काठमाडौँमा पाँच हजार साना उद्योग दर्ता



काठमाडाैंः  देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै काठमाडौँ जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको हो ।

घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंका अनुसार चालू आर्थिक वर्षमा मात्र चार हजार ७०७ नयाँ उद्योग दर्ताका लागि आवेदन परेको छ । कार्यालयका सूचना अधिकारी सुनिता तुम्बाहाम्फेले मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएकाले साना तथा घरेलु उद्योग दर्ता हुने क्रम बढेको बताइन्।

संविधान निर्माणसँगै बनेको स्थायी सरकारसँगै देशमा लगानीको वातावरण बनेको र उद्योग दर्ता गर्ने क्रम बढेको उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता गर्ने क्रम बढेको तुम्बाहाम्फेले बताइन् । साना तथा घरेलु कार्यालय काठमाडौँका अनुसार पशुपालन, कृषि, होटल, रेष्टुरेन्ट, ब्यूटीपार्लर, बेकरी, ग्रील उद्योगलगायतका क्षेत्रमा बढी उद्योग दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्