जानुपर्दैन कालापहाड, गाउँपालिकाले दियो गाउँमै रोजगारी



दैलेख : गाउँमा रोजगारी र आयआर्जनका विकल्प नहुँदा गुराँस गाउँपालिका–३ का सहवीर सुनारले धेरै वर्ष कालापहाड (भारतीय भूमि)मा बिताए। तर, उनी हिजोआज आफ्नै ठाउँमा पसिना बगाइरहेका छन्। ‘म कालापहाड नगएको चार महिना भयो’, गाउँनजिकै सडक खन्दै गर्दा भेटिएका सहवीरले भने, ‘गाउँमै रोजगारी मिलेको छ। परिवारसँगै बसेर काम गर्न पाएको छु। सडक खन्ने काम गर्छु। महिनामा १० हजार रुपैयाँ तलब मिल्छ।’

कालापहाडको दुःख छुटेर परिवारसँग बस्न पाउँदा उनी दंग छन्। दगाउँपालिकाले पूर्वाधार विकास कार्यदल गठन गरी उनीजस्ता स्थानीयलाई काम दिएको छ। कार्यदलमा सहभागी युवाले चार महिनादेखि गाउँपालिकाभित्रका सडक र बाटो खन्ने, सार्वजनिक भवन मर्मत तथा रंगरोगन गर्ने, खानेपानीका पाइप गाड्ने र अन्य पूर्वाधार निर्माणका काम गरिरहेका छन्।

दैनिक आठ घण्टा काम गर्ने उनीहरूले मासिक रूपमा १० हजार रुपैयाँ पाउँदै आएका छन्। सुरुमा आठ वडाबाट १० जनाका दरले ८० युवाले रोजगारी पाएका छन्। यसले मजदुरीका लागि भारत जान बाध्य युवालाई गाउँमै रोकेको छ।

‘हामीलाई काठमाडौंको सिंहदरबार चाहिएन। यसरी आफ्नै गाउँमा पसिना बगाउन पाइयोस्’, गुराँस–४ का प्रेमबहादुर सिंहले भने, ‘स्थानीय सरकार आएपछि गाउँमै रोजगारी मिलेको छ। आफ्नै ठाउँमा पसिना बगाउन पाएका छौं।’ मजदुरीका लागि भारत जानुपर्ने बाध्यता हटेको छ।

‘अर्काको देशमा काम गर्न सजिलो थिएन’, उनले भने, ‘कैयौं रात ज्यान जोगाएर काम गर्नुपथ्र्यो। हामीले नयाँ जीवन पाएका छौं।’ यहाँ श्रम गर्दा गाउँको विकास भएको र परिवारका सदस्यसँग सुखदुःख साट्दै बस्न पाएको उनको भनाइ छ।  याे सम्बन्धी विस्तृत समाचारका लागि आजकाे अन्नपूर्ण पाेस्ट हेर्नुहाेला ।

प्रतिक्रिया दिनुहोस्