नेकपाको एकता टुंग्याउने तयारी, भागवण्डा मिलाउँदै चार शीर्ष नेता



काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता टुंग्याउने तयारी भएको छ । वैशाख ९ भित्रै टुंग्याउने रस्साकस्सीमा जुटेका चार शीर्ष नेताको बैठक आइतवार बस्ने भएको छ। 

एकता सुरु भएदेखि आफ्नो भूमिका कम गरिएको भन्दै असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि जिम्मेवारी दिइएपछि एकता अघि बढेको हो । 

गुटमा विभाजित नेकपमा भागवण्डा नमिल्ला एक वर्षसम्म एकता टुंगिएको छैन । नेकपाले हालसम्म प्रदेश र पालिकाको एकता टुंग्याएको छ । तर जिल्लाको एकता अझै पनि अलमलमा छ । 

आइतवार चार शीर्ष नेताहरु केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल बसेर एकता मिलाउने तयारी गरेका छन् । यसअघि यी दुई मिल्दा तीन महिना भित्रै एकता मिलाउने बताएका थिए । 

पार्टी एकता टुंग्याउन जुट्नुपर्ने बेला अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्यत्रै काममा व्यस्त छन् । एक साताअघि  चन्द्रागिरी रिसोर्टमा बसेका नेताहरुले वैशाख ९ भित्र एकता सक्ने सहमति गरेका थिए । चन्द्रागिरीमा बसेपछि नेताहरु एकताका लागि सक्रिय भएका छन् । 

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा सोमबार एकता प्रक्रिया टुंग्याउने अन्तिम तयारीमा नेताहरु छन् । वरिष्ठ नेता माधव नेपाल समूहलाई मनाउने गरी एकता टुंग्याउने तयारी भइरहेको छ । नेपालले यसअघि नै नेतृत्वमा भाग नमिले सामानान्तर कमिटी बनाउने चेतावनी दिइसकेको छ । जिल्ला नेतृत्वमा उचित भाग नपाए समानान्तर कमिटी बनाउने जनाउ नेपाल समूहले पहिले नै गरिसकेको छ। 

नेताहरु सकेसम्म आइतवारै एकताको खाकामा सहमति गर्ने तयारीमा जुटेका छन् । पहिले सैद्धान्तिक सहमतिमा गरेर तल्लो तहका प्रमुख पदमा नामसहितको प्रस्तावमा समझदारी भए आइतवार साँजै सचिवालय बैठकबाट अनुमोदनको तयारीमा नेताहरु छन् । 

प्रतिक्रिया दिनुहोस्