नेकपाका केन्द्रीय सदस्यले जिल्लाको पद नलिने



काठमाडौं  : सत्तारुढ दल नेकपाका जिल्ला सचिवको जिम्मेवारी पाएका ८ जना नेताहरूले जिम्मेवारी अस्वीकार गर्ने भएका छन् । पार्टी केन्द्रीय सदस्यको समेत जिम्मेवारीमा रहेका माओवादी पृष्ठभूमिका आठ नेताले अध्यक्ष पुष्पकमल दाहाललाई जिल्लाको पदीय जिम्मेवारी अस्वीकार गर्ने जानकारी दिएका छन् । 

केही नेताले मंगलवार बिहानै अध्यक्ष दाहाललाई भेटेर असहमति पत्र बुझाएका छन भने केहीले एसएमएसमार्फत जिल्ला सचिवको पदीय जिम्मेवारी लिन नसकेनन् जानकारी गराएका छन् । केही नेताले भने अध्यक्ष दाहालका स्वकीय सचिव जोगबहादुर महरामार्फत अध्यक्ष दाहाललाई पदीय जिम्मेवारीमा नवस्ने जानकारी गराएका छन् । 

नेकपामा ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाउँदा ७ जना जिल्ला अध्यक्ष र ८ जना जिल्ला सचिव केन्द्रीय समितिबाट परेका थिए । त्यसमध्ये दुई जिल्ला मोरङ र काठमाडौंका जिल्ला अध्यक्ष र सचिव दुवै केन्द्रीय समितिबाट परेका थिए । रौतहट, धनुषा, सर्लाही, सिन्धुपाल्चोक, धादिङ र रुपन्देही गरी ६ जिल्लाका अध्यक्ष केन्द्रीय समितिमा छैनन तर सचिव केन्द्रीय समितिमा थिए ।

तत्कालीन माओवादीतर्फका युवराज भटटराई (रौतहट), गोपी अछामी (मोरङ), श्रवण यादव (धनुषा), डाचाराज वाग्ले (सर्लाही), दावा तामाङ (सिन्धुपाल्चोक), हिमाल शर्मा (काठमाडौं) शालिकराम जम्मकटटेल (धादिङ) र दधिराम न्यौपाने (रुपन्देही) ले जिल्ला सचिवको  जिम्मेवारी पाएका थिए । 

काठमाडौं सचिव शर्माले समाजिक सन्जालमाफर्त जिम्मेवारी अस्वीकार गर्ने घोषणा गरेका छन् । । सर्लाहीका सचिव वाग्लेले अध्यक्ष दाहाललाई एसएमएसमार्फत जिम्मेवारी नलिने जानकारी गराएका छन् । 

प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका शालिकराम जम्मकटटेलले अध्यक्ष दाहालका स्वकीय सचिव महरामार्फत सचिव नहरने जानकारी गराएका छन् । रौतहटका सचिव भटटराईले मंगलवार बिहान अध्यक्ष दाहाललाई भेटी लिखितरुपमा नै असहमति पत्र बुझाएका छन् । 

नेकपाले पूर्ववत पार्टीका जिल्ला अध्यक्ष या प्रमुखवाटै अध्यक्ष र सचिवको जिम्मा दिने मापदण्ड बनाउँदा १५ केन्द्रीय सदस्यले अध्यक्ष र सचिवको जिम्मा पाएका थिए । मापदण्डअनुसार समितिमा रहेका तर जिल्लाको अध्यक्ष या सचिवमा नाम परेकाहरु कमिटिमा बस्न अनइच्छुक भएमा असहमतिपत्र लिएर उक्त ठाउमा अन्य व्यक्तिलाई जिम्मा दिन सकिने मापदण्ड पनि नेकपाले बनाएको सा्रेतले बतायो । त्यही आधरमा पदीय जिम्मेवारी अस्वीकार गरेका नेताहरुका ठाउँमा नेकपाले सम्वन्धित पूर्व पार्टीकै अन्य नेतालाई जिम्मेवारी दिने तयारी थालेको छ । 

प्रतिक्रिया दिनुहोस्