विमानस्थलबाट एक करोड ७० लाखको सुनसहित चार विदेशी महिला पक्राउ



काठमाडौँ : त्रिभुवन विमानस्थल प्रहरीले करिब तीन केजी अवैध सुनसहित चार विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरीबाट पक्राउ पर्नेमा भियतनामकी ६९ वर्षीया भोठी न्युओई र कम्बोडियाकी ४५ वर्षीया थेयाभी युवाई रहेकी छन् ।

यसैगरी त्रिभुवन विमानस्थल भन्सारले पनि कम्बोडियन महिला थेएरी र भियतनामी फान थी लोन थाओलाई वाकथ्रु गेटबाट पक्राउ गरेको हो। उनीहरू नेपालको बाटो हुँदै भारतमा सुन तस्करीमा संलग्न रहेकाे दाबी प्रहरीले गरेको छ । 

थाई एयरको जहाजबाट नेपाल आएका उनीहरुले ६ वटा चुरा र ३ पिस जन्तर पाखुरामा बाँधेर ल्याएको अवस्थामा बरामद गरिएको थियो। दुई समुहमा रहेका उनीहरूबाट एउटै परिणामकाे सुन बरामद भएकाे । एउटा समुहले १६ सय ८३ ग्राम सुन ल्याएका खुलेको छ। 

प्रहरीले दुइजना र भन्सारले दुई महिलालाई  नियन्त्रणमा लिएकाे हाे। चारजनाका साथबाट ३ हजार ३ सय ६६ ग्राम सुन बरामद भएकाे हाे। प्रहरीका अनुसार सोमबार मध्यान्ह १२. ५० बजे बैंककबाट थाई एयरलाइन्समार्फत् काठमाडौँ उत्रिएका उनीहरुको साथबाट विमानस्थल पार्किङ क्षेत्रबाट उक्त सुन बरामद भएको हो ।

भियतनामकी भोठी न्युओईबाट प्रहरीले सुनको बाला २ थान र लकेट २ थान गरी ७ सय ४८ ग्राम अबैध सुन बरामद गरेको छ । त्यस्तै कम्बोडियाकी थेयाभी युवाईको साथबाट सुनको बाला ४ थान र लकेट  एक थानसहित ९ सय ३५ ग्राम सुन विमानस्थल प्रहरीले बरामद गरेको हो । भन्सारले पक्राउ गरेका कम्बोडियन महिला थेएरी र भियतनामी फान थी लोन थाओबाट पनि त्यही परिमाणको सुन बरामद भएको छ । 

प्रहरीका अनुसार बरामद भएको ३ हजार ३ सय ६६ ग्राम सुनको बजार मूल्य एक करोड ७ लाख रुपैयाँ रहेको छ । सरकारले विमानस्थलबाट सुनका बिस्कुट तस्करी हुन छाडेको बताए पनि गहना बनाएर भित्र्याउने क्रम रोकिन सको छैन ।

प्रतिक्रिया दिनुहोस्