आयुर्वेद अनुसन्धान केन्द्र १० दिनदेखि ठप्प



काठमाडौं : स्थायी गर्नुपर्ने माग गर्दै कर्मचारीले आयुर्वेद अनुसन्धान केन्द्र तालाबन्दी गरेका छन् । चार महिनादेखि तलब नपाएका उनीहरुले स्थायी बनाउन माग गर्दै तालाबन्दी गरेका 

हुन् । 

करारका कर्मचारीले ताला लगाएपछि केन्द्रमा १० दिनदेखि ठप्प छ ।  कर्मचारीहरुले कार्यकारी अधिकृतको कार्यशैली अपारदर्शी भएको आरोप लगाएका छन्। 

यस्ता छन् माग 

कर्मचारीहरुले एकसाथ विभिन्न माग राखेका छन् । स्थायी बनाउनुपर्ने,  ओएनएम सर्भेपछिको प्रगतिको जानकारी दिनुपर्ने, सेवा सुविधा र ४ महिनाको तलब भत्ता पाउनुपर्ने माग राखेका छन् । त्यस्तै करार सम्झौता नवीकरण र काम गरिरहेका कर्मचारीलाई पटकपटक अन्तरवार्ता दिने झन्झट हटाउनुपर्नेे माग छ।

आफ्ना मागबारे निर्देशकलाई जानकारी गराँउदा सम्बोधन नभएकाले तालाबन्दी गर्नुपरेको आयुर्वेद सह–सहायक इन्दु जोशीले  बताइन् । 

‘आएजति सबै निर्देशकलाई नयाँ कर्मचारीझैँ अन्तवार्ता दिएर नियुक्त हुनुपर्ने बाध्यता हटाउनुपछ’, उनले भनिन्, ‘हामीले सीधै स्थायी गर भनेका छैनौँ, स्थायीको प्रक्रिया थाल्नु भनेका हौँ ।’

तीन महिने करार सम्झौताले पटकपटक अन्तवार्ता दिएर नियुक्त हुनुपर्ने बाध्यता रहेकाले त्यसबाट मुक्त गराउन केन्द्रकी नायव सुब्बा अप्सरा अधिकारीले बताइन् । प्रशासनिक फाँटकी शाखा अधिकृत रिता गौतमले कर्मचारीलाई  भूमिका र अधिकार नदिँदा समस्या भएको गुनासो गरिन् । 

कार्यकारी अधिकृतले बजेट व्यवस्थापन गर्न नसक्दा अनुसन्धान नै प्रभावित भएको अनुसन्धान अधिकृत अनिलसिंह बस्नेतले बताए । बस्नेतले कर्मचारीको समस्या समाधानमा बजेट अभाव देखाउँदै कार्यालय प्रमृख तर्किने गरेको बताए। 

अर्थ र स्वाथ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएको बताउँदै स्वाथ्य मन्त्रीको जवाफको पर्खाईमा रहेको अनुसन्धान अधिकृत रमेशराज उपाध्यायले जानकारी दिए । ‘चैत २३ गते निर्देशकज्यूसँग माग सुनाएका हौँ, उहाँले २८ गतेसम्म समाधान हुन्छ भन्नुभएको हो। त्यपछि कार्यलयमा आउनुभएको छैन । हामीले २९ गतेबाट आन्दोलन थालेका हौं ।’ कर्मचारीको अस्थायी स्थायी दरबन्दीको लागि निर्देशक सिद्धार्थ ठाकुरले पहल नगरेको कर्मचारीको भनाई छ। 

केन्द्रमा अनुसन्धानकर्ताले चीनले दिएका करोडौंका उपकरण  जीर्ण हुँदा कार्यालयले ध्यान नदिएको अरोप लगाएका छन्। केन्द्रका ६३ जना कर्मचारीले तलब नपाएको ४ महिना भएको छ । ८ वर्षयताका निर्देशकले आश्वासन मात्रै दिएको कर्मचारीको गुनासो छ । 

समाधान हुन्छ

अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. सिद्धार्थ ठाकुरले कर्मचारीहरुको माग जायज भएको बताए । कर्मचारीको साथमा आफू रहेको उनले बताए । कर्मचारीको समस्याबारे जानकार रहेको बताउँदै उनले समस्या समाधानमा प्रयासरत रहेको दाबी गरे । 

‘कर्मचारीको मागमा मन्त्रालय पनि सकारात्मक छ, मैले सबैसँग संवाद गरेको छु’, उनले भने, ‘मलाई लाग्छ, आजै यो बिषय टुङ्गिन्छ ।’ कर्मचारी समायोजनले तलब आउन ढिला भएको उनले बताए । 

तलब जुट्यो 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले कर्मचारीको आन्दोलनबारे शुक्रबार मात्रै जानकारी पाएको बताए। तलबको व्यवस्था भइसकेको बताउँदै उनले आन्दोलन छाडेर काममा फर्कन कर्मचारीलाई आग्रह गरे।

कर्मचारी स्थायीबारे मन्त्रालय सकारात्मक रहेको प्रतिकृया श्रेष्ठले दिए । ‘सरकारले आयुर्वेद केन्द्रलाई प्राथमिकतामा राखेको छ । तलबको व्यवस्था भइसकेको छ । स्थायीका लागि सरकाले निर्देशिका बनाउँदै छ’, उनले भने, ‘यसबारे मन्त्रालयले सोचेको छ । मन्त्रालयले कर्मचारीको वृत्तिविकासमा कुनै कसर बाँकी राख्दैन ।’ 

त्रिभुवन विश्वबिद्यालयको ३० रोपनी जग्गा भित्र ५४ करोड मा बनेको केन्द्रमा आयुर्वेद अस्पताल तालिम केन्द्र र अनुसन्धान भवन छ । यो केन्द्र करारका कर्मचारीको भरमा चलेको छ ।

प्रतिक्रिया दिनुहोस्