अमेरिकी विदेशमन्त्री पोम्पेओ पेरुमा 



एएफपी,लिमा : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शनिबार पेरु पुगेका छन् । विभिन्न चारओटा ल्याटिन अमेरिकी देशहरुको भ्रमणको क्रममा उनी शनिबार पेरु पुगेको समाचारमा जनाइएको छ । उनले यी ल्याटिन अमेरिकी देशहरुको भ्रमणका क्रममा विशेषगरी भेनेजुएलाको सङ्कटका विषयमा भ्रमण केन्द्रित गरेको पनि प्राप्त समाचारमा जनाइएको छ ।

उनले पेरुका राष्ट्रपति मार्टिन विजकारा र विदेशमन्त्री नेस्टोर पोपोलिजियोसँग वार्ता गरेका छन् । विदेशमन्त्री पोम्पेओले आइतबार पेरुका व्यापारिक प्रतिनिधिहरुसँग अन्तरक्रिया पनि गर्ने कार्यक्रम रहेको बताइएको छ ।

 

विदेशमन्त्री पोम्पेओले ब्राजिलका विदेशमन्त्री अर्नेस्टो आरुजोसँग पनि फोनवार्ता गरेका थिए । सो जानकारी अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको हो । सो फोनवार्ताका क्रममा उनीहरुले दुई देशबीचको सम्बन्ध थप विकसित र सुदृढ बनाउने र भेनेजुएलाको विषयमा आपसमा मिलेर समस्या समाधान गर्ने बारेमा कुराकानी भएको पनि अमेरिकी विदेशमन्त्रालयले जानकारी दिएको छ । 

भेनेजुएलाको समस्या समाधानका लागि उसका छिमेकी देशहरुसँग पनि वार्ता गर्ने र उनीहरुको सुझाव र सल्लाह लिएर अघि बढ्ने विषयमा कुराकानी भएको थियो । विदेशमन्त्री पोम्पेओले ल्याटिन अमेरिकी देश पाराग्वेको पनि भ्रमण गरेका थिए । उनी पाराग्वेको भ्रमण गर्ने पहिलो विदेशमन्त्री भएका छन् । उनी शुक्रबार पाराग्वे पुगेका हुन् ।

सो देशमा सन् १९६५ देखि निरन्तर रुपमा निरंकुश शासन व्यवस्था चल्दै आएको छ । त्यस अवसरमा उनले पाराग्वेमा प्रजातान्त्रिक व्यवस्थाको स्थापनाका लागि भएका अभियानहरुलाई प्रेरित गर्ने प्रयास गरेको बताइएको छ । 

त्यसैगरी विदेशमन्त्री पोम्पेओले चिली पुगेर त्यहाँका राष्टपति सेवास्तिन पिनेरासँग भेटवार्ता गरेका थिए । त्यस वार्ताका क्रममा विशेषगरी चिलीको चीनसँगको व्यापारिक सम्बन्धका विषयमा बढी कुराकानी भएको बताइएको छ । 

विदेशमन्त्री पोम्पेओ यस भ्रमणका क्रममा आइतबार कोलम्बिया पुग्ने कार्यक्रम छ । उनी कोलम्बियाको सीमा क्षेत्रीय शहर कुकुता पुग्ने छन् । त्यस क्षेत्रमा उनले कोलम्बियामा रहेका शरणार्थीहरुलाई भेट्ने छन् । ती शरणार्थीहरुको वर्तमान अवस्थाको अवलोकन गर्ने र अमेरिकी सहयोगको बाचा गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । 

यी चार देशको भ्रमणका क्रममा  मुख्य चासो भनेको भेनेजुएलामा हालै भएको नयाँ राष्ट्रपतिको घोषणा र त्यसका कारण उत्पन्न परिस्थितिको बारेमा आवश्यक परामर्श गर्नु रहेको थियो ।भेनेजुएलाका राष्ट्रति निकोलास मोदुरोलाई एक्लाउने र हालै राष्ट्रपतिका रुपमा आएको त्यहाँका विपक्षी नेताको पक्षमा समर्थन जुटाउनु उनको भ्रमणको मुख्य उद्देश्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्