युभेन्टसलाई लिग जिताएसँगै राेनाल्डाेकाे नाममा अर्काे पनि इतिहास



एजेन्सी :  गएराति युभेन्टसले सिरी एको उपाधिमाथि आठौं पटक कब्जा जमाएसँगै रोनाल्डोले पनि इतिहास रचेका छन्।

उनको इतिहासले नयाँ कीर्तिमान नै बनाएको छ। उनको कीर्तिमान हो – युरोपका टप ५ लिगमा तीन फरक क्लबबाट लिग जित्नु। गएराति युभेन्टसले सिरी ए उपाधि जितेसँगै रोनाल्डो यो उपाधिको पहिलो हकदार भएका छन्। 

शनिबार राति उनको टिम युभेन्टसले लिगको ३३औं साताको खेलमा घरेलु मैदानमा फियोरेन्टिनामाथि २–१ को जित निकालेको छ। युभेन्टसको जितमा १ गोल एलेक्स सान्ड्रोले गरेका थिए भने १ गोल उपहारमा पाएको थियो। तर, सो गोलमा रोनाल्डोले भूमिका खेलेका थिए।

युभेन्टसले जारी सिजनको उपाधि अन्तिम ५ खेल बाँकी छँदै जितेको हो। सिजन २०११–२०१२ देखि युभेन्टसले लगातार लिग जित्दै आएको छ। 

रोनाल्डोले इंग्लिस प्रिमियर लिग (इंग्ल्यान्ड), ला लिगा (स्पेन) र सिरी ए (इटाली) गरी तीन देशबाट लिग जितेका हुन्। यस्तो रेकर्ड हालसम्म कुनै पनि खेलाडीका नाममा थिएन। म्यानचेस्टर युनाइटेडलाई ३ पटक प्रिमियर लिग जिताएका उनले सन २००७ देखि २००९ उक्त क्लबमा आबद्ध थिए। 

त्यसपछि सन् २००९ मा रियल मड्रिडमा अनुबन्ध भएका उनले ला लिगामा २ पटक लिग जिते। उनले सन् २०१२ र २०१६ मा गरी २ पटक ला लिगा जितेका थिए।

त्यसपछि रोनाल्डो युभेन्टमा आबद्ध भएका छन्। उनले डेब्यु सिजनमै लिग जितेर दुर्लभ कीर्तिमान पनि रचेका छन्। 

प्रतिक्रिया दिनुहोस्