जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा 



बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका १ जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाली राष्ट्रिय झण्डाको झण्डोत्तलन र शालिकको अनावरण गरेका हुन्। सो स्थान अंग्रेज फौजमाथि विजय हासिल गरेको ठाउँ पनि हो।

ऐतिहासिक जितगढी किल्लामा ५५ फिट अग्लो टावरमा ९ फिटको झण्डा फहराइएको छ। ९ फिट उचाईकै कर्णेल उजिरसिंहको तामाको पूर्ण कदको शालिक समेत अनावरण गरिएको छ। त्यस अवसरमा जितगढी किल्लामा राखिएको राष्ट्रिय झण्डा र शालिकलाई नेपाली सेनाले सलामी अर्पण गर्नुका साथै सराय नाच प्रदर्शन गरेको छ।

वि.सं. १८७२ साल वैशाख ७ गते जितगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले जनरल उड नेतृत्वको अंग्रेज फौजमाथि विजय प्राप्त गरेको थियो।

हालसम्म उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको जितगढीमा गत वर्षदेखि बुटवल उपमहानगरले जितगढी विजय उत्सव दिवस मनाउन थालेको थियो। उपमहानगरले ४४ लाख खर्चेर उजिरसिंहको पूर्ण कदको शालिक र राष्ट्रिय झण्डा राखेको हो।

 

प्रतिक्रिया दिनुहोस्