धादिङबाट ३० नाल भरुवा बन्दुक बरामद



धदिङ : उत्तरी धादिङको विभिन्न क्षेत्रबाट ३० नाल भरुवा बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङको सक्रियतामा जिल्लाको रुवीभ्याली, गंगाजमुना र खनियावास गाउँपालिकाका विभिन्न स्थानबाट बरामद गरिएको हो।

कार्यालयले सञ्चालन गरेको ३५ दिने ‘अवैध हातहतियार संकलन घरदैलो अभियान’ अन्तर्गत सचेतनामलक कार्यक्रमको आयोजना गरि संकलन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय धादिङमा ल्याइएका ३० थान भरुवा बन्दुकरू गत चैत २२ गतेपछि संकलन भएका हुन्।

यसअघि गत चैत्र २१ गते उत्तरी धादिङको खनियावास गाउँपालिकाबाट मात्रै १६ थाल भरुवा बन्दुक संकलन गरिएको थियो। संकलन भएका भरुवा बन्दुकहरूमा रुवीभ्याली गाउँपालिकाबाट १० नाल, खनियाबास गाउँपालिकाबाट १६ नाल र गंगाजमुना गाउँपालिकाबाट ४ नाल रहेका छन्। संकलन भएका सबै भरुवा बन्दुकहरू स्थानीयबासीहरूले स्वतस्फुर्त नजिकको प्रहरी चौकीमा बुझाएका हुन्।

गाउँ गाउँमा रहेका अवैधानिक हातहतियार खोज्ने अभियानकै लागि प्रजिअ पाण्डेयकै नेतृत्वमा सशस्त्र प्रहरी जिल्ला हेडक्वाटर धादिङवेशी र नेपाल प्रहरीको संयुक्त टोली केही समय अघि उत्तरी धादिङ गएका थिए। टोलीले समाजमा शान्ति सुरक्षा कायम गराउनको लागि गाउँ गाउँमा भएका अवैधानिक हातहतियार र भरुवा बन्दुकहरू सुरक्षा निकायलाई बुझाउनको लागि आग्रह गरिएको प्रजिअ पाण्डेयले बताए।

‘अवैधानिक हातहतियार बुझाउनका लागि हामी स्वंय नै गाउँमा गएर सचेतनामूलक कार्यक्रम संचालन गरेका थियौँ’, प्रजिअ पाण्डेयले भने, र्‘धादिङ प्रहरीले पनि गाउँ गाउँमा समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ।’ गृह मन्त्रालय मार्फत प्रशासन र प्रहरीले व्यक्ति विशेषले राखेका अवैध हतियार बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो। सार्वजनिक सूचना बेवास्ता गरी अवैध रुपमा विष्फोटक पदार्थ र हतियार राखेको भेटिए हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाही गरिने एसपी वैदवारले जानकारी दिए।

‘विभिन्न संचारमाध्यममार्फत अवैध हातहतियार बुझाउन अनुरोध गरेका छौँ’, एसपी वैदवारले भने, ‘स्थानीयहरुले कुरा नबुझेका कारण हतियार बुझाउन डर मान्ने गरेका छन् त्यसैले गाउँगाउँमा अभियान संचालन गर्न थालेपछि हतियार बुझाउन थालेका हुन्।’ संकलन गरिएका बन्दुकमध्ये धेरैजसो बन्दुकहरू हाल प्रयोग गरिरहेको अवस्थामै रहेको डिएसपी बैदवारले बताए।

मन्त्रालयले जारी गरेको समयअवधिभर हातहतियार बुझाएमा कुनै कारवाही नहुने र समयावधीपछि हातहतियार बरामद भएमा कानुन बमोजिम कारवाही हुने सुचना गाउँ गाउँमा पुर्याएपछि अवैधानिक रुपमा लुकाएर राखिएका भरुवा बन्दुकहरू बरामद भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिए। धादिङको उत्तरी क्षेत्र सुरक्षा संवेदनशीलताको हिसावले सबैभन्दा बढी असुरक्षित क्षेत्र मानिन्छ।

पटक पटक ब्यक्ति हत्या समेत भएको उत्तरी धादिङमा गत स्थानीय निर्वाचनपछि मात्रै प्रहरीले खनियाबाँस र गंगाजमुनाबाट ३ अमेरिकन स्वचालित रिभल्वर र गोलीहरू बरामद गरि ६ जना माथि मुद्दा चलाएको छ। उत्तरी धादिङमै पछिल्लो एक दशकमा स्थानीय युवाहरू बीच भएका विभिन्न घटनामा ७ जनाको हत्या भएको छ भने ती घटनामा संलग्न ३० जना धादिङ कारागारमा रहेका छन्। त्यस्तै जिल्ला अदातलले सजाय तोकेका १० जना ब्यक्तिहरु फरार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्