चितवन–तनहुँ जोड्ने मुग्लिनको पुल अन्तिम चरणमा



चितवन : पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिन र तनहुँको बेनिटार जोड्ने पुल निर्माण अन्तिम चरणमा पुगेको छ। अहिले सञ्चालनमा रहेको पुलनजिकै अर्को पुल निर्माण गरिएको हो।

पुल निर्माणको काम सम्पन्न हुने क्रममा रहेको सडक विभागको पुल महाशाखाका प्रमुख दीपक भट्टराईले जानकारी दिए। पुल निर्माणको सबै पूर्वाधार तयार भइसकेको छ। स्ल्याबसमेत बनिसकेको र थोरै काम मात्र बाँकी रहेको उनले बताए। ‘मसिना काम बाँकी छन्, सबै काम सम्पन्न गरेर वैशाखभित्रै पुल सञ्चालन गर्ने योजना हो,’ उनले भने, ‘सञ्चालन गर्नुअघि पुल परीक्षण गर्नुपर्ने हुन्छ।’

त्रिशूली नदीमाथि बन्दै गरेको आर्क ब्रिज नेपालकै नमुना भएको उनी बताउँछन्। नेपाली इन्जिनियरले नै डिजाइन गरेर र नेपालीले नै बनाएको दोस्रो आर्क ब्रिज त्यही भएको उनले दाबी गरे। यसअघि परीक्षणका लागि काठमाडौं उपत्यकामा नेपाली इन्जिनियरले आर्क ब्रिज बनाएका थिए। नेपालमा यसअघि पनि आर्क ब्रिज बनाइएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डमा पनि आर्क ब्रिज रहेको छ।

यसअघि विदेशीहरुले डिजाइन गरेर बनाइएको आर्क ब्रिज छोटो भएकाले मुग्लिनमा निर्माणाधीन पुल देशकै नमुना रहेको पुल महाशाखा प्रमुख भट्टराईको भनाइ छ। ‘सिंगल स्पानमा बनाइएको यति लामो आर्क ब्रिज देशकै पहिलो हो,’ उनले भने, ‘नेपालीकै मेहनत र अनुभव पुलमा लगानी भएकाले हाम्रा लागि नमुना पुल हो।’ पुल निर्माणको जिम्मेवारी इलाइट, एडभेन्चर र लोहनी जेभी कम्पनीले पाएका छन्। पुल निर्माणको काम २०७१ सालबाट सुरु गरिएको हो।

विश्व बैंकको करिब १२ करोड रुपैयाँको लागतमा यो पुल निर्माण भइरहेको छ। पुलको लम्बाइ एक सय ६० मिटर र चौडाइ ११ मिटर रहेको छ। पुल निर्माणको काम ९६ प्रतिशत सकिएको एडभेन्चर कन्स्ट्रक्सन कम्पनीका सिनियर सुपरभाइजर मोतीलाल शर्माले जानकारी दिए। पुलमा रेलिङ बनाउनेलगायत साना काम बाँकी छन्। वैशाख महिनाभित्र निर्माण सम्पन्न भइसक्ने उनले बताए। नेपालमा फरक–फरक मोडलका पुल बनाउने प्रचलन आएकाले आर्क ब्रिज निर्माणको काम नयाँ अनुभव भएको उनी बताउँछन्

नयाँ काम भएकाले निर्माणका लागि तोकिएकोभन्दा बढी समय समेत लागेको उनले बताए। पुल निर्माण गर्ने स्थान साँघुरो र आवश्यक मेसिनरी उपकरण सहज उपलब्ध नहुने भएकाले समेत ढिलाइ भएको उनी बताउँछन्। आवश्यक उपकरण विदेशबाट ल्याएर निर्माणको काम पूरा गर्ने क्रममा रहेको उनको भनाइ छ। ‘नयाँ अनुभव भएकाले काम गर्दा केही अप्ठ्यारो भयो,’ उनले भने, ‘अब निर्माणको सकिन लागेको छ।’ स्टिलको आर्क निर्माण गरेपछि त्यसमाथि ढलान गरिने पुल निर्माण गर्ने डिजाइनअनुसार पुल बनाइएको छ।

अरू पुलको तुलनमा यो डिजाइनले पुल बलियो र टिकाउ हुने मानिन्छ। धेरै सवारीसाधन आवतजावत गर्ने भएकाले मुग्लिनमा आर्क ब्रिज बनाइएको हो। यो पुलमा सवारीसाधन हिँड्दा उत्पन्न हुने कम्पन निकै न्यून हुन्छ। अहिले सञ्चालनमा रहेको पुलबाट दैनिक करिब तीन हजार सवारीसाधनले वारपार गर्छन्।

फराकिलो चौडाइ भएको नयाँ पुल सञ्चालनमा आएपछि सवारीसाधनको दुईतर्फी आवागमन सहज हुनेछ। नयाँ बनाइएको पुलसँगै रहेको पुरानो पुललाई मर्मत गर्नुपर्ने पुल महाशाखा प्रमुख भट्टराई बताउँछन्। ‘पुरानो पुललाई सुधार गर्नुपर्ने, मर्मत गर्नुपर्ने के छ, त्यो हेछौं,’ उनी भन्छन्, ‘प्रयोग गर्न सकिने भए मर्मत गरेर पुल सञ्चालन गर्ने योजना रहेको छ।’ (नागरिक दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्