सुत्केरी बचाउन कैदीले गरिन् रक्तदान 



रुकुम : ब्लड बैंक नहुँदा सल्यानमा बिरामी तथा सुत्केरी महिलालाई सधै समस्या हुने गरेको छ। रगत अभावमा बिरामीको ज्यान बचाउनको लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जवानबाट रगत लिने गरिन्छ।

कहिले काही त अस्पतालमा कार्यरत स्वास्थ्यर्कीहरूले नै रगत दिने गरेका छन्। तर, शनिबार जिल्ला अस्पताल सल्यान खलंगामा उपचार गराउन आएकी एक सुत्केरी महिलाको कारागारका कैदीले ज्यान बचाएका छन्।

रोल्पाको गंगादेव गाउपालिका ७ की २१ वर्षीया मनिषा केसी (ओली)लाई कारागारका कैदीले रगत दिएर बचाएका हुन्। जिल्ला अस्पताल सल्यानमा रगत अभावका कारण उपचारमा समस्या भएपछि कैदी पुजा घर्तीमगरले उनलाई रगत दिएको बताइएको छ।

कर्तब्य ज्यान मुद्दामा जिल्ला कारागारमा रहेकी उनले रगत दिएको अस्पतालले जनाएको छ। कैदी घर्तीका साथै सशस्त्र प्रहरीका जवान गोपाल बस्नेत, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी अंकित चन्द, स्टोरकिपर मनोज सिंहले पनि रक्तदान गरेको बताइएको छ।

शुक्रबार बिहान ८ बजे देखि सुत्केरी व्यथा लागे पनि मनिषालाई शनिबार बिहान ७ बजे मात्रै सल्यान अस्पतालमा ल्याइएको थियो। उनको पेटमा रहेको बच्चाको अस्पताल पुग्नुभन्दा पहिले नै मृत्यु भैसकेको डा.प्रदिप शर्माले जानकारी दिए। बच्चाको पेटमा मृत्यु भएकापछि शल्यक्रिया गरेर बच्चा निकालिएको र आमालाई बचाउन रगत धेरै आवश्यक परेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्