म्याग्दी : भनिन्छ कुनै पनि काम ठूलो र सानो, राम्रो र नराम्रो हुँदैन।’ सफल हुनका लागि नयाँ काम गर्नु पर्दैन। अरुले गरेका काम अलि फरक तरिकाले गर्ने हो भने त्यही कामबाट व्यक्ति सफल हुन धेरै समय लाग्दैन।
म्याग्दीको सदरमुकाम बेनी बजारमा सामान्य व्यवसाय गरेका केही व्यक्तिहरूले माथिको भनाईलाई प्रमाणित गरिदिएका छन्। बेनी नगरपालिका अघि जिप पार्कमा ठेलामा फलफूल व्यापार गर्दै आएका दोलखाका देवनारायण दाहालको दैनिक कमाई ३ देखि ५ हजार रुपैयाँसम्म हुने गर्छ।
१२ वर्षदेखि ठेलामा फलफूलको व्यापार गर्दै आएका दाहाल र उनले ठेलामा राखेको फलफूल पसललाई हेर्दा कतिलाई ‘यस्तो व्यवसायबाट पनि के कमाइ होला र ?’ जस्तो लाग्न सक्छ। तर, तिनै दाहालले फलफूल बेचेर दैनिक ३ हजारदेखि ५ हजार रुपैयाँसम्म कमाइ गर्छन भन्ने कुरा धेरैलाई पत्यार नलाग्न सक्ला।
२०६३ सालमा म्याग्दी छिरेका दोलखाली दाहालले सामान्य लाग्ने यो व्यवसायवाट पत्याउँनै नसक्ने आम्दानी मात्रै गरेका छैनन्, यस्तो महंगीमा सामान्य व्यवसायले साँझ बिहान हातमुख जोर्नै पुग्दैन भन्नेहरूका लागि खाइखर्च, घरभाडा कटाएर वचत गरेको पैसाले १२ वर्षको अवधिमा पर्वत वेनीमा घडेरी किनी घर समेत बनाएपछि ‘देशमा केही छैन’ भनी विदेश जानेहरूलाई एक पटक सोच्न समेत बाध्य बनाइदिएका छन्।
‘दोलखाबाट तीन जनाको परिवारसहित आम्दानीको खोजीमा बनी आएपछि कहिल्यै पनि पछाडि फर्केर हेर्नु परेन’, ५६ वर्षिय दाहाल भन्छन्, ‘यही ठेला नै मेरोलागि बाबुआमा र भगवान बन्यो।’ विभिन्न किसिमका मौसमी तथा वेमौसमी फलफूलको व्यापार गर्दै आएका दाहाल र उनकी श्रीमती बिहान अरु उठिनसक्दा पर्वत बेनीमा रहेको डेराबाट ठेलामा फलफूलराखी ठेला धकेल्दै बसपार्कमा आइपुग्छन्।
ठेलालाई राम्रोसँग अड्याउन नपाउँदै सुरु हुन्छ उनको व्यस्त दैनिकी। आँप, केरा, स्याउ, अनार लगायतका फलफूलले भरिएको उनको ठेलावरीपरी ग्राहकहरू झुम्मिन पुग्छन्। ‘अहिले गाउँगाउँमा नै सबै सुविधाहरू पुगेपछि मान्छेहरु अलि पातलिँदा व्यवसाय पनि घटेको छ’, दाहाल भन्छन्।
‘१२ वर्षअघि घर(दोलखा)बाट आउँदा ४–५ हजार मात्र वोकेर आएको थिएँ, यो १२ वर्षको अवधिमा पर्वत बेनीमा घडेरी किनेर एउटा घरसम्म बनाएको छु’, दाहालले भने। ‘त्यो घर पनि भाडामा दिएर अहिले अलिकम भाडाको घरमा कोठा लिएर बसेको छु।’ दाहालले गरेको कुरैबाट प्रष्ट हुन्थ्यो पैसा कमाउने कला र वचत गर्ने सिद्धान्त।