सिरिया : उत्तरपूर्वी सिरियाको अल–होल शिविरमा शरण लिएका सबैका मुहारमा आक्रोश र आँखामा अनेकौं प्रश्न छन्।
बिबिसीका अनुसार यो शिविरमा धार्मिक कट्टरवादी संगठन इस्लामिक स्टेट (आइएस) लडाकुबाट छुट्टिएका छोराछोरी र पत्नीहरू बस्छन्। उनीहरू सबै अब आफ्नो भविष्य के हुने हो भनेर चिन्तित छन्।
इस्लामिक स्टेटका उग्रवादी विचारधाराबाट यति धेरै प्रभावित भएर सामेल भएका केही लडाकु थिए कि उनीहरूलाई अन्तिम समयसम्म पनि आफूहरू अजेय छौं भन्ने लागि रह्यो।
केही यस्ता लडाकु पनि थिए, जो इस्लामिक स्टेट छाडेर पलायन भए तर फर्केर कहिल्यै घर गएनन्। ती लडाकुहरूका पत्नी र छोराछोरीहरू सरकारले खडा गरेको शिविरमा बस्न बाध्य छन्।
तर उनीहरूलाई थाहा छैन, उनीहरू कहिलेसम्म बास बस्न पाउँछन् र कहिले उनीहरूलाई कस्तो स्थितिमा त्यहाँबाट जाऊ भनिनेछ।
शिविरमा बसिरहेकी एक मोरक्कन–बेल्जियन महिला उम-उस्माले ६ वर्षदेखि सिरियाली महिला र बालबालिकालाई सहायता गरिरहेको बताइन्। उनले सघाएकामध्ये अधिकांश आइएस लडाकुका छोराछोरी र पत्नी छन्।
नकाब लगाउने पूर्वनर्स उस्मा अनुहारबाट नकाब हटाउँछिन् र भन्छिन्, ‘स्वेच्छाले लगाएकी हुँ। बेल्जियममा म नकाब लगाउन पाउँदिनथें, यहाँ भने लगाउँछु। किनभने मलाई लगाउने इच्छा छ।’
अल–होल शिविरको कुरा गर्दा अहिले त्यहाँ बस्नेको संख्या ११ हजारबाट बढेर ७० हजार पुगिसकेको छ।
पूर्वनर्स उस्माले पनि आइएससँग काम गरिसकेकी छन्। जुन संगठनले आफ्नो देशमा आक्रमण गर्यो, त्यही संगठनसँग किन काम गरेको भन्दै मानिसहरू पूर्वनर्स उस्मासँग सोध्छन्। उनी यस्ता प्रश्नहरूको कुनै जवाफ दिन चाहँदिनन्।
सन् २०१६ मा ब्रसेल्समा भएको आइएस आक्रमणबारे कुनै क्षमा माग्न चाहन्नन्। ब्रसेल्स आक्रमणमा ३२ जना मारिएका थिए।
तारोमा नवजातहरू
आइएस लडाकुहरू आफूलाई जोगाउने अन्तिम उपायका रूपमा आफ्नो परिवार (पत्नी र छोराछोरी)लाई प्रयोग गर्ने गर्थे।
‘एक दिनमा कम्तिमा पनि २ हजार मान्छे मारिन्थे’, आइएसमाथि भएको आक्रमणबाट उम्किएका एक इराकी युवकले बताए, ‘आइएस लडाकुहरू आफ्नो परिवारको टेन्टसँगै आफ्ना गाडी राख्थे।’
‘हामीलाई थाहा थियो, ती गाडीमा आक्रमण गरिन्छ। हामी लडाकुहरूलाई गाडी अन्तै लैजाऊ भन्थ्यौं तर उनीहरू त्यहीं छाड्थे र त्यसको केहीबेरमै गाडीमा आगो लाग्थ्यो।’
सेना–आइएस लडाकुबीच बागुज इलाकामा लडाइँ सकिएपछि सेनाले कुनै पनि सञ्चारमाध्यम त्यहाँ पुग्नुअघि नै पूरै इलाकाबाट युद्धका सबै अवशेष हटाइसकेको थियो।
६ वर्षकी बालिका नूर पनि त्यही लडाइको सिकार हुन्। उनको मुहारमा विस्फोटको घाउ प्रष्टै देखिन्छ। शिविरस्थित रेड क्रिसेन्ट क्लिनिकमा उनको उपचार भइरहेको छ।
१५ दिनदेखि नूर क्लिनिकका शैयामा सुतेकी छन्। यस्तो लाग्छ कि उनले घाउको सबै दुखाइ सहन सक्ने भएकी छन्। तर अलिकति पनि हल्लिनु प-यो वा दायाँबायाँ फर्किनु प-यो भने दुखाइ सहन नसकेर चिच्याउँछिन्।
अल–होल शिविरमा नूरजस्तै अनगिन्ति घाइते बालबालिका छन्। नूरकी आमा तुर्कमेनिस्तानी हुन्। लडाइँमा उनी पनि घाइते भएकी थिइन्। छोरीको छेउमा बसेर उनी नूरलाई आँखै नझिम्काइ हेरिरहन्छिन्।उनका आँसु सुकिसकेका आँखा हेरेर नै सजिलै थाहा पाइन्छ कि उनका पति मारिइसकेका छन्। उनका पति आइएस लडाकु थिए।
नूर सिकिस्तै भएपछि उनीहरूलाई हस्केह सहरस्थित अस्पतालमा पठाइयो। शिविरमा नूरको एकैछिन खाली के भएको थियो अर्को एउटा घाइते शिशु ल्याइहाले।
कालो ज्याकेटमा बेरिएकी त्यो शिशु हेर्दै यस्तो लाग्छ कि केही दिनअघि मात्र जन्मेकी हुन्। आस्मा नामकी ती शिशुकी दिदी उनीसँग छिन्। दिदी ६ महिनाकी भई भन्छिन्।
बागुज क्षेत्रमा करिब १ सय ६९ बालबालिका मरेको अनुमान छ। यसको साथै पश्चिमी देशहरूले त्यहाँ बाँकी रहेका केटाकेटी र महिलालाई अलपत्र छाडिदिने डरलाग्दो जोखिम छ।
शिविरमा छाडिएका र बाँकी बालबालिका अझै पनि कट्टरपन्थी परिवारको रेखदेखमा छन्। भविष्यमा ती बालबालिकाहरूलाई पनि आइएसकै जस्तै कट्टरतावादी भावना नसिकाइएला भनेर कसरी भन्न सकिन्छ र !
जीवित रहेकाहरूलाई ट्रकमा कोच्दै हजारौंको संख्यामा तातो मरुभूमि पार गर्दै अल–होलतिरै धमाधम ल्याइँदै छ।
शिविरमा भएका विदेशी महिलाहरूलाई सुरक्षाकर्मीको अनुगमनमा बेग्लै राखिन्छ। यसबीच शिविरभित्रै रहेका उनीहरूबीच पनि तिक्तता बढ्न थालेको छ।
एक जना सुरक्षाकर्मी शिविरका केही बासिन्दातर्फ संकेत गर्दै अघिल्लो दिन आफूलाई उनीहरूले ढुंगामुढा हानेको बताउँछन्।
शिविर पस्ने मूलगेटमा नै फोहोरी तरिकाले प्याक गरिएको मासु भरिएका ब्याग लस्करै राखिएका छन्। शिविरमा शरण लिएका महिला विभिन्न देशका छन्, कोही ब्राजिलका त कोही, जर्मनी, फ्रान्स, मोरक्को, सोमालियालगायत देशका।
१९ वर्षीया जर्मन लियोर्ना मेसिङ अल–होल शिविरमा ट्युनिसिया र रुसका महिला सबैभन्दा धेरै भएको बताउँछिन्।
लियोर्ना १५ वर्षकै उमेरमा आइएसमा सामेल भएकी थिइन्। उनले अर्को एउटा कट्टरपन्थी जर्मन लडाकुसँग बिहे गरिन्। उनी त्यसको तेस्री पत्नी बनिन्। अहिले भने उनको लडाकु पति कुर्दिस जेलमा छ।
अहिले आएर लियोर्ना पछुतो मान्छिन्। उनलाई लाई पहिलेको आफ्नो निर्णयमा पश्चाताप गर्दै भन्छिन्, ‘आइएसमा भर्ती भएको ६ महिनापछि मैले बुवासँग याचना गरें। बुवाले मलाई लैजान एक जना मानिस पठाउनुभयो तर आइएसका लडाकुले उसलाई मारिदिए। अनि मलाई पनि जेलमा कोचे।’
लियोर्नाको काखमा दुईमहिने शिशु खेलिरहेको थियो। यो उनको दोस्रो सन्तान थियो। उनी यहीं बागुजमा नै सुत्केरी भएकी थिइन्। सुत्केरी हुँदा उनी एक्लै थिइन, उनको छेउछाउ न त कुनै डाक्टर थिए, न त कुनै नर्स वा अरू कोही।
लियोर्ना अझै आफ्नो लडाकु पतिसँग प्रेम गर्छिन्। अन्तिम क्षणसम्म पतिको प्रतीक्षा गर्छु भन्छिन् उनी।
अल होल शिविरमा शरण लिनेको संख्या निरन्तर बढ्दै छ। अहिले सबैको मनमा उठिरहेको आशंका एउटै मात्र छ, त्यो हो– आइएसको पराजयपछि पश्चिमी राष्ट्रहरूले अल–होल शिविर कहिलेसम्म सञ्चालन गर्छन् ? त्यहाँ शरण लिएकाहरूको भविष्य के ?
(साभार : बिबिसी)