जेब्राक्रसमा यात्रुलाई प्राथमिकता नदिए कारबाही : लागू होला नियम ?



काठमाडौं : गोंगबु बस्ने बिना न्यौपानेलाई जेब्राक्रसबाट बाटो काट्नु पनि सुरक्षित लाग्दैन । २०७३ साल चैत ३१ गते बबरमहलमा जेब्राक्रसबाट सडक पार गर्दै गर्दा स्कुल बसको ठक्करबाट घाइते भएकी उनी आजभोलि हरेक पटक बाटो काट्दा झस्किन्छिन् । 

अन्य देशमा सडकमा पैदल यात्रुलाई प्राथमिकता दिने गरेको देखेकी/सुनेकी उनले यहाँ त्यस्तै व्यवहार कहिल्यै महसुस गरेकी छैनन् । ‘अरू देशहरूमा पैदल यात्रा निकै सुरक्षित हुन्छ, जेब्राक्रसबाट बाटो काटिरहेको समयमा चालकले गाडी रोकेर पैदल यात्रुलाई जान दिन्छन्,’ उनी भन्छिन्, ‘यहाँ त जेब्रा क्रसमा झनै ‘स्पिड’मा कुदाउँछन् ।’

जोरपाटीकी सन्ध्या ढुङगानालाई पनि राजधानीमा पैदल यात्रा निकै असुरक्षित लाग्छ । सडक पार गर्न सजिलोका लागि आकाशे पुल र जेब्रा क्रस बनाउन सरोकारवाला निकायले खासै ध्यान दिएजस्तो उनलाई लाग्दैन ।

‘केही ठाउँमा मात्र आकाशे पुल बनाइएका छन्, जेब्रा क्रस त नाम मात्रैको छ, भएका पनि धेरै ठाउँमा मेटिइसकेका छन्,’ उनी भन्छिन्, ‘बाटो काट्दा ज्यानै जोखिममा पारेर हिँड्नु पर्ने बाध्यता छ ।’ धेरै पटक जेब्राक्रसमै सवारी साधनले ठक्कर दिन खोजेको उनले सुनाइन् । अनि प्रश्न गरिन्, ‘कहिलेसम्म डरै डरमा बाटो काट्ने ?’

कोटेश्वरका अजय महतलाई भने नियम कानुन पालना नभएकाले यस्तो समस्या आएको जस्तो लाग्छ । ‘राजधानीका सवारी चालकले नियमको ख्यालै नगरी सवारी हाँक्छन्,’ उनी भन्छन्, ‘जेब्रा क्रस, पैदल यात्रु कसैको मतलब नगरी एक अर्काबीच प्रतिस्पर्धा गर्दा दुर्घटना भइरहेका छन् ।’ नियम पालना गराउनेको बेवास्ता राजधानीमा हुने सडक दुर्घटनाको मुख्य कारण भएको उनको धारणा छ ।

त्यसो त जेब्राक्रसमै गाडीको ठक्करले धेरैको ज्यान जाने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । ट्राफिक प्रहरीका अनुसार यो आर्थिक वर्षमा मात्रै काठमाडौंमा जेब्राक्रसमा गाडीले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा जेब्रा क्रसमा मानिस ओहर दोहर गरेको अवस्थामा सवारी रोक्नु पर्ने प्रावधान छ । तर यसको कार्यान्वयनमा सरोकारवाला निकायले खासै वास्ता गरेको थिएन । यद्यपि काठमाडौं महानगरपालिकाले नयाँ ऐन नै बनाएर सडकमा लापरबाही गर्ने चालकलाई गरिने कारबाहीको दायरा बढाउने तयारी गरेको छ । 

महानगरपालिकाले जेब्रा क्रसमा पैदलयात्रुलाई प्राथमिकता नदिने सवारी चालकमाथि कारबाहीको तयारी गरेको हो । जेब्रा क्रस भएको ठाउँमा पनि चालकले गाडी नरोक्ने प्रवृत्ति बढेको र त्यसैले दुर्घटना बढाएको भन्दै ऐन नै बनाएर कडाइ गर्न लागिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।  

महानगरपालिकाले तयार गरेको ‘सवारी तथा यातायात व्यवस्थापन विधेयक, २०७५’ मा चालक र परिचालकको कर्तव्य तोकिएको छ । 

‘यो नियम लागू गर्न समिति नै गठन गर्छौँ,’ प्रवक्ता डंगोलले भने, ‘नियम नमाने चालकमाथि पहिलो पटक दुई सय र दोस्रो पटक पाँच सय रुपैयाँसम्मको जरिवाना हुन्छ ।’ त्यसपछि यात्रुले जेब्राक्रसबाट बाटो काट्दा गाह्रो नहुने उनको अनुमान छ । 

महानगरपालिकाका अनुसार उपत्यकामा अहिले ३०० जेब्रा क्रस छ भने थप ३०० स्थानमा जेब्रा क्रस निर्माण सुरु गरिएको छ । ‘३ महिना भित्र ३०० स्थानमा जेब्रा क्रस निर्माण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ,’ प्रवक्ता डंगोल भन्छन्, ‘पुराना भएकालाई पनि यही अवधिमा मर्मत गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस्