अवरुद्ध सडक खुल्यो



जनकपुरधाम : पुर्वपश्चिाम राजमार्ग अन्तर्गत धनुषाको लक्ष्मिनियाँमा सोमबार बिहानैदेखि अवरुद्ध सडक सहमति पश्चात खुलेको छ। आइतबार राति करिब आठ बजे लक्ष्मिनिया गाउँपालिका नजिक मिथिला डेरी अगाडि बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गरेका थिए।

पहिचान खुल्न नसकेको बसले ज११प ९३९७ नम्बरको डिस्कभर मोटरसाइकललाई ठक्कर दिँदा चालक लक्ष्मिनियाँ ७ का स्थानीय अरुण मण्डलको घटनास्थलमै मृत्यु भएको थियो। स्थानीय र पीडित परिवारले ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिएर दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए।

प्रहरी र स्थनीयबीच ठक्कर दिने सवारी साधनको पहिचान गरी कारबाही गर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिलाउने सहमतिपछि अवरुद्ध सडक खोलिएको लक्ष्मिनियाँमा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गगाइ साहले बताए। मृतक मण्डल ८ दिनअघि वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। 

प्रतिक्रिया दिनुहोस्