हावाहुरीमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारद्धारा राहत वितरण 



वीरगन्ज : प्रदेश सरकारले बारा र पर्सामा आएको विनाशकारी हावाहुरीमा ज्यान गुमाएका मृतक परिवारका सदस्यलाई राहत वितरण गरेको छ।  

बाराको कलैयास्थित जिल्ला समन्वय समितिमा शुक्रबार आयोजित श्रद्धान्जली तथा राहत वितरण कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले १३ जना मृतक परिवारका सदस्यलाई राहत वापत जनही तीन लाख रुपैयाँ र किरिया खर्च वापत २५ हजारको चेक प्रदान गरेका हुन्।

मृतक परिवारका सदस्यहरू बृजित राउत कुर्मी, रामसुरत दास तत्मा, जगदीश यादव, बृजाराज महरा चमार, फैजुल हक मिया, फिरोज मिया अन्सारी, महम्मद रसुल मिया अन्सारी, लालवचन प्रसाद, कलवाती देवी तत्वा, रामबाबु प्रसाद, भीम दास तत्मा र मन्जुर आलम मियाँलाई शुक्रबार मुख्यमन्त्री राउतले रकम वापत चेक प्रदान गरेका हुन।

पहिलो चरणमा १३ जना मृतकका परिवारलाई मात्र चेक प्रदान गरिएको छ। प्रदेश २ को अर्थमन्त्रालयका सचिव राजेश काफ्लेका अनुसार २० जनाको मात्र कागजपत्र आएकाले राहत वितरण गरिएको बताए। बाँकी पीडितलाई कागजपत्र आएलगत्तै राहत दिने उनले जानकारी दिए। हुरीमा परि बारामा २८ र पर्सामा १ गरि २९ जनाको मृत्यु भएको थियो। 

 

प्रतिक्रिया दिनुहोस्