सरकारले पाँचथरमा १ सय १५ घर बनाइदिने



पाँचथर : जिल्लामा निम्न आर्थिक अवस्थामा रहेका दलित तथा माझी समुदायका व्याक्तिहरूको घर सरकारले बनाइदिने भएको छ। जनता आवास कार्यक्रमअन्तर्गत यहाँका आठ स्थानीय तहका १ सय १५ परिवारका घर बन्ने भएका हुन्। त्यसका लागि जिल्लामा ३ करोड ८१ लाख खर्च हुने प्रदेश सरकारले जनाएको छ।

प्रदेशतर्फको आवास कार्यक्रम र संघबाट हस्तान्तरित आवास कार्यक्रमअन्तर्गत पाँचथरमा पहिलोपल्ट जनताको घर निर्माण गर्न लागिएको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए।  

जनता आवास कार्यक्रमअन्तर्गत जिल्लाका प्रदेश सांसदहरूसहित समितिको शनिबार बसेको बैठकले पालिकास्तरीय संख्या छनोट गरेको छ। कुन वडामा कति घर बनाउने भन्ने कुरा बैठकले टुंग्याएको हो। कार्यविधिअनुसार जिल्लामा यस्तो सहयोग पाउने दलित र माझी समुदाय मात्र परेका छन्। प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत १ मा ५२ र २ मा ६३ वटा घर निर्माण हुने छन्।

निर्वाचन क्षेत्र १ मा प्रदेशबाट २० र संघबाट २६ घर निर्माण हुनेछन्। यस्तै, २ मा प्रदेशबाट २०, संघबाट २४ घर निर्माण गरिने छ। फिदिम नगरपालिकामा २२, फालेलुङमा गापा १३, याङवरकमा ५,  हिलिहाङमा ११ घर बन्ने छन्। यस्तै तुम्बेवामा ११, कुम्मायकमा १६, फाल्गुनन्दमा ११, मिक्लाजुङमा २० घर बन्नेछन्। 

प्रतिक्रिया दिनुहोस्