नेकपाले ६ महिनाभित्र सम्मेलन गर्ने, एक वर्षभित्र महाधिवेशन



काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको छ । पार्टीभित्र सांगठनिक एकता प्रक्रियालाई टुंगो लगाएलगत्तै ६ महिनाभित्र सम्मेलन सम्पन्न गरेर एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेको हो ।

पार्टीले महाधिवेशन गर्ने घोषणा गरे पनि मिति भने तय गरेको छैन । गत जेठ ३ गते पार्टी एकीकरण कार्यक्रममा तीन महिनाभित्र पार्टीको सांगठनिक एकताको काम सम्पन्न गर्ने बताइएको थियो । तर पार्टी ११ महिनासम्म आन्तरिक किचलोमा रुमलिएको थियो । 

पार्टी एकता भएको लामो समयपछि कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपाले ७७ जिल्लाका जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको छ ।

विगतमा पूर्व दुई पार्टी एमाले र माओवादी केन्द्रबाट जिल्लाको अध्यक्षको जिम्मेवारी लिएकाहरुलाई नै पार्टीले अध्यक्ष र सचिव बनाएको छ । पार्टीले दोहोरो जिम्मेवारी नदिने मापदण्ड बनाए पनि विवादको गाँठो फुकाउन भागवण्डाअनुसार अध्यक्ष र सचिवको टुंगो लगाएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्