङ राजाले सोधे, ‘तिमी को हौ ?’ अजरक्पाले उत्तर दियो, ‘ताप्लेजुङको आदिवासी अजरक्पा हुँ।’ मोराहाङले फेरि अजरक्पालाई सोधे, ‘तिमीले जेलभित्र यी लाप्चेहरूलाई मैले जानेको थिएँ, के गर्ने जेलभित्र छु भन्दै मनमा दुःख मान्थ्यौ अरे। हो कि होइन ?’

अजरक्पाले उत्तर दियो, ‘ठीक भन्नुभयो, प्रभु मोराहाङले।’

‘यी सबलाई एकै रातमा मारी सक्छु भन्थ्यौ रे, साँच्चै मार्न सक्छौ ?’, मोराहाङले सोधे। ‘सक्छु, तर म तपाईंबाट यौटा कुरा भने माग्छु। प्रभु, तपाईंले त्यो दिनै पर्छ’, अजरक्पाले भन्यो। राजाले पनि हुन्छ भने।

अजरक्पाले यौटा कट्टी माग्यो। मोराहाङले सिपाहीहरूलाई अजरक्पाका लागि ६ भारी कट्टी ल्याइदिनु भनी हुकुम दिए। हुकुमबमोजिम नै सिपाहीहरूले ल्याएर अजरक्पालाई कट्टी दिए। ती कट्टीहरूलाई अब तयार गरौं भनेर उसले सुरु गर्दा त ६ भारी कट्टी सबै भाँचिए। फेरि दरबारबाट ३ वटा कट्टी ल्याइदिए। तिनमा यौटाबाहेक तयारतुमुर गर्दैमा दुइटा त भाँचिइहाले। 

नभाँचिएको त्यो यौटा कट्टी लिएर कालीगाईको दूध दुई अँजुली पिईकन अजरक्पा लाप्चेहरूसँग लडाईं गर्न गयो। ऊ अति शक्तिशाली थियो। अजरक्पा र लाप्चेहरू एकदिन र एकरात लडे। साँच्चै नै पछिबाट त उसले सबै लाप्चेहरूलाई मार्‍यो। 

अजरक्पाको हात रगतले समातेकाले कट्टी त छुट्दै छुटेन। त्यसो हुँदा तातो पानीले भिजाउँदा मात्र पछिबाट छुट्यो। मोराहाङले त्यसपछि के माग्छौै भनी सोधे। अजरक्पाले भन्यो, ‘माथि वान्धाक भन्ने ठाउँमा मक्कुहाङ नामको राजाले तिरो उठाउँछ, त्यसलाई मार्ने हुकुम चाहन्छु। यो काम प्रभुबाट हुन सक्छ कि सक्दैन ?’ मोराहाङले भने, ‘हुनसक्छ।’

मुक्कुहाङ त मोराहाङको भानिज पथ्र्यो। त्यसो हुँदा मुक्कुहाङलाई भगाउन उनले एकजना सिपाही कुदाए। त्यहाँ पुगेपछि उसले भन्यो, ‘मुक्कुहाङ, तिमी अर्कै देशमा भागेर जाऊ। मोराहाङले तिमीलाई मार्नु भनी अजरक्पालाई हुकुम दिएका छन्। लाप्चेहरू मारेर राजाकोमा त्यस्तो बिन्ती गर्ने उसले पहिले नै सुर बनाएको रहेछ। यसैकारणले नै उसले मुक्कुहाङलाई मार्न पाऊँ भनी बिन्ती चढायो। त्यसैले गर्दा तिमीलाई मार्ने हुकुम पाएको छ। अब तिमी यहाँबाट भागीहाल।’ 

मोराहाङले यस्तो समाचार पठाएको सुनेपछि धनुकाँड बोक्ने दुईजना साथीहरूसँग मुक्कुहाङ आफ्नी पत्नी काम्प्याक लिसिकाक फन्थाकसँग सखारै बाटो लाग्यो।

तिनीहरू भिनू खोलालाई फन्को मार्दै उँभो आइरहेका थिए। अजरक्पा पनि तिनलाई पैल्याउँदै पछिपछि आउँदै थियो। सूर्य अस्ताचलमा पुगे, अँध्यारो पनि भयो। मुक्कुहाङ आफ्नी पत्नी र साथीहरूसँग इत्थुङ गढीको थुम्काको फेदीमास्थित हालको पान्थरको पौवा गाउँमा बास बसे। अजरक्पालाई भने वाम्बोङ र हेलाङ गाउँका दोसाँधको साप्सु भन्ने ठाउँमा रात प¥यो। ऊ पनि त्यहीँ ढुंगाको ओढारमा बास बस्यो।

अजरक्पा त पक्कै पनि साप्सुको ओढारमा बास बसेको हुनुपर्छ भनी अड्कल काटिकन मुक्कुहाङले पौवा गाउँबाट नै ताकेर वाण हान्यो। उसले हानेको वाण घु….नु…..नु शब्द गर्दै घन्केर वज्र परेजस्तो गरी त्यो ढुंगामा बज्रियो । यसरी बज्रिँदा ढुंगाबाट मूल फुटेको पानी आजसम्म पनि त्यस ढुंगाबाट बग्दैछ। 

हिजोआज पानीको त्यो देवताले दिएको धारा (माङवाधा) लाई नेपाली भाषामा सीताधारा भन्छन्। वर्षको एकपल्ट त्यहाँ पूजा गरिन्छ। त्यहीँ बर्सैपच्छिे मेलाबजार पनि लाग्छ। विभिन्न गाउँ

ठाउँका मानिसहरू यस मेलामा जम्मा हुन्छन्। बूढापाकाहरूले अजरक्पाले मुक्कुहाङलाई ताकेर (साःप्सुहाङ) हानेकाले त्यो ठाउँको नाम साप्सु (ताक्यो) रहन गएको हो भन्छन्।

अजरक्पा र मुक्कुहाङले धेरै समयसम्म लडाईं गरे तर कसैको जीतहार भएन। त्यसपछि मित्रताको सम्बन्ध गाँसेर दाजुभाइ भए। त्यसपछि मात्र तिनका बीच लडाईं हुन छाड्यो। 

(प्रज्ञा प्रतिष्ठानको २०५७ साल कार्तिक–चैतको बहुभाषी सयपत्री लिम्बू भाषा लोककथा पूर्णांक १२ बाट साभार ।)

प्रतिक्रिया दिनुहोस्