मध्यपहाडी लोकमार्गमा ठेकेदारको काम सुस्त



पाँचथर : राष्ट्रिय गौरवको बहुचर्चित पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा ठेकेदारको काम सुस्त देखिएको छ। यहाँका अधिकांश ठेक्कामा म्याद थपिएको छ भने कतिपयले थपिएको म्याद सकिन लाग्दा पनि काम सकेका छैनन्।

पाँचथर–तेह्रथुममा भइरहेको लोकमार्गको काममा ढिलाई भइरहेको हो। सदरमुकाम फिदिममा रहेको आयोजना कार्यालयले हेर्ने भोजपुरसम्मको खण्डमध्ये सबैभन्दा सुस्तकाम तेह्रथुममा भइरहेको छ।

लोकमार्गका सबै खण्डमा २०७५ सालभित्र कालोपत्रे सक्ने योजना थियो। तर, निर्धारित समयमा काम नसकिने देखिएपछि यो मितिलाई सारेर २०७७ साल पुर्याइए पनि ठेकेदारको काम सुस्त देखिएको छ। सकेसम्म समयमा काम सक्नका लागि पहल गरिरहको अयोजना प्रमुख अभिमान मुल्मीले बताए।

लोकमार्गको काममा सुरुवातदेखिनै समयमा काम नसकिएपछि म्याद थप्नु परेको थियो। यो अवस्था अझै कायम छ। पाँचथरको चिवाभञ्याङदेखि दोरम्बासम्मको ५२ किलोमीटर खण्डमा आठवटा ठेक्का सञ्चालनमा रहेका छन्। ५ वटा पुल र तीन वटा सडक स्तरउन्नतीको काम भइरहेको छ।

योमध्ये सडक स्तरउन्नतीका दुईवटा ठेक्का चालू आर्थिक वर्षमा सकिने सम्भावना रहेको बताइएको छ। पाँच पुलबाहेक छागेखोलाको दुई पुलमात्र यो आर्थिक वर्षमा सकिने अवस्था रहेको मूल्मीले जानकारी दिए।

सडकको दुईवटा ठेक्का ग्रावेल स्तरसम्मको काम गर्ने गरी लगाइएको थियो। एउटा ठेक्का समयमा काम नभएकाले जरीमाना लगाइएको  आयोजना कार्यालयले जानकारी दिएको छ। पाँचथर खण्डमा कालोपत्रेका लागि ठेक्का लगाउने योजना भएकाले पुराना ठेक्का सकिनु आवश्यक रहेको इन्जिनियरहरू बताउँछन्।

तमोरदेखि तेह्रथुम सदरमुकाम म्याङलुङसम्मको ९२ किलोमीटरमा कालापेत्रको काम साह्रै सुस्त छ। तेह्रथुममा दुई पुलसहित ११  वटा ठेक्का छन्। तमोरदेखि सक्रान्तिसम्मको २५ किलोमीटरमा ४ किलोमीटरमात्र कालोपत्रे भएको छ। यहाँ लगाइएको ठेक्काको म्याद असार समान्तमा सकिँदै छ। 

प्रतिक्रिया दिनुहोस्