२०७५ मा जग राख्यौँ, ०७६ मा विकास र समृद्धिका इँटा थप्छौँ : मुख्यमन्त्री गुरुङ



म्याग्दी : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वर्ष २०७५ गण्डकी प्रदेशको जग निर्माणको वर्ष भएको बताएका छन् ।

नयाँ वर्ष २०७६ को अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले वि.सं. २०७५ गण्डकी प्रदेश सरकारका लागि जग निर्माणको महत्त्वपूर्ण वर्ष भएको र २०७६ साल गण्डकी प्रदेशको विकास र समृद्धिको लागि महत्त्वपूर्ण वर्ष हुने बताएका हुन् ।

बितेका वर्ष विभिन्न चुनौतीका बाबजुद पनि प्रदेशको विकास र समृद्धिका लागि जग निर्माणको महत्त्वपूर्ण वर्षका भयो मुख्यमन्त्री गुरुङले भनेका छन् ‘प्रदेशको विकास र समृद्धिमा हाम्रो पौरखले थप्न सकेका थोरै मात्र सुरुवाती ईटाहरु जनताले देख्न पाएका छन् । अहिले निर्माण गरेका कानुनी र संरचनागत जग बलियो र मजबुत भएकाले नयाँ वर्ष २०७६ मा विकास र समृद्धिका धेरै इटाहरु थप्न सफल हुनेछौ ।’

सबल र समृद्ध गण्डकी प्रदेश बनाउने बताउँदै मुख्यमन्त्री गुरुङले त्यसका लागि प्रदेशका जनताको साथ, समर्थन र रचनात्मक सुझावको आशा गरेका छन् । बितेको वर्षबाट नकारात्मक र सकारात्मक दुवै शिक्षा लिएर अगाडि बढ्ने वताउदै उनले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई मूर्त रूप दिन आफ्नो क्षेत्रबाट योगदान दिन अपिल गरेका छन् ।

नयाँ वर्षको अवसरमा सबैलाई नयाँ जोस, जाँगर र सृजनाका साथ आ–आफ्नो कर्मक्षेत्रमा जुट्न आव्हान गर्दै मुख्यमन्त्री गुरुङले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्