देवीको पूजा उपासना गरी चैते दसैँ मनाइयो



काठमाडौं : चैते दसैँको अवसरमा आज देवीको पूजा उपासना गरी मनाइएको छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दसैँ हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् । 

असोजमा मनाइने दसैँलाई बडादशैको रूपमा लिइन्छ भने चैत शुक्ल अष्टमीमा मनाइने दसैँलाई चैते दसैँ । यो दसैँ पनि असोज कात्तिकमा मनाइने मुख्य दसैँ जस्तै हो । पहिले पहिले मुख्य दसैँ चैतमा मनाउने गरिन्थ्यो । तर यो समयमा गर्मी मौसम हुने, खडेरी पर्ने, मौसम बदली साथै दसैँको भोजन र हिँडडुलले धेरै मानिस बिरामी परेपछी दसैँलाई अगाडि सारिएको संस्कृतिविद् हरिप्रसाद गौतमले बताए । 

चैते दसैँमा पनि दुर्गा भवानीको पूजाआजा गर्ने, आफन्तजनसँग भेटघाट गर्ने, खानपिन गर्ने र भगवान् राम जन्मिएको तिथि ‘राम नवमी’ विशेष उल्लासका साथ मनाउने गरिन्छ । आजकै दिन मर्यादा पुरुषोत्तम श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकेर अयोध्या फर्किएको मानिन्छ ।

आफ्नी श्रीमती सीतालाई हरण गरेको बदला लिन तथा दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान् श्री रामले रावणको वध गरेका थिए । त्यसैले आजै राम अनि दुर्गा लगायत अन्य देवीदेवताको पनि पूजा गरिन्छ ।

चैते दसैँको अवसरमा देवी मन्दिर तथा घर–घरमा दुर्गा सप्तशती, देवी भागवत, कालिका पुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने चलन रहेको संस्कृति विद् गौतमले बताए । ‘पछिल्लो समय मनाउने विधि, प्रक्रिया र पद्धतिमा कुनै फरक छैन तर कसैले मनाउने, कसैले नमनाउने मनाए पनि आफ्नै तरिकाले मनाउने पनि गर्छन् ।’ उनले भने, ‘पछिल्लो समय चैते दसैँ हो कि हैन भन्ने भ्रम पैदा हुन थालेको छ । वास्तविक दसैँ भनेको असोजमा मात्र हो भन्ने गरिन्छ, जुन गलत हो ।’ संस्कृति र परम्परालाई यस्तै चाडपर्वले जोगाइराख्न मद्दत गर्ने भएकाले नयाँ पुस्ताले यो विषयमा विशेष भासो राख्न्पर्ने उनको भनाइ छ । 

चैते दसैँमा काठमाडौंको भद्रकाली, शोभा भगवती, दक्षिणकाली, गुहेश्वरी, सङ्कटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो लागेको थियो । शक्तिस्वरुपा भगवतीको आराधना गर्नाले जस्तोसुकै सङ्कटबाट पनि पार पाउन सकिने सप्तशती, चण्डी, देवी भागवत, कालिका पुराण आदिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्