दलित र छाउ बार्ने महिलालाई बेग्लै धारा



कैलाली : छाउपडी र छुवाछुदको केन्द्र मानिने सुदूरपश्चिम प्रदेशको बझाङका अधिकाशं बस्तिमा छाउपडी महिला र दलित समुदायलाई छुट्टै धारा प्रयोग गर्न बाध्य पारिँदै आएको छ। विश्वकर्मा, सार्की, दमाई, लुहार, ओखेडा लगायतका थुप्रै दलित जातिहरूको जिल्लाका विभिन्न स्थानमा पुस्तौदेखि बसोबास रहेको पाइन्छ।

जिल्लाको बित्थडचिर गाउँपालिका १ कचर गाउँमा बिक र बोहरा परिवारको बसोबास सँगै छ। कचर गाउँमा दलित परिवारको कुवाबाट गाउँका अन्य समुदायले कुवाको पानी प्रयोग गर्दैनन्। सुख्खा मौसममा पानीको हाहाकार हुने गाउँमा बिक परिवारलाई अन्य समुदायको धारा र कुवा पनि प्रयोग गर्न नदिने गरेको स्थानीय काली बिकले बताइन्।

अन्य समुदायका महिलाहरू छाउपडी भएको बेला आफूहरूको धारा र कुवामा पानी भए प्रयोग गर्ने गरेको कालीले सुनाइन्। उनले भनिन्,‘धारा र कुवामा पानी नभए गाउँका सबै महिलाहरू छाउपडी भएको बेला खोला तिर नुहाउँन जान्छौं, बर्खाको बेला हाम्रो धारामा पानी हुन्छ, छाउ भएका जति सबै हाम्रो धारातिर आउँछन्।’

यस्तै जिल्लाको बुङगल नगरपालिका वडा नम्बर ११ का दलित समुदायले प्रयोग गर्ने धारा पनि छुट्टै छ। उनीहरू आफूभन्दा माथिल्लो थरका समुदायको धारामा अनुमति बिना जादैनन्, यदि जानै पर्ने बाध्यता आइलागे स्थानीयको अनुमतिमा धाराको पानी प्रयोग गर्ने गरेको स्थानीय बिष्णु ओखेडाले बताए। नगरपालिकाका सबै वडाका महिलाहरूले छाउपडी भएको बेला पाँच दिनसम्म अलग्गै धारा प्रयोग गर्ने गरेको स्थानीय महिलाहरूको भनाई छ।

छाउपडी भएको बेला पाँच दिनसम्म नुहाउनदेखि पानी पिउनसम्म आफूहरूको लागी छुट्टै धारा हुने गरेको स्थानीय उजली धामीले बताइन्। दलित समुदाय र छाउपडीका भएको बेला महिलामाथि गरीने यस्तो प्रकारको विभेद जिल्लाका विभिन्न स्थानमा जल्दोबल्दो समस्याको रुपमा रहेको पाइन्छ।

छब्बिस पाथिभेरा गाउँपालिको बाहुन डाँडामा ठूलो संख्यामा दलित परिवारको बस्ति रहेको छ। त्यहाँका अन्य समुदायले प्रयोग गर्ने पानीको धारा ति दलित पारिवारले प्रयोग गर्न पाउँदैनन्। गाउँमा दलित र छाउपडीका लागी छुट्टा छुट्टै धारा निमार्ण गरिए पनि पानी अभाव भएका बेला जुनसुकै धारा प्रयोग गर्ने गरेको गाउँपालिका वडा नम्बर ३ की स्थानीय साबित्री देवी जोशीले बताइन्।

जिल्लाका अधिकाशं ग्रामीण क्षेत्रमा छाउपडीका  बेला महिलाहरूले धारा छोए पानीका मुहान सुक्ने र देउता रिसाउने अन्धविश्वास रहेको पाइन्छ। जिल्लामा दलित र छाउपडी महिलामाथि गरिने विभेद अन्त्य गर्न थुप्रै संघ संस्था क्रियाशिल रहे पनि समस्या जस्ताको त्यस्तै रहँदै आएको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्