उपचार केन्द्र बन्दै डोल्पाका तातोपानी कुण्ड



डोल्पा : प्राकृतिक रुपमा रहेका तातोपानीका कुवाहरू डोल्पालीका लागि उपचार केन्द्र बन्ने गरेका छन्। प्राकृतिक रुपमा जमिनमुनिबाट निस्केको तातोपानीबाट बनेका कुवाहरूमा नुहाउनाले छालाजन्य, मुटुदुख्ने, छातीदुख्ने, शरीर दुख्ने, हातगोडा झमझमाउने लगायतका रोगहरू सञ्चो हुने भएपछि तातोपानीका कुवामा मानिसहरूको भीड लाग्ने गरेको छ।

चैत महिना लागेसँगै जिल्लाका त्रिपुराकोट, जुफाल, ल्हाँ, पहाडा, लिकु, सर्मी, कालिका, काइगाउँ लगायतका बस्तीहरूबाट हजारौँ सर्वसाधारण तातोपानीका कुवामा नुहाउन जानेक्रम जारी छ।

ठूलीभेरी नगरपलिकामा पर्ने रुपागाड काइके गाउँपालिकामा पर्ने शहरतारा त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने गाँरापानीमा तातोपानी तथा पहेलो पानीका कुवा रहेका छन्। सदरमुकाम दुनैबाट करिब ६ किलोमिटरको दुरीमा रहेको रुपगाड तातोपानी कुवा सबैभन्दा धेरै सर्वसाधारणको रोजाइमा पर्ने गरेको छ।

पुरुष भन्दा महिला धेरै

तातोपानीका कुवाहरूमा तुलनात्मक रुपमा पुरुष भन्दा धेरै महिलाहरू जाने गरेको पाइन्छ। अन्य महिनामा खेतबारीको कामको चापले गर्दा एकछिन फुर्सद नपाइने भएकाले फागुन र चैतको महिनामा फुर्सदिलो समयको उपयो गर्दै पुरुषको तुलनामा महिलाहरू धेरै पुग्ने गरेको त्रिपुरा सुन्दरी नगरपालिका १ की स्थानीय रुपधनी सार्कीको भनाई छ।

‘तीनबर्ष लगातार आउँदा मेरोे मुटुदुख्ने रोग सञ्चो भएको छ’, रुपधनीले भनिन्, ‘गाउँका सयौँ महिलाहरू पनि तातोपानीमा नुहाँउन आउने गरेपछि विभिन्न रोग सञ्चो भएको छ।’

चार दिनको पैदल हिडेर तातोपानीमा नुहाउन आएकी मुड्केचुला ७ इलकी ६५ वर्षीया लक्ष्मी रोकाया पनि आफूलाई तातोपानीले निकै गुन गरेको बताउँछिन्। ‘तीनवर्ष अघिसम्म हातखुट्टा झमझमाउने रोगले सताएको थियो। तातोपानीमा नुहाउन जान थालेदेखि आराम महशुस भएको छ’, रोकायाले भनिन्।

पोसिलो खानुपर्ने

तातोपानीमा नुहाएपछि शरिर कोमल हुने भएकाले तातोपानीमा नुहाउन जाँदा खसीको मासु, कुखुरा, माछामासु, अण्डा लगायतका पोसिलो खानेकुरा बोकेरै लैजाने गर्छन्। तातोपानीका कुवामा नुहाएर फर्केको केहीदिनसम्म मिठोमसिनो, पोसिलो खानेकुरा खाएर घाममा घण्टौ सुतेर पसिना फाल्ने गर्छन्।

प्रदेश सरकारको संरक्षण

नुहाउनैको लागि वर्षेनी मानिसहरूको भीड लाग्न थालेपछि पर्यटन विकासको प्रचुर सम्भावना बोकेको रुपगाड तातोपानीको संरक्षण थालिएको छ। कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले उपलब्ध गराएको १७ लाखको लागतमा तातोपानीको संरक्षण थालिएको हो। दुईवटा तातोपानीका कुवा, दुई कोठाको शौचालय निर्माण गर्नुका साथै पुल, बाटो मर्मत गरिएको छ।

आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ तातोपानीका कुवाहरूको संरक्षण गर्न थालिएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ। बस्ने ठाउँको अभावमा पानी पर्दा सर्बसाधारणको बिचल्ली हुने गरेकाले आगामी वर्षभित्र कुवा आसपासमा धर्मशाला निर्माण र त्यहाँसम्म पुग्ने बाटो चौडा बनाइने योजना रहेको जुफालका स्थानीय अमरसिंह कठायतले बताए।

भीरको बाटोको कारण रुपगाड तातोपानीसम्म पुग्न कठिनपुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। तातोपानी कुवासम्म सहजरुपमा पुग्नको लागि घोरेटो बाटो मर्मत र प्रचार–प्रचार गर्न जरुरी रहेको कठायतको भनाई छ।

काइकेको तातोपानी कुवा ओझेलमा

संरक्षण र संवर्द्धनको अभावमा सदरमुकाम दुनैबाट उत्तरी क्षेत्रमा पर्ने काइके गाउँपालिकाको शहरतारामा रहेको तातोपानी कुवा पछिल्लो समय आझेलमा पर्दै गएको छ। समुन्द्री सतहबाट ३ हजार मिटरको उचाइमा भोज पत्रको जंगलमा रहेकोे तातोपानी ओझेलमा पर्न थालेको हो।

मानिसहरू नुहाउनको लागि जाने भएतापनि कुवा तथा धाराको ब्यवस्थापन राम्रो नहुँदा धेरै मान्छेहरू चाहेर पनि आउन नसकेको स्थानीय ओमरोका मगरले बताए। डोल्पा जिल्ला मात्रै नभई छिमेकी जिल्ला रुकुम र जाजरकोटका मानिसहरू समेत रुपगाड तातोपानीमा नुहाउन आउने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्