धनुषामा जग्गा विवाद : ट्राफिक प्रहरीले सार्वजनिक जग्गा कब्जा गरेको स्थानीयको आरोप



जनकपुरधाम : आफ्नो जग्गा सुरक्षित गर्ने नाममा धनुषा ट्राफिक प्रहरीले बीच बाटोलाई बाँसको भाटाले घेर्ने थालेपछि निर्वाचित जनप्रतिनिधि र स्थानीयले विरोध जनाएका छन्। जीरोमाइल चौकदेखि पश्चिम दक्षिणमा पर्ने सो स्थान जनकपुर वडा नम्बर ७ र २३ को सिमानामा पर्छ।

ट्राफिकले सडकको बीचमा बाँसको भाटाले जग्गा घेरेको थाहा पाएपछि वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह र २३ का अध्यक्ष सत्रुधन पाण्डेय पुगेर सो काम बन्द गर्न निर्देशन दिएका थिए।

धनुषा ट्राफिकले भने बेला कुट्टीको उक्त जग्गामध्ये आठ कठ्ठा जग्गा भोग चलन गर्ने गरि गुठी संस्थानसँग लिजमा लिने सम्झौंता गरेको जनाएको छ। ट्राफिक प्रमुख दिपक साहका अनुसार ट्राफिकले पैसा तिरेको जमिनबाट नै बाटो फराकिलो गर्न लागिएको भन्दै आफ्नो जमिन सुरक्षित गर्न घेराबारा गर्न लागिएको बताए।

बिना जानकारी एकतर्फी रुपमा सडक बढाएपछि हामीले आफ्नो जमिन मात्र बाँसले घेरेको उनले प्रतिक्रिया दिएका छन्।  यता वडा ७ र २३ का आक्रोशित स्थानीयले भने बाटोमा लगाइएको बाँसको बारलाई हटाइदिएका छन्। ट्राफिक र स्थानीयबीच विवाद बढ्दै गएपछि गुठी संस्थान जनकपुरमा गएर संवाद गरि समस्या समाधान गर्ने वडाध्यक्ष जानकी राम साहले बताए। 

प्रतिक्रिया दिनुहोस्