समृद्धिको युग सुरु : मुख्यमन्त्री राई



भोजपुर : प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको युग सुरु भएको बताएका छन्। संघीयता लागू भएर तीन तहको सरकार बनेसँगै देश समृद्धिको बाटोमा लम्किएको उनको भनाइ थियो।

भोजपुर सदरमुकामलाई टक्सार विमानस्थलसम्म जोड्ने सडकको शिलान्यास गर्दै मुख्यमन्त्री राईले एक वर्ष नीति निर्माण तथा संरचना तयार गर्दैमा बितेको र यस वर्षदेखि देशमा विकासको युग सुरु भएको बताए।

उनले भने, ‘संविधानप्रति असन्तुष्टि जनाउनेहरू, छुट्टै मधेश राज्यको माग गर्नेहरू आज सहमतिको बाटोमा आइसकेकाले अब देश समृद्धिको बाटोमा लम्किएको छ। तपाईंहरुले विकास हुँदैन कि भनेर शंका मान्नु पर्दैन।’

समृद्ध र नमूना प्रदेश बनाउन दीर्घकालीन कार्ययोजना बनिरहेको र त्यसलाई छिट्टै सार्वजनिक गर्ने उनको भनाइ थियो। उनले आगामी वर्षको बजेटबाट संघीय सरकारले वृद्ध तथा अशक्त नागरिकको भत्तामा वृद्धि गर्ने बताए।

स्वास्थ्य, शिक्षा, यातयात तथा पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण तथा टेम्केडाँडामा भ्यू टावर निर्माणको चाँडै शिलान्यास गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्