उठ्यो भूकम्पको केन्द्रविन्दु बारपाक



काठमाडाैंः चार वर्षअघिको शक्तिशाली भूकम्पको केन्द्रविन्दु बारपाकमा निजी आवास पुनर्निर्माण ८५ प्रतिशत सकिएको छ। भूकम्पले यहाँका सबै घरमा क्षति पुगेको थियो। धार्चे गाउँपालिका–६, काशीगाउँका मानबहादुर गुरुङले ३ लाख सरकारी अनुदान र १ लाख रुपैयाँ ऋण लिएर भूकम्प प्रतिरोधी घर बनाएका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा गोरखाबाट हरिराम उप्रेतीले लेखेका छन्।

चार हिउँद–बर्खा टहरोमा कटाएको उनको परिवार नयाँ घरमा सरिसकेको छ। ‘घर फिनिसिङ नहुँदै सरेको हुँ, जस्ताले छाएको टहरोमा पानी चुहिएर हैरानी थियो,’ उनले भने, ‘यतिका दुःख गरी बनाएको नयाँ घरमा सर्न अब किन ढिला गर्नु ?’

लाभग्राही सूचीमा नाम भए पनि अनुदान सम्झौता नगर्ने र सम्झौता गरेर पनि घर नबनाउनेलाई गाउँपालिकाले पत्र काटेको छ। ‘तीन साता भयो, घरदैलो कार्यक्रम थालेका छौं,’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने, ‘जनप्रतिनिधि र प्राविधिकलाई के कारण लाभग्राहीले घर बनाएनन्, बुझ्न पत्रसहित पठाएका छौँ।’ उक्त गाउँपालिकाका ७ हजार १ सय ८१ लाभग्राहीमध्ये ६ हजार १ सय ४८ ले घर बनाइसकेका छन् । लाभग्राही सूचीमा छुटेको भन्दै ६ सय व्यक्तिले गुनासो गरेका छन् ।

‘सबैभन्दा ठूलो चुनौती भनेकै गुनासो सम्बोधन भएन,’ भट्टले भने । केही घरधनी भने लाभग्राही सूचीमा दोहोरिएको उनले बताए । बारपाकका १३ सय ३९ लाभग्राहीमध्ये १२ सय १९ ले घर बनाएका छन् ।

जिल्लामा ४९ हजार ६९ जनाले घर निर्माण सकेर तेस्रो किस्ताको १ लाख रुपैयाँ बुझेका छन् । यहाँ ७० हजार ९ सय ८८ लाभग्राही सूचीकृत छन् । ६४ हजार ५ सय ७८ ले पहिलो किस्ता लगेका छन् ।

तीमध्ये डीपीसी सकेका ५७ हजार ८ सय ८७ को खातामा दोस्रो किस्ता निकासा भइसकेको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइको कार्यालयले जनाएको छ । ‘तेस्रो किस्ताको निकासालाई आधार मान्दा ७४।५१ प्रतिशत निजी आवास पुनर्निर्माण सकियो,’ एकाइका इन्जिनियर शैलेन्द्र भट्टले भने। घर मर्मत गर्नुपर्नेमा परेका ५ हजार ३ सय १० लाभग्राही प्रबलीकरण सूचीमा समावेश छन् । घर मर्मत गर्न दुई किस्तामा १ लाख अनुदान दिइएको छ ।

तर ढुंगामाटोको घर सामान्य मर्मत गरी बस्न नसकिने भन्दै प्रबलीकरणमा परेका लाभग्राहीले पुनर्निर्माण सूचीमा राख्न पुनरावेदन गरेको एकाइ प्रमुख रामशरण आचार्यले बताए । मर्मत गर्नुपर्ने सूचीमा परेकामध्ये १ हजार १ सय ६९ ले पहिलो किस्ताको रकम बुझेका छन् । यीमध्ये १९ जनाले मात्र दोस्रो किस्ताको ५० हजार लगेका छन् । प्रबलीकरणमा असन्तुष्टि जनाउँदै पुनर्निर्मार्णमै राख्नुपर्ने भनी ७ सय ४४ जनाले पुनरावेदन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्