चेक बाउन्सको आरोपमा ग्रेटर नेपालका संयोजक नेपाल पक्राउ



काठमाडौँ : ग्रेटर नेपालको अभियान चलाइरहेका फणिन्द्र नेपाललाई चेक बाउन्सको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जेनेभास्थित राष्ट्रसंघको एउटा कार्यक्रममा ग्रेटर नेपालको पक्षमा मन्तब्य दिएर आएपछि उनलाई प्रहरीले चेक बाउन्सको एउटा उजुरीका आधारमा पक्राउ गरेको हो । 

स्रोतका अनुसार नेपाललाई सादा पोशाकमा खटिएका प्रहरीले निवासबाटै पक्राउ गरी हिरासतमा लिएको हो । नेपालले राष्ट्रसंघमा बोल्दै ब्रिटिसले सुगौली सन्धीका क्रममा जालझेल गरेर नेपाली भूभाग लगेको भन्दै फिर्ता गराउन माग गरेका थिए । हाल भारतमा रहेको त्यो बेलाको ग्रेटर नेपालको भूमि नेपालमै फिर्ता गरिनुपर्ने आवाज उनले उठाउँदै आएका छन् ।

पक्राउ परेपछि नेपालले आफुलाई नियतवश फसाइएको दाबी गरेका छन् । 'मैले नरेश कुमार नेउपाने नामक घरधनीलाई घरभाडा बापत रू ६००००० को चेक दिएको थिएँ । चेकको भुक्तानी मितिमा छ लाख रकम बुझी आज चेक ल्याउन बिर्सिएँ, भोलि चेक फिर्ता गर्छु भनेकोमा चेक बाउन्स गरेर मलाई फसाउने काम भयो', उनले भनेका छन्, 'मैले नेपाल बैंक लिमिटेडको ६ लाखको चेक २०७५ मंसिर २१ गते शुक्रबार भुक्तान गर्ने गरी दिएको थिएँ । पैसा लिइसकेपछि चेक पटकपटक फिर्ता माग्दा नदिएर अहिले आएर उनले चेक बाउन्स गरी पक्राउ गर्ने भूमिका खेले ।'

नेपाली नागरिकता खैनी जस्तै 

उनले मंगलबार पक्राउ गर्नुअघि नागरिकता वितरणलाई लिएर सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका थिए । उनले नेपाली नागरिकता खैनी जस्तै भएको व्यंग्य गरेका थिए । 

'नेपाली नागरिकताको प्रमाणपत्र भनेको खैनीजस्तै रहेछ कि क्या हो ? जसले मागे पनि पाउने', उनले भनेका थिए, 'चिनेको भए पनि नचिनेको भए पनि मागेपछि दिनुपर्ने । दिँदा दिँदा बाहिरका भित्र हुने आफू बाहिर पर्ने ।'

सरकारले जथाभावी नागरिकता बाँड्दा आफ्नै घरमा पाहुनाले हालिमुहाली गर्दा आफू टुलुटुलु हेर्नुपर्ने अवस्था आएको उनले बताएका छन् । 'पाहुनाले घरमा हालिमुहाली गर्दा पनि टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था छ', उनले भनेका थिए, 'पाहुना घर मालिक हुने घरधनी नोकर बन्ने ।

किनभने नेपाल-भारतबीच विशेष सम्बन्ध छ रे !'

प्रतिक्रिया दिनुहोस्