आगलागीबाट २० लाखको क्षति



तेह्रथुम : जिल्लाको म्याङलुङ नगरपालिका–२ बिजुलीलाईनमा आइतबार आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। स्थानीय  पदम भुजेलको घरमा दिउँसो २ः३० बजे अचानक लागेको आगोले करिब २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

आगोले सो घरमा डेरा गरि बस्ने आठराई गाउँपालिका–२ खाम्लालुङकी दिपा लिम्बुको भाडाकुँडा, लत्ताकपडा, अन्नपात, गरगहना लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। घरमा कोही नभएको अवस्थामा आगलागी भएकाले मानविय क्षति हुन नपाएको स्थानीय मानबहादुर लिम्बुले बताए।

चट्याङसहित ठूलो पानी परेको पाँच मिनेट नबित्तै घरबाट धुवाँ निस्कन थालेको प्रत्यक्षदर्शी मनोज लिम्बुले बताए। घर नजिकै परेको चट्याङले रुख समेत ढालेको र बारीमा हलोले जोतेजस्तै माटो खोतलिएको उनको भनाई छ।

आगलागी स्थानीयबासी, नेपाली सेना र प्रहरीले करिब दुईघण्टापछि नियन्त्रणमा लिएका थिए। सडक हिलाम्मे भएका कारण नगरपालिकाको दमकल आगलागी भएको स्थलसम्म पुग्न नसकेको चालक पुर्ण खड्काले बताए। 

प्रतिक्रिया दिनुहोस्