ताप्लेजुङमा अचानक यातायात बन्द, जनजीवन प्रभावित



ताप्लेजुङ :  यातायात व्यवसायी पक्राउको विरोधमा आइतबार बिहानदेखि ताप्लेजुङबाट छुट्ने यातायातका सवारीसाधन सञ्चालनमा टिकट काउन्टरहरुले रोक लगाएका छन्।  

यातायात व्यवसायीहरुले बुकिङ काउन्टरहरुमार्फत यातायातका साधन सञ्चालन गर्न नदिएका गन्तव्यतर्फ जान नपाएका यात्रुहरुले बताएका छन्। 

अहिले ताप्लेजुङबाट सवारी साधन गन्तव्यतर्फ जान पाएका छैनन्। यातायात व्यवस्थापनका लागि गरिएको निर्णयको अप व्याख्या गर्दै जथाभावी गाडी रोकी यात्रुलाई दुख दिएको भन्दै शनिवार अपराह्न प्रहरीले यातायात व्यवसायी तथा होटल जराका प्रोपाइटर जंग सुनुवारलाई नियन्त्रणमा लिएको थियो। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, डीएसपी सञ्जयसिंह थापाले जरा होटलका स्टाफ लगाएर यात्रुहरुलाई बाटोबाटामा रोकेको र अभद्र व्यवहार गरेपछि सुनुवारलाई नियन्त्रणमा लिएको जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराईको संयोजकत्वमा बसेको बैठकले यात्रुको जीवन जोखिमकोे अवस्थालाई मध्यनजर गर्दै बेलुकी ३ बजेपछि काउन्टरबाट टिकटै काटेर यहाँबाट लामो दुरीका गाडी नछुटाउने भने पनि आफूखुसीमा जाने र रिजर्भमा आएका र आफ्नै बन्दोबस्तीका सवारीमा यो नियम लागु नहुने जानकारी दिए।

डिएसपी थापाले गलत ढंगबाट भएको कार्यविरुद्ध प्रशासन कडाईका साथ उभिने बताए। पक्राउ परेका सुनुवारको रिहाइको माग गर्दै शनिबार बेलुकी अबेरसम्म यातायात मजदुर तथा स्थानीय प्रहरी कार्यालय परिसरमा भेला भएका थिए।

प्रतिक्रिया दिनुहोस्