बुटवलमा गगन थापाको कटाक्ष : विष्णु पौडेलले धन्‍न पशुपतिनाथ किनेनछन्



बुटवल : नेपाली कांग्रेसका नेता गगन थापाले व्यक्तिको नाममा लगिएका सबै सरकारी जग्गा फिर्ता गरिनुपर्ने बताएका छन् । बालुवाटारस्थित ललितानिवासको जग्गा पनि तत्काल फिर्ता ल्याउन सरकार सक्रिय हुनुपर्ने उनलले बताए । 

नेता थापाले ललिता निवासको जग्गा किन्‍नेलाई प्रधानमन्त्रीले जोगाउन लागेमा भोली बालुवाटार पनि बिक्री हुने दाबी गरे । ललिता निवासको जग्गा खरिदमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलको गृह जिल्लामा पुगेर गगन उनैमाथि खनिएका हुन् । 

नेकपा महासचिव विष्णु पौडेलको गृहजिल्ला रुपन्देहीस्थित नेपाली कांग्रेस रुपन्देही क्षेत्रं नं. ४ को बुटवलमा गरिएको सम्मेलनमा थापाले व्यंग्य गरेका हुन् । ‘काठमाडौंबाट निर्वाचित भएको सांसद यहाँ आएको छु', उनले भने, 'तपाईँहरुको मत पाएर विजयी मेरा साथी सांसद (विष्णु पौडेलको नाम उच्चरण नगरी)  काठमाडौँको बालुवाटारमा  जग्गा किन्ने क्रममा ठगिनुभएको थाहा पाएँ ।'

बालुवाटारको सरकारी जग्गा किन्दा ठगिएका पौडेललाई काठमाडौँबासीले क्षतिपूर्ति नदिने उनले बताए । 'बर्दघाटको आठ रोपनी जग्गा बेचेर काठमाडौँमा आठाना किन्दा नराम्ररी ठगिनुभएछ, उहाँ ठगिएकोमा दुःख लागेको छ', उनले भने, 'धन्‍न उहाँले बालुवाटारसँगै पशुपतिनाथ पनि खरिद गर्नु भएको रहेनछ ।'

प्रतिक्रिया दिनुहोस्