९० मिनेटमा पृथ्वी परिक्रमा गर्ने नेपाली स्याटेलाइट प्रक्षेपण आज, यसरी हेर्न सकिन्छ ‘लाइभ’



काठमाडौं : नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) आज राति अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ । नेपाली झन्डा र विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगोसहितको भू–उपग्रह ‘नेपाली स्याट–१’ आज राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गर्न लागिएको हो ।

संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) जापानमा भूउपग्रह प्रविधि पढ्दै गरेका विद्यार्थीले स्याटेलाइट  तयार गरेका हुन् । अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण गर्न सबै तयारी सकिएको छ ।

स्याटेलाइटको तौल १ किलो ३ सय ग्राम छ । यसको लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर छ । यसले खिचेका तस्बिर र सूचनाले सम्बन्धित ठाउँको प्रारम्भिक अवस्था अध्ययन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । 

यो स्याटेलाइट अन्तरिक्षमा पुगेपछि एक महिना इन्टरनेसनल स्पेस स्टेसनमा (आइएसएस) मा गएर बस्नेछ । यो भनेको अन्तरिक्षमा रहेको स्याटेलाइटहरूको ‘पार्किङ’ जस्तै हो ।

त्यहाँ अन्तरिक्षयात्रीहरूले यसलाई परीक्षण गर्नेछन् । प्राविधिक रूपले उपयुक्त छ भनेपछि बल्ल यो स्याटेलाइट पृथ्वी वरिपरि घुम्न थाल्नेछ । यो स्याटेलाइटबाट नेपालले भविष्यमा पठाउने ठूलो स्याटेलाइटको सञ्चालन कसरी गर्न सकिन्छ भनेर अनुभव पनि प्रदान गर्ने नाष्टको भनाइ छ ।

यो स्याटेलाइट पठाउन लागेको एक करोड ८२ लाख रुपैयाँ सरकारले नै ब्यहोरेको  छ ।  यसले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा यो चारपटक नेपालको आकाशमा आउने नाष्टले जनाएको छ ।

अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाले यो उडानको प्रत्यक्ष प्रसारण गर्नेछ । नासाको वेबसाइटमा गएर प्रक्षेपणको प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्