विश्वकप छनोटमा मलेसियामाथि नेपालको सानदार जित



काठमाडौं : आइसिसी यु–१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिता नेपालले सानदार जित हात पारेको छ । आफ्नो तेस्रो खेलमा नेपालले सोमबार आयोजक मलेसियामाथि ८ विकेटको जित हात पारेको हो ।

मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १३ ओभरमा २ विकेटको गुमाएर भेट्टायो । नेपालको जितमा ओपनर रित गौतमले ४५ बलमा ५ चौकाको मद्दतमा नटआउट ३९ रन जोडे । आसिफ शेख २६ रनमा आउट भएपछि मैदान छिरेका कप्तान रोहित पौडेलले पहिलो बलमै छक्का प्रहार गर्दा नेपालले लक्ष्य पार गरेको थियो । नेपालका लागि पवन सर्राफले १४ बलमा १९ रन जोडे ।

त्यसअघि मलेसिया ३३.५ ओभरमा ९२ रनमा अलआउट भयो । मलेसियाका लागि लेजाट ड्यानियलले ३७ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए । बलिङमा नेपालका कुशल मल्ल र पवन सर्राफले ३–३ विकेट लिए । कमलसिंह ऐरीले २ विकेट आफ्नो नाममा लेखाए ।

प्रतिक्रिया दिनुहोस्