छिट्टै सबै कार्यालयमा कर्मचारी पदपूर्ति हुन्छ : मन्त्री पण्डित



नवलपरासी : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले छिट्टै नै सबै कार्यालयमा कर्मचारी पदपूर्ति गरिने बताएका छन्।

नवलपुरको देवचुली नगरपालिकामा निर्माणाधिन ओभरहेड ट्यांकी तथा डिप बोरिङ्गको शिलान्यास समारोहलाई शुक्रवार सम्बोधन गर्दै मन्त्री पण्डितले अहिले प्राविधिक रुपमा नपुग भएमा अर्को व्यवस्था नहुँदासम्म करारमा भए पनि भर्ना गरेर कामलाई अघि बढाउन निर्देशन गरिसकेको जानकारी दिए।

मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीको सेवासुविधा वृद्धि गरिने समेत बताए। उनले संविधान कार्यान्वयन गर्न कर्मचारी समायोजन गरिएकाले कोहि पनि कर्मचारीले खटाएको ठाउँमा जान्न भन्न नपाउने बताए।

‘म प्रदेशमा जान्न, म स्थानीयमा जान्न, म त काठमाडौं छोड्दै छोड्दिन भन्नै पाउनुहुन्न’, मन्त्री पण्डितले भने,‘खटाएको ठाउँमा जानै पर्छ। तोकिएको काम गर्नैपर्छ।’

मन्त्री पण्डितले जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाउने तयारी गरिरहेको बताए। निर्वाचनका बेला घोषणा पत्रमा गरिएका बाचालाई पुरा गर्न सरकार प्रतिबद्ध रहेको समेत उनले जानकारी गराए। 

प्रतिक्रिया दिनुहोस्