बादी समुदायले घेरे मन्त्री अर्याललाई



कैलाली : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बादी समुदायले कार्यक्रमस्थलमै घेराउ गरेका छन्। मुक्त हलिया तथा कमैयाको पुनर्स्थापना कार्यक्रमका लागी सोमबार धनगढी पुगेकी मन्त्री अर्याललाई बादी समुदायहरुले मञ्चमै घेराउ गरेका हुन्।

उनीहरूले मन्त्री अर्याललाई तीनबुदे मागसहितको ज्ञापनपत्र बुझाउँदै सरकारसँग भएको सहमति अनुसार मागहरु सम्बोधन नभए सडकमा उत्रने चेतावनी समेत दिएका छन्।

सुदूरपश्चिम बादी उत्थान समितिकी अध्यक्ष रमा बादीले स्विजरल्याण्ड्सको संस्थाले कैलालीको लम्कीचुहा नगरपालिका ३ बलचौरमा बनाउन लागेका घर टहरा पनि स्थानीय सरकार र वन कार्यालयले अनुमति नदिँदा कार्यक्रम फ्रिज भएर जान लागेको भन्दै आपत्ति जनाइन्।

आफूहरू जुन ठाउँमा बसेका हो, त्यही ठाउँमा बसोबासको ग्यारन्टी हुनुपर्ने उनले बताइन्। नेपाल सरकारसँग पटकपटक सहमति भएका कुरा समेत हालसम्म कार्यान्वयन नभएको उनको दाबी छ। त्यस्तै स्थानीय रमेश बादिले आफूहरूका तीनओटा मागमात्रै रहेको बताए।

‘बादीहरूको बसोबास रहेको स्थानमै लालपुर्जा वितरण गरियोस’, उनले भने,‘जनताआवासद्वारा बन्न लागेका घरहरूलाई अनुमति दिनुपर्यो र सरकारले आफूहरूलाई गास, बास र कपासको व्यवस्था गरिदिनुपर्यो।’

कार्यक्रमस्थलमै बादी समुदायले घेराउ गरेपछि मन्त्री अर्यालले तपाईहरूको माग छिट्टै सम्बोधन हुने र सरकारले काम गरिरहेको आश्वासन दिँदै त्यहाँबाट निस्कीने प्रयास गरेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्